×

कविता

images

मन्द,मन्द छ सपनाहरूको घाम
तैपनि
अगेनामा आगो बालेर

अर्जाप्दै छ केही थान सपनाहरू
तताउँदै छ अगेनाको डिलमा  
एक थान तन र 
अनुभूतिहरूको आभासमा मन 
आखिर 
मधुरो सन्ध्यामा 
एउटा अधुरो सपना
असमय
ओझेल पर्‍यो भन्दैमा
सबै सपनाहरू बेरुजु हुँदैनन् । 

आँखाको नुनिलो पानीमा
अलिकति खुसी पोखिए पनि
इनारको पिँधमा 
अझै पनि
बाँकी नै छ सपनाहरूको मुहान
जत्ति ढुङ्गा हाल्छौ
त्यत्ति माथि आउँछ  पानी ।

असीम आनन्दका
अनुभूतिहरूको खोजीमा
बाटोमा हिँडिरहेको 
एउटा मान्छेको
एउटा रित्तो हात 
गोजीको अर्को हात पनि
खाली छ भन्ने नजिर हुँदैन 
र  त
आफ्ना सपनाहरूको
आरोह अवरोहमा थकित मान्छे
राति ढुक्कसँग निदाउन चाहन्छ र
बिहान उठेर फेरि
सपनाहरूको अर्को चित्र कोर्छ ।
                                                 

शुक्रबार​ १९ फागुन २०७९ ०२:०१ PM मा प्रकाशित

प्रतिक्रिया