×

सभापति देउवाले एकलौटी निर्णय गरे, अहिलेसम्म सहेँ, अब सहन्नँ- महामन्त्री गगन थापा

images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस संलग्न भएको सरकारले हालै गम्भीर जनचाँसोको निर्णय गरेको र ती निर्णयहरू पार्टी सभापति शेरबहादुर देउवा एक्लैले गरेको बताएका छन्। शुक्रबार नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठानको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त कुरा बताएका हुन्।

उनले भने, ‘कांग्रेस संलग्न भएको सरकारले हालै गम्भीर र जनचासोको निर्णयहरू गर्‍यो । आममाफी, नागरिकता र सांसद विकास कोषजस्ता कैयौँ विषयका सन्दर्भमा पार्टी सभापति एक्लैले गरेको हो।’ थापाले सो निर्णय गर्नुअघि सभापति देउवाले पार्टीमा कुनै छलफल नगरेको दाबी गरे। सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई अब नसहने थापाले चेतावी पनि दिए । सभापतिका कारणले कांग्रेसका विषयमा प्रश्न उठ्ने अवस्था बनेको थापाको जिकिर छ ।

उनले भने, ‘टुल टुल हेरेर बसिन्न् । कांग्रेस बदलिन्छ । संघर्ष गर्ने हो ।’ निर्णय गर्ने पूर्ण अधिकार सभापतिलाई विधानले दिएकाले पनि समस्या भएको उनको तर्क छ ।  कार्यक्रममा महामन्त्री थापाले भने, ‘कांग्रेस बदल्ने र कांग्रेस सुधार गर्न नचाहने गुट छ । परिवर्तन नचाहनेलाई कमजोर बनाउँदै जाऔं ।’

‘मैले त पछि थाहा पाएको हो । यो परिपाटी एक डेढ वर्षदेखि चल्दै आएको छ । आजको दिनसम्म चल्यो । मैले सहँदै आएँ’, महामन्त्री थापाले भने, ‘किनभने सभापति हो, बहुमत उहाँसँग छ भनेर सहेँ । नसहनुपर्ने कुरा सहेकाले अव म सहन्न भन्ने कुरा मैले बदल्ने हो ।’

उनले पार्टी नेतृत्वको यो निर्णय प्रक्रियाको तरिकाले पार्टीलाई अहित गरिरहेको भन्दै अव नसहने बताए । ‘जुन कुराले पार्टीको अहित गर्छ । त्यस्ता निर्णयहरूको भारी पार्टीका तमामले कार्यकर्ताले बोक्नुपरेको छ’, उनले भने, ‘अब लडेर जुधेर रोक्ने हो । एकपछि गलत निर्णय गर्दै जाने हो भने यो पार्टी यसरी थिचिन्छ कि यो भारी बोक्न अव सकिँदैन । उठाउन पनि सकिँदैन ।’

शुक्रबार​ १९ जेठ २०८० ०२:४३ PM मा प्रकाशित

प्रतिक्रिया