×

कांग्रेस महाधिवेशन अपडेट: सानेपामा प्रतिनिधि दर्ता धमाधम, प्रतिनिधिले पाए विधानसहितको विशेष झोला

images

१७ असोज, काठमाडौँ – नेपाली कांग्रेसको बहुप्रतीक्षित १५औँ महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया सुरु भएको छ । ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय (बीपीनगर) मा शनिबार दिउँसोदेखि देश तथा विदेशबाट आएका प्रतिनिधिहरूको नाम दर्ता कार्य धमाधम भइरहेको छ।

images

कांग्रेसमा दोहोरो पदको अन्त्य: केन्द्रमा उम्मेदवार बन्ने नेता प्रदेश र जिल्लाको नेतृत्वबाट वञ्चित हुने

१७ असोज, काठमाडौँ – नेपाली कांग्रेसको निर्वाचन समितिले महाधिवेशनसम्बन्धी वैधानिक व्यवस्थाबारे प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय महा...

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार यसपटकको महाधिवेशनमा स्वदेश र विदेश (जनसम्पर्क समिति) बाट गरी कुल ७ हजार ५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू सहभागी हुँदैछन् । केन्द्रीय कार्यालयले महाधिवेशन प्रतिनिधिहरूका लागि ३ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तोकेको छ।

दर्ता प्रक्रियालाई व्यवस्थित, छिटो र सहज बनाउनका लागि महाधिवेशन सचिवालयले पार्टी कार्यालयभित्र प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै दर्ता कक्ष (कोठा) को व्यवस्था गरेको छ। महाधिवेशन सचिवालयका संयोजक गोपालप्रसाद आचार्यका अनुसार शनिबार अपराह्नसम्म नै करिब ७० भन्दा बढी निर्वाचन क्षेत्रका प्रतिनिधिहरूको नाम दर्ता भई झोला समेत वितरण भइसकेको छ।

निर्धारित शुल्क तिरेर नाम दर्ता गराएपछि महाधिवेशन प्रतिनिधिहरूलाई नेपालमै बनेको १५औँ महाधिवेशनको विशेष झोला उपलब्ध गराइएको छ। उक्त झोलामा पार्टीको परिमार्जित विधान, डायरी (कापी), कलमका साथै महाधिवेशन अवधिभरका लागि खाना तथा खाजाको कुपन राखिएको सचिवालयले जनाएको छ । यद्यपि, महाधिवेशन प्रतिनिधिहरूले आफ्नो बस्ने व्यवस्था भने आफैँ गर्नुपर्ने प्रवक्ता चालिसेले स्पष्ट पारेका छन्।

यस्तो छ महाधिवेशनको पूर्ण कार्यतालिका:

  • असोज १८ गते (आइतबार): काठमाडौँको खुलामञ्चमा महाधिवेशनको भव्य उद्घाटन हुनेछ ।
  • असोज १९ र २० गते (सोमबार र मंगलबार): बन्दसत्र सञ्चालन हुनेछ, जहाँ राजनीतिक तथा संगठनात्मक प्रतिवेदन र नीतिहरूमाथि छलफल हुनेछ ।
  • असोज १९ गते (सोमबार): दिउँसो २:०० बजेदेखि साँझ ६:०० बजेसम्म राष्ट्रिय सभागृहमा केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गरिनेछ ।
  • असोज २१ र २२ गते (बुधबार र बिहीबार): नयाँ नेतृत्व चयनका लागि मतदान र निर्वाचन प्रक्रिया सञ्चालन हुनेछ ।

सानेपामा महाधिवेशन प्रतिनिधिहरूको दर्ता कार्य चलिरहँदा महोत्तरीका चार र नुवाकोटका दुई निर्वाचन क्षेत्रमा बाँकी रहेका प्रतिनिधि चयनका लागि शनिबार साँझसम्म मतदान भइरहेको र बाँकी सबै क्षेत्रबाट प्रतिनिधिहरू काठमाडौँ आइपुगेको पार्टीले जनाएको छ ।

शनिबार १७ असोज २०८३ ०६:२७ PM मा प्रकाशित

प्रतिक्रिया