काठमाडौं । कोशी प्रदेश सरकार गठनको विषयमा निर्णय लिन सत्ता गठबन्धनको बैठक बस्दै छ । आज (सोमबार) दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।
बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय पनि छलफल हुने एक नेताले बताए। हिक्मतकुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि कोशी प्रदेश सरकार गत शुक्रबार ढलेको थियो ।
कोशी सरकार ढलेसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् । कूल ९३ सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनमा रहेका दलहरुको ४७ मत रहेको छ भने विपक्षी दल नेकपा एमाले र राप्रपामा ४६ मत रहेको छ ।
कोशी प्रदेशमा माओवादी, कांग्रेस कुन दलले सरकारको नेतृत्व गर्ने भनेर निर्णय पनि हुन सकेको छैन । कांग्रेस नेता एवं कोशी प्रदेश सभा सदस्य भुपेन्द्र राईले कांग्रेस माओवादी आलोपालो सरकार सञ्चालनको विकल्प नरहेको र यसै अनुसार आफूहरु अगाडि बढ्ने बताए । कोशी प्रदेश सरकार गठनका लागि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि २१ गतेको समय सीमा दिएका छन् ।
प्रतिक्रिया