×

गम्भीर अपराधका दोषी रिगललाई आममाफी दिएको विरोधमा ध्यानाकर्षण पत्र लिएर रास्वपाको टोली शितलनिवासमा

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आममाफीप्रति ध्यानाकर्षण पत्र बुझाएको छ । कर्तव्य ज्यानसम्बन्धी घटनामा दोषी ठहर भएर सर्वस्वसहित जेल सजाय भोगिरहेका नेपालगञ्जका गुन्डा नाइके योग ढकाल (रिगल) लाई गत असोज ३ गते परेको संविधान दिवसको अवसरमा माफी दिइएको विरोधमा ध्यानाकर्षण पत्र लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको टोली शीतल पुगेको हो ।

आममाफीको विरोधमा राष्ट्रपतिकहाँ ध्यानाकर्षण पत्र लिएर सभापति रवि लामिछाने, महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललसहितका नेताहरू शीतलनिवास पुगेका थिए ।

रास्वपाले सरकारको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफी, मुलतबी परिवर्तन वा कम गर्ने व्यवस्था विगतदेखि नै गलत प्रयोग भइरहेको उल्लेख गरेको छ । पत्रमा सजाय माफीसम्बन्धी कानुन निर्माण गर्दा विधायकले राखेको मनसायलाई मनन गरी संवैधानिक तथा कानूनी व्यवस्थाको पालना गर्न/गराउन सरकारको ध्यानाकर्षण गराउन राष्ट्रपतिलाई आग्रह गरिएको छ।

त्यस्तै, सजाय माफी, मुलतबी, परिवर्तन र कम गर्न कानूनले नै निषेध गरेका व्यक्तिको स्वार्थ प्रेरित रिहाइलाई रोकी राज्यमा कानुनी राज्य, शान्ति सुव्यवस्था र न्यायको प्रत्याभूति आम जनतामा अनुभूत गराउन आवश्यक कानूनी व्यवस्था स्थापना तथा परिमार्जनका लागि सरकारको ध्यानाकर्षण गराउन पनि भनिएको छ।  व्यक्ति हत्याजस्तो गम्भीर प्रकृतिको सजाय काटिरहेका व्यक्तिलाई संविधान दिवसमा उन्मुक्ति दिने परिपार्टी अन्त्यका लागि रास्वपाले संसद्मा संकल्प प्रस्ताव पनि दर्ता गर्ने भएको छ।

चेतन मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका ‘रिगल’ भनिने योगराजलाई संविधान दिवसमा राष्ट्रपति पौडेलले माफी दिएका थिए।  

सोमबार १५ असोज २०८० १२:२४ PM मा प्रकाशित

प्रतिक्रिया