×

रचनात्मक सहरका लागि चलचित्र विधा छनोट

images


काठमाडौँ, १५ कात्तिक  : काठमाडौँ महानगरपालिकाले रचनात्मक सहरका लागि तोकिएका सात क्षेत्रमध्ये चलचित्र विधा छनोट गरेको छ । कामपाले चलचित्र विधाबाट काठमाडौँ युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटिज नेटवर्क) मा जोडिन उक्त विधा छनोट गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । 

    “नेटवर्कमा आवद्ध हुन शिल्प तथा लोककला, सङ्गीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नुपर्ने थियो”, उहाँले भन्नुभयो, “रचनात्मक सहरका सबै विधा काठमाडौँसँग सम्बन्धित छन् । चलचित्र विधाबाट सबै क्षेत्र समेट्न सकिने भएकाले याे विधा छनोट गरिएको हो ।”

    प्रवक्ता मानन्धरले फरक दृष्टिकोण, अर्थव्यवस्था र संस्कृति भएका भिन्नभिन्न सहरलाई रचनात्मक सहरको सञ्जालमा जोडेर विकासको साझा दृष्टिकोण बनाउने रचनात्मक सहरको अवधारणा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष सञ्जालमा जोडिएकामध्ये काठमाडौँसहित पाँच सहर चलचित्र विधामा छानिएका छन् । 

    सङ्गीत विधामा १६, डिजाइनमा छ, शिल्प तथा लोककलामा सात, साहित्यमा १०, खानाका परिकारमा सात, मिडिया कलामा चार वटा सहर जोडिएका छन् । यसले सांस्कृतिक र रचनात्मक कलाअन्तर्गतका सबै कार्यक्रम र गतिविधि कार्यान्वयन गर्नेछन् । 

    “जनजीवन, भूगोल, बस्ती र सांस्कृतिक मूर्तअमूर्त सम्पदासँग जोडिएका ऐतिहासिक र पुरातात्विक रोचक कथाका कारण काठमाडौँलाई रचनात्मक सहरका रुपमा हेर्ने गरिएको छ”, मानन्धरले भन्नुभयो, “जात्रा पर्व, मौलिक वेषभूषा, खानपान काठमाडौँसँग जोडिएर आउने बिम्ब हुन् ।”

    चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा र वकालत गर्ने, सहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताका लागि वार्षिक रूपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहभागी हुन छात्रवृत्ति प्रदान गर्नेलगायत काम नेटवर्कले गर्दै आएको छ । 

    अन्तरर्राष्ट्रियस्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तरर्राष्ट्रिय चलचित्र महोत्सव, फिल्म एक्स्पो, फिल्म समिट गर्ने मानन्धरले जानकारी दिनुभयो । नेटवर्कका कार्यक्रम सञ्चालनका लागि कामपाले रू पाँच करोड विनियोजन गरेको छ । सञ्जालमा एक सय भन्दा धेरै देशका तीन सय ५० सहर आवद्ध भइसकेका छन् ।
---

बुधबार १५ कात्तिक २०८० ०४:४४ PM मा प्रकाशित

प्रतिक्रिया