×

आईसीसी विश्वकप क्रिकेट लिग-२ : श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दै नेपाली क्रिकेट टोली

images

काठमाडौं ।  आईसीसी विश्वकप क्रिकेट लिग-२ को तयारीका लागि श्रीलंका पुगेको नेपाली टोलीले आज श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दैछ। श्रीलंकाको डेभलपमेन्ट टोलीसँग खेल्ने तीन एक दिवसीयअन्तर्गतको पहिलो खेल नेपाली समयअनुसार आज बिहान सवा १० बजे सुरु हुनेछ। नेपालले दोस्रो खेल बुधबार र अन्तिम खेल बिहीबार खेल्नेछ।

यसअघि दोस्रो खेल बिहीबार र तेस्रो तथा अन्तिम खेल शनिबार हुने तय भएकोमा नेपाल क्रिकेट संघ (क्यान) ले हिजो विज्ञप्ती निकालेर खेलतालिका परिवर्तन भएको जानकारी दिएको हो। यसअभ्यास खेलपछि नेपाली टोली क्यानडामा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिज खेल्न त्यसतर्फ जाने छ।

नेपालले क्यानडामा दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो। पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो। सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल खेल्ने प्रावधान रहेको छ। नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ। नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो।

श्रीलंकामा आज हुने खेल नेपाली समय अनुसार बिहान १०ः१५ बजे सुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालले सोही टोलीसँग बुधबार र बिहीबार पनि श्रीलंकासँगै अभ्यास खेल खेल्ने तालिका छ । नेपाली क्रिकेट टोलीमा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, अनिल साह, देव खनाल, भीम सार्की र आरिफ शेख छन् ।

त्यसैगरी कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल र अर्जुन साउद रहेका छन् । नेपाली टोली यही भदौ १६ गते श्रीलंका प्रस्थान गरेको थियो । भारतको नेसनल क्रिकेट एकेडेमी बेंगलोरमा दुई साता अभ्यास गरेर स्वदेश फर्किको टोली १६ गते श्रीलंका प्रस्थान गरेको हो ।

मङ्गलबार १८ भदौ २०८१ ११:०३ AM मा प्रकाशित

प्रतिक्रिया