×

खानेपानी समस्याले बसाइँ सर्दै

images

धनकुटा । धनकुटाको शहीदभूमि गाउँपालिका–३ पातालडाँडाकी रोमादेवी राईलाई दैनिक दुई सय लिटर पानी चाहिन्छ । उनले त्यति पानी घरदेखि आधा घण्टा टाढाको कुवाबाट ओसार्नुपर्छ ।

पाँच पटक ओसारेपछि मात्र दुई सय लिटर पानीको जोहो हुन सक्छ । यसर्थ दैनिक पाँच घण्टा पानी ओसार्दा नै बित्छ । उनले दुःख व्यक्त गर्दै भनिन्, “हिउँद लागेपछि खानेपानीको मुहान सुक्छ । हरेक दिन पाँच घण्टा पानी ओसार्न सकिएन भने घरधन्धा कठिन हुन्छ ।”

शहीदभूमि गाउँपालिकाको पातालडाँडाका १५० परिवारले भोग्दै आएको समान समस्या हो । त्यसो त पानी व्यवस्थापनका लागि पातालडाँडामा दुईवटा ट्याङ्की निर्माण गरिएको छ । करिब २० हजार लिटर पिउने पानीका लागि र अन्य प्रयोजनका लागि २० लाख लिटर पानी सङ्कलन गर्ने गरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले २०७० सालमा ट्याङ्की निर्माण गरेको थियो तर दुवै ट्याङ्की यतिबेला सुक्खा छन् । स्थानीय हरि विष्टले दुई महिनादेखि मूल सुकेसँगै गाउँमा खानेपानीको हाहाकार भएको बताए ।

धनकुटाको चौबिसे, शहीदभूमि, साँगुरीगढी, छथर जोरपाटीलगायतका पालिकामा खानेपानीको निकै समस्या छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्याङ्कअनुसार धनकुटामा ११ प्रतिशत नागरिक खानेपानीको पहुँचबाहिर छन् ।

जिल्लामा पहिलेको तुलनामा ६० देखि ७० प्रतिशतसम्म खानेपानीका मूल सुकेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख राजकुमार मण्डलले जलवायु परिवर्तनसँगै वन फँडानी, अव्यवस्थित खनिएको बाटो, जथाभावी एक्साभेटर प्रयोग, भूकम्प, पोखरी मासिनु, बढ्दो कङ्क्रिट संरचना निर्माण हुनुलगायतका कारण खानेपानीको मूल मासिएको बताए ।धनकुटा नगरपालिकामा प्रतिसेकेन्ड २४ लिटर पानी आवश्यक रहेकोमा प्रतिसेकेन्ड १२ लिटर मात्र पानी उपलब्ध हुँदै आएको छ ।

नगरप्रमुख चिन्तन तामाङले खानेपानीको दिगो व्यवस्थापनका लागि थप आयोजना सञ्चालन गर्ने तयारीमा रहेको बताए। पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले ग्रामीण क्षेत्रमा हिउँदमा पानीको समस्या निकै रहने गरेको गुनासो गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

आइतबार​ १९ चैत २०७९ ०८:५० AM मा प्रकाशित

प्रतिक्रिया