×

तराई–मधेसमा अत्यधिक गर्मी

images

काठमाडौं । धनुषासहित तराई–मधेसमा दैनिकजसो गर्मी बढ्दै गएको छ । जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको हो । जनकपुरधामसहित तराई(मधेस क्षेत्रमा एक सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ ।

सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो । बेला–बेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी घट्न सकेको छैन । पानी परेर मौसम उघ्रिनासाथ गर्मी बढ्न थालेको छ । चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् । गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ । गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् ।

गर्मीका कारण घाउ, खटिरा, आउँ, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सक बताउँछन् । गर्मीले विद्यालय जानुपर्ने स–साना बालबालिकासँगै वृद्धवृद्धा, अशक्त, किसान र मजदुर बढी प्रभावित भइरहेका छन् ।

अत्यधिक गर्मीले गर्दा कक्षाकोठामा विद्यार्थीलाई पठनपाठनमा समस्या हुने गरेको छ । क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालय महेन्द्रनगरका प्रधानाध्यापक बाबुसाहेब यादवले अत्यधिक गर्मीले विद्यार्थीको छालामा समस्या देखिएको बर्ताए । “अत्यधिक गर्मीले विद्यार्थीको शरीरमा घमौरा, बिमिरा देखिन थालेका छन्”, उनले भने, “घमौराले गर्दा शरीर चिलाउने गर्दा उनीहरूलाई पढाइमा ध्यान केन्द्रित गर्न समस्या पर्ने गरेको छ ।”

बिहीबार १८ जेठ २०८० १२:५० PM मा प्रकाशित

प्रतिक्रिया