×

राष्ट्रपतिका लागि आ-आफ्नै ढंगले मत माग्दै ‘दुई चन्द्र’

images

काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा राष्ट्रपति पदको उम्मेदवारी दिएका ‘दुई चन्द्र’ रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले मत माग्ने कार्यलाई तीव्र बनाएका छन् । गत १३ गते उम्मेदवारी दर्ता गराएसँगै अन्तरपार्टी नेता तथा सांसदहरूसँग उनीहरूले आ–आफ्नै ढंगले मत मागिरहेका छन् ।

कांग्रेस–माओवादीसहितको आठ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरूलाई पत्र पठाएर मतदान गर्न आह्वान गरेको छ । त्यस्तै, उनले दलका शीर्ष नेताहरूसँगको भोटघाटलाई समेत निरन्तरता दिँदै आएको पौडेको सचिवालयले जनाएको छ ।

राष्ट्रपति निर्वाचनका लागि मत माग्दै बिहीबार आयोजित आठ दलका सांसदहरूको अभिमुखीकरण कार्यक्रममा पौडेलको पत्र बाँडिएको छ । उक्त पत्रमा उनले सानैदेखि संघर्ष थालेको बताउँदै यसअघि सत्तामा हुँदा आफू कहीँ कतै नचुकेको पनि जिकिर गरेका छन् ।

त्यस्तै, नेकपा एमालेले पनि मनोनयन दर्ताकै दिन नेपाली कांग्रेसबाहेकका दलहरूलाई आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिन आग्रह गर्दै पत्र पठाएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा पठाइको पत्रपछि उम्मेदवार नेम्वाङ दलका नेताहरूसँग मत माग्न आफैं धाइरहेका छन्।

उनले बिहीबार रास्वपाको पार्टी कार्यालयमै पुगेर उक्त दलका सभापतिसमेतका नेताहरूसँग मत मागे । एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहित एमाले प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराईलगायतका नेताहरूले लामिछानेलाई भेटेर राष्ट्रपतिमा नेम्वाङलाई मत दिन आग्रह गरेको हो ।

नेपाली कांग्रेसले पनि पार्टीको तर्फबाट एमालेसहितका सबै दललाई नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा मत दिन आग्रह गरेको चिठ्ठी पठाएको छ । गत १३ गते बनेको आठ दलीय गठबन्धनका शीर्ष नेताहरूले समेत बिहीबार एउटै मञ्चमा उभिएर पौडेलको पक्षमा मत मागेका छन् । नेपाल समाचारपत्र दैनिकबाट

 

शुक्रबार​ १९ फागुन २०७९ ०८:२२ AM मा प्रकाशित

प्रतिक्रिया