×

आगामी ३० दिनभित्र विश्वासको मत लिन्छौँ : मुख्यमन्त्री थापा

images

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आगामी ३० दिनभित्र सरकारले विश्वासको मत लिने बताउनुभएको छ । शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले उपयुक्त समय हेरेर गठबन्धन दलसँग छलफल गरी विश्वासको मत लिने प्रष्ट पार्नुभयो ।
    
उहाँले अवरुद्ध सदनलाई सञ्चालन राख्न, विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्न तथा रोकिएको बजेटलाई सदनमार्फत कार्यान्वयन गर्नेजस्ता मुख्य कार्य वर्तमान सरकारको रहेको बताउनुभयो । 

 मुख्यमन्त्री थापाले सरकारले आवश्यकताअनुसार मन्त्रालय थपघट गर्नसक्ने चर्चा गर्दै गठबन्धन दलबीच छलफल गरी सहमतिका आधारमा मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिनुभयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सहभागी गराउन विभिन्न चरणमा छलफल चलिरहेको बताउँदै वर्तमान सरकारलाई समर्थन दिएर दुर्घटनाबाट जोगाउने विश्वास व्यक्त गर्नुभयो ।
    
मुख्यमन्त्री थापाले राप्रपाबाट वर्तमान सरकारलाई जनताका पक्षमा कार्य गर्नका लागि आवश्यक साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

बुधबार १७ साउन २०८० ०९:१७ PM मा प्रकाशित

प्रतिक्रिया