काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्यक्तिले गरेको अपराधको भारी पार्टीले नबोक्ने बताएका छन् । पार्टीको गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसमा रहेका जोसुकै भए पनि सहकारी ठगी संलग्न होस् वा मान्छेलाई बेचबिखनमा दोषी देखिए कारबाही हुने बताए ।
उनले भने, ‘हामी पार्टी शुद्धीकरणको प्रक्रियामा लाग्नुपर्छ । अब हामी गाली खाएर बस्ने होइन । आफ्नै पार्टीभित्र पनि कुरा उठाऔं, जहाँ कानून बनाउने हो, त्यसमा पनि कुरा उठाऔं । निर्दोष कोही पनि पर्नुहुन्न, दोषी जो भए पनि उम्कनुहुन्न ।’
महामन्त्री थापाले चर्चामा रहेका ४० भन्दा बढी भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग बनाउनुपर्ने बताए । उनले भने, ‘मैले प्रचण्डजीलाई अगाडि राखेरै भनेको हो । सरकार सँगै बसेको हुन्छ, यस्तो मायाप्रेम देखिन्छ, अहिले ४० वटा ललिता निवास, गिरीबन्धु, क्यान्टोनमेन्टलगायत जेसुकै हो । सबैको छानबिन गर्नुपर्छ ।’
साथै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले दिनदिनै सरकार बदलिँदैन भनेर भाषणा सुरु गर्नुपरेको भन्दै दिक्क मानेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको स्थायित्वको विषयले नेपाली राजनीति गिजोलिएको गुनासो पोखेका हुन् ।
उनले नेपालको सन्दर्भमा गठबन्धनको राजनीति नफापेको पनि टिप्पणी गरे । उनले भने,‘गठबन्धनको यति तीतो अनुभव हामीसँग रह्यो, गठबन्धनको यति विकृत अभ्यास हामीहरुका सन्दर्भमा भयो । चुनाव अगाडिका लागि मात्र होइन, चुनाव पछि पनि हेर्नुस् त यसबीचमा हामीले कतिवटा सरकार बदल्यौं, सरकारमा बसेको प्रधानमन्त्रीले हरेक दश दिनमा यो सरकार बदलिन्न भन्नुपर्ने अवस्था छ । भाषण यो सरकार बदलिन्न भन्नेबाट सुरु हुन्छ ।’
प्रतिक्रिया