×

बालकुमारी घटना : पीडित पक्ष र सरकारबीच सहमति

images

काठमाडौँ, १६ पुस : ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा मृत्यु भएका व्यक्तिका परिवार र सरकारबीच चारबुँदे सहमति भएको छ । गृहमन्त्रालयमा आज भएको छलफलपछि सरकार र पीडित पक्षबीच मृतकका परिवारका १/१ जना सदस्यलाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने सहमति भएको हो ।
 
दुई पक्षबीच सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने, मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने, मृतकका परिवारले आजै शव बुझिलिने र शव सम्बन्धित जिल्लामा पुर्‍याउन गृह मन्त्रालयले पहल गर्ने सहमति भएको छ ।
 
 सो सहमतिमा सरकारका तर्फबाट गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी र मृतक परिवारका तर्फबाट टेकबहादुर शाह र टेकबहादुर कटुवालले हस्ताक्षर गर्नुभएको छ ।
 
बालकुमारीस्थित रोजगार अनुमति प्रणाली(इपिएस) कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का सुजन राउतको मृत्यु भएको थियो ।
 
सरकारले आजै उक्त घटनाको निष्पक्ष र वस्तुगत छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुण विसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको थियो ।

सोमबार १६ पुस २०८० ०८:२० PM मा प्रकाशित

प्रतिक्रिया