×

सत्तारूढ दल सभामुखको अधिकार कटौती गर्ने कदमबाट पछिहटे

images

काठमाडौँ । सत्तारूढ दलहरू सभामुखले गर्ने कामकारबाही कार्यव्यवस्था परामर्श समितिको निर्णयका आधारमा हुनुपर्ने संशोधन प्रस्तावबाट हटेपछि प्रतिनिधिसभा नियमावलीमा सहमति जुटेको छ । सभामुख देवराज घिमिरेको आह्वानमा शनिबार भएको छलफलमा सभामुखले सदनका कामकारबाही कार्यव्यवस्था समितिको नियमित परामर्शका आधारमा गर्ने सहमति भएको थियो ।

यसअघि सत्तारूढ दलको तर्फबाट सभामुखको कामकारबाही समितिको निर्णयबाट मात्र हुनुपर्ने संशोधन दर्ता भएपछि नियमावली पारितको प्रक्रिया रोकिएको थियो । सत्तारूढ दलको प्रस्तावले सभामुखको विशेषाधिकारमा समेत अङ्कुश लाग्न लागेको भन्दै विपक्षी दल र पूर्वसभामुखहरूले समेत आपत्ति जनाएका थिए । संसदीय मान्यता र स्थापित अभ्यासविपरीत अधिकार कटौतीको प्रस्ताव भएको भन्दै नियमावली पारितको प्रक्रिया रोकिएको थियो ।

दलीय सहमतिसँगै आइतबारको बैठकमा नियमावली पारित गर्ने सहमति भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई पारितको प्रक्रिया अघि बढाउने सम्भावित कार्यसूची तय भएको छ । मुख्य विवादित बनेको संशोधनलाई भाषा मिलाएर स्वीकार गर्ने राजनीतिक रूपमा सहमति भएको नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताए ।

दलीय सहमतिअनुसार सचिवालयले मस्यौदा गरेको नियम १३ को उपनियम ४ मा ‘उपनियम १ बमोजिमको समितिको बैठक अधिवेशन चालु रहेको अवस्थामा नियमित रूपमा र अन्य समयमा आवश्यकताअनुसार बस्नेछ’ भन्ने शब्दावली राख्ने दलीय सहमति भएको छ । यसअघि उपनियम चारमा सभामुखले गर्ने काम कारबाही कार्यव्यवस्था परामर्श समितिको निर्णयका आधारमा हुने व्यवस्था प्रस्तावित थियो ।

आइतबार​ १९ चैत २०७९ ०३:१० PM मा प्रकाशित

प्रतिक्रिया