×

क्राइम रिपोर्ट : देशका विभिन्न स्थानमा ३ जनाको मृत्यु, ५ जना अभियुक्त पक्राउ (नामावलीसहित)

images

काठमाडौं । देशका विभिन्न स्थानमा तीन जनाको मृत्यु भएको छ । घटनामा संलग्न पाँच अभिव्युक्तलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।  

जसअनुसार बाराको कलैया उपमहानगरपालिका–६ मदर्शा टोलमा बाल एकता ईङगलिस बोडिङ स्कुलका सञ्चालक तथा  प्रधानाध्यापक सोही ठाउँ बस्ने ३५ वर्षीय गुड्डु भन्ने रूपेश स्वर्णकारको गोली प्रहारबाट हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका–६ मदर्शा टोल बस्ने २२ वर्षीया राधा गुप्ता, ३४ वर्षीय जामिल अख्तर, सोही उपमहानगरपालिका–९ रामपुर बस्ने २६ वर्षीय रियाज अंसारी, भारत मोतिहारी पूर्वी चम्पारण थाना घोडासहन गाउँ जागिराकोटी बस्ने २३ वर्षीय चन्दनकुमार र भारत मोतिहारी पूर्वी चम्पारण थाना घोडासहन गाउँ बहार्वाकाला–१२ बस्ने २३ वर्षीय अभिनव कुमार राजपुत रहेका छन् । 
मदर्शा टोलमा गोली प्रहारबाट सोमबार दिउँसो गम्भीर घाइते भएका रूपेशको नारायणी मेडिसिटि बयोधा हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो भने घटनास्थलबाट ४ थान गोलीको खोका बरामद भएको थियो । 

उनीहरूमध्ये राधा गुप्ता मुख्य योजनाकार र सूचना आदानप्रदान गर्ने, जामिल अख्तर र रियाज अंसारी सहयोगी तथा चन्दनकुमार र अभिनवकुमार राजपुत सुटर ग्याङको सदस्य रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

साथै विवाहेत्तर प्रेम सम्बन्ध एवं रिसइवीको कारण उक्त घटना भएको समेत खुल्न आएको छ । भारत मोतिहारी दर्र्पाथाना–१ सुक्लहिया बस्ने २५ वर्षीय सुजितकुमार सिंह, २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय  मनिषकुमार सहनी र २० वर्षीय कामेश्वर सहनी गोली प्रहारमा संलग्न रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

त्यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ सेल्फी रोडबाट मेड ईन ईङ्गल्याण्ड लेखेको रिबल्बर बुधबार बिहान प्रहरीले बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उक्त रिबल्बर वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।

त्यसैगरी मोरङको सुनवर्षी नगरपालिका पिपल चोकबाट अन्दाजी १८ हजार रूपैयाँ मूल्य बराबरको ६ बण्डल नागिन पटाका बुधबार प्रहरीले बरामद गरेको छ । 

प्रहरी चौकी अमरदहबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ मोटरसाइकलमा ल्याउँदै गरेका पटाका छोडी फरार भए पश्चात् उक्त पटाका प्रहरीले बरामद गरेको हो । 

कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रतनपुरस्थित धान खेतमा वेवारिसे अवस्थामा लुकाई राखेको अन्दाजी ३० हजार रूपैयाँ मूल्य बराबरको ६ प्याकेट पटाका बुधबार प्रहरीले बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उक्त पटाका फेला पारी बरामद गरेको हो ।     

घटनामा संलग्न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–७ घेरुवा बनगाईमा लु १ ख ८६७७ नम्बरको बस रोकी झर्ने क्रममा लडेर सोही नगरपालिका–७ मोतीपुर बस्ने २६ वर्षीया सृजना गिरीको बुधबार दिउँसो मृत्यु भएको छ । 

लडेर गम्भीर घाइते भएकी उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । 

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको  छ ।

बाराको सिम्रौनगढ नगरपालिका–८ कचोर्वा बस्ने ५५ वर्षीया सैलदेवी साहको आफ्नै घर लिपपोत गर्ने क्रममा पंखाको तारबाट करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने २६ वर्षीय सत्कार पौडेल सोही नगरपालिका–५ ज्ञान बँगैचा टोल बस्ने उनकै साथी गणेश कार्कीको घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । 

साथै थप अनुसन्धानको लागि गणेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

संखुवासभाको खाँदबारी नगरपालिका–१० बाजोगरा बस्ने सम्भु थापाको घरको बरण्डाको बाहिर खाटमा भोजपुर षडानन्द नगरपालिका–१० मालवासे बस्ने २९ वर्षीय भक्त नारायण राई बुधबार मृत अवस्थामा फेला परेका छन् । 

नवलपरासी पूर्व, बिनयी त्रिबेणी गाउँपालिका–६ स्थित होटल ग्रिलेण्ड रेष्टुरेण्ट एण्ड लजमा कुकको काम गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका–१४ रानीबास चन्दनपुर घर भएका ५२ वर्षीय पूर्णबहादुर भुजेल सोही होटलको कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।

ललितपुर महानगरपालिका–२ सानेपा डेरा गरी बस्ने जर्मनी नागरिक डेनियल फुचको कोठाबाट ल्यापटप ३ थान, क्यामेरा १ थान  र नगद ४७ हजार रूपैयाँ गएराति चोरी भएको छ । 

चोरीमा संलग्न व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको  छ । 

बुधबार १५ कात्तिक २०८० ०६:५७ PM मा प्रकाशित

प्रतिक्रिया