×

क्वालिटी इन्टरटेनमेन्ट अवार्डको मलेशिया संस्करण सम्पन्न

images

क्वालालम्पुर- क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२३, को मलेशिया सँस्करण सम्पन्न भएको छ । मलेशियाका लागि नेपाली राजदुत डिल्ला राज पौडलको प्रमुख आतिथ्यतामा सम्पन्न सो अवार्ड समारोहमा सम्पन्न भएको छ । सो अवार्डको ग्रान्ड फिनाले नेपाल संस्करण भने यसै महिनाको अन्तिममा नेपालमा आयोजना गरिने भएको छ ।

क्वालिटी फिल्मस्द्धारा आयोजित सो समारोहमा विभिन्न १० विधामा अवार्ड प्रदान गरियो । समारोहमा राष्ट्रिय भावको सर्वोत्कृष्ट गीतकारको अवार्ड देशलाई माया गरबाट पुरुषोत्तम  बस्नेतले, लोकगीत गीतकारको जुरी अवार्ड जिस्केर मस्केर गीतबाट डब्बु क्षत्रीले, लोक तथा दोहोरी गीत सर्वोत्कृष्ट गीतकारको अवार्ड अनाथ गीतबाट सागर रेग्मीले जिते । सोही समारोहमा उत्कृष्ट पप गीत गायिकाको अवार्ड सम्झनाको मफलरबाट गायिका नितु पुनले, सर्वोत्कृष्ट भेगविशेष गीत गायकको अवार्ड ओई सालीबाट सानु पुलामीमगर (चिन बहादुर)ले, सर्वोत्कृष्ट लोक गीत एरेन्जरको अवार्ड अवार्ड पत्ताको के जोराबाट डोलराज बाह्राघरेले, सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशकको अवार्ड हाई सन्चो गीतको भिडियोबाट एकेन्द्र साराशँकरले, लोक तथा लोक दोहोरी गीत म्युजिक भिडियो निर्देशकको जुरी अवार्ड माईतीको झलिकोबाट नरेन्द्र पुनले, उत्कृष्ट फोटो ग्राफर तथा फोटो पत्रकारको अवार्ड ब्युटी न्युज नेपालका फोटो पत्रकार बद्री थापाले हाँसिल गरे । कार्यक्रमका विभिन्न निर्णायक मध्य दुई जना निर्णायक गायक नविन कुमार पौडेल र गीतकार शिब पौडेललाई प्रमाणपत्र प्रदान गरियो । निर्णायक पौडेलले समारोहमा आफ्ना गीत प्रस्तुत गरेर दर्शकको मन जिते ।  

सोही समारोहमा लायन सुनकुमारी श्रेष्ठलाई समाजसेवी सम्मान, गीतकार÷गायक÷ कलाकार तथा चलचित्र निर्माता नवराजजँग थापालाई बरिष्ट कलाकार सम्मान, समाजसेवी रामबहादुर साराशँकरलाई सामाजिक अभियान्ता सम्मान, व्यबसायी दोरन कुमार गौचनलाई युवा ब्यबसायी सम्मान, महिला व्यबसायी दीक्षा तुलाचन गौचनलाई महिला व्यबसायी सम्मान प्रदान गरियो ।

मलेशियामा रहेर नेपालीहरुलाई विभिन्न सहयोग गर्दै आएका व्यक्तिहरु पनि कार्यक्रममा सम्मानित भए । यसरी सम्मानित हुनेहरुमा सामाजिक अभियान्ता तथा असल छिमेकी सेवा समाजका अध्यक्ष पूर्ण सुब्बा योङहाङलाई अन्तराष्ट्रिय व्यबसायी तथा समाजसेवी सम्मान, गोर्खा रेष्टुरेन्ट रावाङका अध्यक्ष एवम् ब्यबसायी, समाजसेवी दुर्गा बहादुर गुरुङ (राज)लाई अन्तराष्ट्रिय व्यबसायी तथा समाजसेवी सम्मान, पत्रकार इश्वर राईलाई पत्रकारिता तथा सामाजिक अभियान्ता सम्मान, डी काष्ठमाण्डप क्याफे बुकित विन्ताङलाई मौलिक नेपाली खाना सेवा सम्मानबाट सम्मानित गरियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा मलेशियाका लागि नेपाली राजदुत डिल्ली राज पौडेल र क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले सबैलाई अवार्ड तथा सम्मान प्रदान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत पौडेलले नेपाली गीत संगीत तथा कलाकारलाई अन्तराष्ट्रिय क्षेत्रमा प्रोत्साहन गर्ने बताए,‘यस्ता कार्यक्रममा मलेशियामा रहेका नेपाली कलाकारहरुको गीत संगीतलाई पनि अवार्ड तथा सम्मानबाट आगामी दिनमा प्रोत्साहन गर्नु पर्छ । त्यसो भयो भने प्रवासमा रहेका नेपाली कलाकारहरुको पनि हौसाल बढ्ने छ ।’ आगामी दिनमा मलेशियामा यस्तो कार्यक्रम आयोजना गर्न दुतावासका तर्फबाट आफुहरुले पनि सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

अवार्ड आयोजक तथा क्वालिटी फिल्मस् प्रा.लि.का अध्यक्ष उमेश गुरुङले नेपाली गीत संगीत तथा चलचित्रलाई अन्तराष्ट्रिय बजारमा प्रोत्साहन गर्न तेश्रो संस्करणको यो अवार्ड मलेशियामा आयोजना गरिएको हो भने । यो अवार्डको ग्रान्ड फिनाले चाँडै नै काठमाडौंमा आयोजना गर्ने पनि उनले कार्यक्रममा जानकारी गराए ।

अवार्डको मलेशिया सँयोजक तथा पत्रकार इश्वर राईले मलेशियामा निकै भव्यताका साथ सम्पन्न भएको बताए । यो अवार्डमा मलेशियामा रहेका नेपालीहरुलाई पनि सम्मानित गरिएकोमा उनले खुसी व्यक्त गरे । मलेशियाका सबै सहयोगीलाई धन्यबाद ज्ञापन गर्दै उनले नेपाली गीत संगीत तथा चलचित्रको प्रवर्धनका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिने बताए ।

कार्यक्रमकी नेपाल संयोजक सरिता भारतीको व्यबस्थापनमा भएको सो कार्यक्रमलाई विलक्षण क्रियसनले व्यबस्थापन गरेको थियो । कार्यक्रममा हिमालयन बैंक मलेशियाका  ब्रान्च म्यानेजर प्रदीप आचार्यलगायतले नेपाली गीत संगीतको प्रवर्धनमा यस्ता कार्यक्रम निकै उपयुक्त हुने बताए । सो समारोहलाई एनआरनए मलेशिया, गोर्खा समाज मलेशिया, तमु समाज मलेशिया, असल छिमेकी सेवा समाज मलेशिया, टप गन सेक्युरिटीलगायत विभिन्न संघ संस्थाले सहयोग गरेका थिए ।

शुक्रबार​ १५ मंसिर २०८० ०१:५५ PM मा प्रकाशित

प्रतिक्रिया