×

यो वर्ष पोहोरभन्दा १० प्रतिशत कम रोपाइँ

images

काठमाडौं । समयमा बर्सात नहुँदा यो वर्ष पोहोरभन्दा करिब १० प्रतिशत कम रोपाइँ भएको छ। यो वर्षको असार १५ गतेसम्म करिब १५ प्रतिशतको हाराहारी मात्र रोपाइँ भएको अनुमान छ। पोहोर असार १५ मा २५ प्रतिशतभन्दा बढी रोपाइँ भएको थियो।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले औपचारिक रूपमा सार्वजनिक गरेको तथ्यांक अनुसार गत बुधबारसम्म ११.१४ प्रतिशत मात्र रोपाइँ भएको थियो। दुई दिनको अवधिमा ९असार १५० बढेर करिब १५ प्रतिशत हाराहारीमा पुगेको अनुमान छ। अघिल्लो वर्षको असार १५ मा २५ प्रतिशत भन्दा बढी धान रोपाइँ भएको थियो।

आर्थिक वर्ष २०७७/७८ को असार १५ सम्म ३५.४८ प्रतिशत रोपाइँ भएको थियो। उल्लिखित तथ्यांक हेर्दा पोहोरको तुलनामा निकै कम रोपाइँ भएको देखिन्छ।

मनसुन कम भएकाले रोपाइँ कम भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले बताए। ‘पर्याप्त मात्रमा मनसुन सक्रिय नभएकाले रोपाइँ कम भएको हो,’ प्रमुख श्रेष्ठले भने, ‘अब क्रमशः बढ्दै जान्छ।’

गत बुधबारसम्म सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिममा २३/२३ प्रतिशत रोपाइँ भएको छ। सुदूरपश्चिममा रोपाइँ हुने १ लाख ७५ हजार ७ सय ६३ हेक्टरमध्ये ३९ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ।

त्यसैगरी, कोशीमा १७ प्रतिशत, लुम्बिनीमा ११.९ प्रतिशत, गण्डकीमा ६.८९ प्रतिशत, ५ प्रतिशत र मधेशमा ३ प्रतिशत रोपाइँ भएको छ। यो गत बुधबारसम्मको तथ्यांक भएकाले त्यस यता केही प्रतिशत बढेको छ।

रोपाइँ कम भएकाले यसको प्रभाव उत्पादनमा पर्न सक्ने अनुमान गरिएको छ। यो वर्ष कम वर्षा हुने अनुमान गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले बताए। ‘कम वर्षा भएपछि रोपाइँ कम हुन्छ,’ सचिव शर्माले भने, ‘त्यसको असर उत्पादनमा पर्छ।’

पर्याप्त रोपाइँ नहुँदा उत्पादन घट्छ। उत्पादन घटेपछि आायत वृद्धि हुन्छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि जेठ मसान्तसम्म ३३ अर्ब ६३ करोड ४७ लाख ९२ हजार रूपैयाँको चामल र धान आयात भएको हो।

एकातर्फ समयमा रोपाइँ नहुनु र अर्कोतर्फ किसानलाई उन्नत जातको धानको बिउ, समयमा रासायनिक मल, सिँचाइ सुविधा, धान रोप्न मेसिन औजार आदिको अभावका कारण पनि उत्पादनमा प्रभाव पर्ने देखिएको छ। नागरिक दैनिकबाट

आइतबार​ १७ असार २०८० ०९:३८ AM मा प्रकाशित

प्रतिक्रिया