×

चलचित्र भवनमा ‘पशुपति प्रसाद २- भष्मे डन’ र ‘परदेशी २’

images

काठमाडौँ, १७ कात्तिकः नेपालका चलचित्र भवनमा दुई नेपाली चलचित्र प्रदर्शनरत छन् । दसैँलाई लक्षित गर्दै प्रदर्शनरत चलचित्रलाई दर्शकको साथ प्राप्त भइरहेको निर्माण पक्षले दाबी गरेका छन् । दसैँपछाडि नयाँ नेपाली चलचित्र तिहारमा मात्र प्रदर्शन हुने भएकाले एकसाता अझै ती दुई चलचित्र नै रहनेछन् । 

 दसैँ लक्षित गर्दै प्रदर्शन गरिएको ‘पशुपति प्रसाद २ ः भष्मे डन’ तेस्रो सातामा प्रदर्शनरत छ । खगेन्द्र लामिछानेले निर्माण तथा लेखन गर्नुभएको चलचित्रलाई दीपेन्द्रकुमार खनालले निर्देशन गर्नुभएको हो । यसमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगरलगायत कलाकारले अभिनय गर्नुभएको छ । 

 “दर्शकले रुचाउनु भएकै कारण पशुपति प्रसादको कथालाई निरन्तरता दिएका हौँ । हामीले मौलिक नेपाली कथालाई पर्दामा प्रस्तुत गरेका छौँ”, लेखक लामिछानेले भन्नुभयो । 

चलचित्र ‘परदेशी २’ चौथो सातामा प्रदर्शनरत छ । नरायण रायमाझीले निर्देशन गर्नुभएको चलचित्रमा केकी अधिकारी, दिलीप रायमाझी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, प्रकाश सपुत, नीर शाह, रमा थपलियालगायत कलाकारले अभिनय गर्नुभएको छ । 

चलचित्रमा उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको पखाइमा दिन काटिरहेका आमाबुबाको कथालाई देखाइएको निर्देशक रायमाझीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “मेरा अघिल्ला चलचित्र झैँ मौलिक कथालाई नै पर्दामा ल्याए । अहिले चलचित्र भवनमा पुग्दा दर्शकमार्फत पाइरहेको प्रतिक्रियाले उत्साहित छु । उहाँहरू आफ्नै गाउँ समाजको कथालाई पर्दामा हेर्न पाउँदा खुसी हुनुहुन्छ ।” चलचित्रलाई रमेश बिजी लेख्नुभएको हो । 

शुक्रबार​ १७ कात्तिक २०८० ०१:५२ PM मा प्रकाशित

प्रतिक्रिया