×

प्रधानमन्त्री प्रचण्डले थाले चीन भ्रमणको तयारी

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौ महिनामा उत्तरी छिमेकी चीनको भ्रमणमा जाने भएका छन्।  कैलालीको धनगढीमा प्रेस युनियनले सोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिएका हुन्। 

परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणले दुई उदाउँदा छिमेकी मुलुकबीचसँगको सम्बन्ध थप सुमधुर हुने बताए । ‘प्रधानमन्त्रीजीको चीन भ्रमण पनि हुँदैछ। सेप्टेम्बरमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा केही उपलब्धि हुनेछ’, उनले भने, ‘उत्तरतिर चीन आर्थिक र राजनीतिक रुपमा पनि उदाएको छ। चीनको विकासको छलाङलाई नेपालमा पनि उपयोग गर्न सक्नुपर्छ।’

साउदले अहिले पनि नेपालले भारतसँग दुईतिहाइ व्यापार गरिरहेको बताएका छन्। ‘सामाजिक र सांस्कृतिक सम्बन्ध पनि छ। पारवहनका लागि चीन र तेस्रो मुलुकबाट हुने व्यापार हिन्द महासागरबाट हुन्छ’, उनले भने, ‘चीन र भारतको उदाउँदो अर्थतन्त्रबाट लाभ लिन सक्छौँ।’ 

उनले दल विशेषको परराष्ट्र नीति र नेता विषेशको  सम्बन्ध भएर नहुने बताउँदै अब सबैलाई स्वीकार्ने परराष्ट्रनीति बनाउने पनि जानकारी दिए।  ‘विगतमा केही कमीकमजोरी भएका छन्। अहिले हामी त्यसलाई सच्याएर जाँदैछौँ। सबै दललाई स्वीकार्य हुने परराष्ट्र नीति बनाउँदैछौँ’, उनले भने।  उनले नेपाल दुई ठूला छिमेकी मुलुकको बीचमा रहेकाले दुवैतिर सन्तुलित सम्बन्ध राखेर राष्ट्रको हितमा काम गर्न सरकार तयार रहेको बताए ।

‘भारतसँग हाम्रो दुई तिहाई व्यापार चलिरहेको छ । सामाजिक र सांस्कृतिक सम्बन्ध छ । नदीहरू समुद्रसम्म पुग्दा भारत भएरै बग्ने गर्छन् । हाम्रो घनिष्ठ सम्बन्ध छ,’ उनले भने, ‘पारवहानका लागि तेस्रो मुलुकबाट हुने व्यापार मात्रै चीनबाट हुने व्यापारको पनि हिन्दमहासागर मार्फत नै आउने हुनाले भारतसँग पनि सम्बन्ध राख्नुपर्ने आवश्यक्ता छ ।’

‘चीन आर्थिक हिसाबले मात्रै होइन, एउटा महाशक्ति राष्ट्रका रुपमा उदाइरहेको छ,’ उनले भने, ‘चीनको त्यो विकाशको छलाङलाई नेपालको सन्दर्भमा पनि त्यसको सकरात्मक उपयोग गर्न सक्यौँ भने हामी चीनको र भारतको उदाउँदो अर्थतन्त्रबाट हामी प्रतिफल लिन सक्दछौँ ।’हालै मात्रै पाँच दिने चीन भ्रमणबाट फर्किएका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्रीको भ्रमणको वातावरण बनाएको बताइन्छन्।

प्रधानमन्त्री भारत भ्रमणअघि पनि पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाको टोली चीन गएको थियो। उनले फर्केपछि प्रधानमन्त्रीको चीन भ्रमण चाँडै हुने बताएका थिए। यसअघि प्रधानमन्त्री दाहालको सचिवालयले पनि प्रधानमन्त्री दाहाल चीन भ्रमणको गृहकार्यमा जुटेको बताएको थियो ।

सोमबार १८ असार २०८० ०१:४८ PM मा प्रकाशित

प्रतिक्रिया