चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन ल्याइएको छ । काठमाडौँबाट विमानमार्फत चितवन ल्याइएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । बयानका लागि आजै सरकारी वकिलको कार्यालय लैजाने प्रहरीको तयारी छ । चितवन साहारा बहुउद्धेश्यिय सहकारी संस्थाको बचत रकम ठगीको मुद्धामा बयान लिन लामिछानेलाई चितवन ल्याइएको हो ।
लामिछानेलाई चितवन ल्याउने क्रममा सुरक्षाका लागि भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । रविका समर्थकहरु विमानस्थल बाहिर पुगेर नाराबाजी गरे पछि प्रहरी र रविका समर्थकबीच धकेलाधकेल समेत भएको थियो । चितवन साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरुले पछिल्लो पटक रास्वपा सभापति लामिछानेसहित १० जना विरुद्ध पुरक जाहेरी दिएका थिए ।
चितवन प्रहरीले आइतबार मात्रै पूर्व प्रहरी नायब महानिरीक्षक (डिआईजी) छविलाल जोशी र अर्का आरोपित रामबहादुर खनाललाई भरतपुर ल्याएर सरकारी वकिलको कार्यालयमा बयान लिइरहेको छ । जोशी र खनाल पनि कास्की प्रहरीको हिरासतमा थिए । साहारा चितवन बहुद्देश्यीय सहकारी संस्थाका पीडित बचतकर्ताहरूले गोरखा मिडियालगायत चितवन साहाराका संस्थापक गितेन्द्रबहादूर (जिबी) राईका विभिन्न कम्पनीहरूमा नियम विपरीत सहकारीको बचत रकम लगानी भएको भन्दै उजुरी दिएका छन् ।
रवि लामिछाने गोरखा मिडियाका तत्कालीन सेयरधनी, सञ्चालक र प्रबन्ध निर्देशक तथा छविलाल जोशी गोरखा मिडियाका तत्कालिन सेयरधनी तथा सञ्चालक हुन् । गोरखा मिडिया नेटवर्कमा नियम विपरीत साहारा चितवनको १० करोड ८० लाख रुपैयाँ लगानी भएको बचतकर्ताहरूले उजुरीमा उल्लेख गरेका छन् । रामबहादुर खनाल जिबी राईको अर्को कम्पनी नेचर हर्ब्स इन्टरनेसनल प्रालिका सेयरधनी तथा सञ्चालक हुन् ।
नेचर हर्बस इन्टरनेशनल प्रालिमा साहरा चितवनको नौ करोड ७३ लाख रुपैयाँ लगानी भएको उजुरीमा उल्लेख छ । साहारा चितवनका बचतकर्ताहरूले गत वर्ष २०८० को असोज नौ गते चितवन प्रहरीमा अनुसन्धान र कारबाहीको लागि उजुरी दिएको थिए । तर अनुसन्धान खासै अगाडि बढेको थिएन । मुद्दा दायर गर्नु पर्ने हद म्याद नजिक आएपछि चितवन प्रहरीले गत असोज ८ गते १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको थियो । जसमा रवि र छविको नाम थिएन ।
मुद्दा दायर भएकै दिन जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल)को कार्यालयले सहकारीको रकम गएको देखिएको गोरखा मिडियाको थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । साहारा चितवनका २४ जना बचतकर्ताहरूले ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै मंसिर ५ गते बुधबार रवि लामिछाने र छविलाल जोशीसहित १० विरुद्ध पुरक उजुरी दिएका थिए् । उनीहरू विरुद्ध मंसिर ७ मा पक्राउ पुर्जी जारी भएको थियो ।
काठमाडौंबाट पक्राउ गरेर कास्की पुर्याइएका लामिछानेलाई यसअघि रुपन्देही र काठमाडौंमा लगेर बयान लिइएको थियो ।
प्रतिक्रिया