काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिना सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल-शारालाई ह्वाइटहाउसमा स्वागत गर्नेछन् ।
यो ८० वर्षमा सिरियाली राष्ट्रपतिको पहिलो आधिकारिक अमेरिका भ्रमण हुनेछ । सिरियाली विदेशमन्त्री असद अल-शाबानीले आइतबार बहराइनमा यो भ्रमणले दमास्कस र वाशिंगटन बीचको सम्बन्धमा 'नयाँ अध्याय' खोल् बताएका छन् ।
उनले भनेका छन्- 'राष्ट्रपति अहमद अल-शारा नोभेम्बरको सुरुमा ह्वाइट हाउसमा हुनेछन् । यो एक ऐतिहासिक भ्रमण हो, किनकि यो ८० वर्षमा पहिलो पटक सिरियाली राष्ट्रपतिले ह्वाइट हाउसको भ्रमण गर्नेछन् ' उनले वार्ताको एजेन्डामा प्रतिबन्ध हटाउने र नयाँ अमेरिका-सिरियाली सम्बन्ध सुरु गर्ने जस्ता मुद्दाहरू रहेको बताएका छन् ।
त्यस्तै अल-शाराले आफ्नो भ्रमणको क्रममा आइएसआइएसविरुद्धको अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनमा सामेल हुन सम्झौतामा हस्ताक्षर गर्न सक्ने बताइएको छ ।
अल-शाराले डिसेम्बरमा बसर अल-असदको शासनको पतन पछि सत्ता सम्हालेका थिए र त्यसबेलादेखि असदको शासनकालमा सिरियाबाट टाढा रहेका देशहरूसँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन् । उनले गत मे महिनामा साउदी अरेबियामा ट्रम्पलाई भेटेका थिए । यो २५ वर्षमा दुई देशका नेताहरू बीचको पहिलो भेट थियो । ट्रम्पको जीसीसी देशका नेताहरूसँगको वार्ताको क्रममा भेट भएको थियो र सिरियाको लागि नयाँ युगको सुरुवात मानिएको थियो ।
सेप्टेम्बरमा, अल-शाराले न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभालाई पनि सम्बोधन गरेका थिए, जसले विश्वव्यापी कूटनीतिक सर्कलमा फर्कने सिरियाको प्रयासलाई संकेत गरेको थियो । अल-शाराले एक पटक अल-कायदाको सिरियाली गुटको नेतृत्व गरेका थिए, तर उनी लगभग एक दशक अघि नेटवर्कबाट अलग भए र पछि आइएसआइएसमा सामेल भए। अमेरिकाले एक पटक उनको टाउकोमा १० मिलियन डलरको इनाम राखेको थियो, र इराक युद्धको समयमा अमेरिकी सेनाले उनलाई हिरासतमा पनि लिएको थियो ।
यो भ्रमण यस्तो समयमा भएको हो जब राष्ट्रपति ट्रम्पले पश्चिम एसियाली देशहरूलाई दिगो शान्तिको लागि काम गर्न आग्रह गरिरहेका छन् । इजरायल र हमास बीच हालै भएको युद्धविराम र कैदी आदानप्रदान पछि यी प्रयासहरू तीव्र भएका छन् । यसैबीच, सिरिया र इजरायल पनि हाल सिरियाली भूमिमा इजरायली हवाई आक्रमण रोक्ने र दक्षिणी सिरियाबाट इजरायली सेना फिर्ता गर्ने सम्झौतामा पुग्न वार्तामा छन् ।
प्रतिक्रिया