×

घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

images

नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २१.३२ अंक घटेर २०७५.९७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७६ स्टकको ६४ हजार ८६८ पटकको कारोबारमा ४ अर्ब ५ करोड १० लाख ७८ हजार रुपैयाँ बराबरको ९४ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिवाईसी लघुवित्त वित्तीय संस्था, बिपिडब्लु लघुवित्त वित्तीय संस्था र सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। यस दिन लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य सर्वाधिक ८.९५ प्रतिशत घटेको छ। त्यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ७.१३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन २३ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सोल्टी होटल र नागरिक लगानी कोषको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

सोमबार १३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.०७ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

सोमबार १८ असार २०८० ०३:३६ PM मा प्रकाशित

प्रतिक्रिया