×

भारतको ओडिसामा रेल दुर्घटना हुँदा २ सय ३३ जनाको निधन

images

काठमाडौँ ।  भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३३ पुगेको छ । यस्तै ९ सय जति घाइते भएको अनुमान गरिएको बीबीसीले जनाएको छ । 

भारतको ओडिसा राज्यको बालासोर जिल्लामा गएराति रेल दुर्घटना भएको हो । चेन्नाइबाट हाउडाको लागि गइरहेको कोरोमंडल एक्सप्रेस ट्रेन एक मालगाडीसँग ठोक्किँदा दुर्घटना भएको बताइएको छ ।

भारतका रेल मन्त्री अश्विनी वैष्णव आफै दुर्घटना क्षेत्रमा पुग्नुभएको छ । उहाँले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ भने ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार दश लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

यस्तै गम्भीर घाइते भएकाहरुलाई दुई लाख रुपैयाँ तथा सामान्य घाइते भएकाहरुलाई पचास हजार रुपैयाँ प्रदान गर्ने उहाँले बताउनुभएको छ ।

दुर्घटनामा घाइते भएका एक सय ३२ यात्रीको गोपालपुरको एक अस्पतालमा उपचार भइरहेको ओडिसाका मुख्य सचिव प्रदीप जेनाको भनाइलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । यस्तै थप ४७ घाइतेलाई बालासोरका मेडिकल कलेजमा भर्ना गरिएको छ ।

शनिबार २० जेठ २०८० १०:३४ AM मा प्रकाशित

प्रतिक्रिया