×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा भ्रमणमा जाने भएका छन् ।  परराष्ट्र मन्त्रालयका अनुसार कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल कार्तिक १७ गते त्यसतर्फ जाने भएका छन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।  राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने तालिका रहेको छ । संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार हुन लागेको यो सम्मेलनका क्रममा राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । संयुक्त राष्ट्रसङ्घको १९५५ मा सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रहेको छ । भ्रमणमा राष्ट्रपति पौडेलसँग उनकी धर्मपत्नी श्रीमती सबिता पौडेल, राष्ट्रपतिका सञ्चार विज्ञ किरण कुमार पोखरेल, राष्ट्रपति कार्यालयका सचिव र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू रहने छन् । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।

२- नेक्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीमा विवाद देखिएको छ । विप्लव नेतृत्वको नेकपाले हालै निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएपछि अर्को समुह चिरन पुन (मिलन सी) को नेतृत्वले छुट्टै भेला गरेर समाजवादी मोर्चामा रहेका दलहरूबीचको एकताको पक्षमा उभिने निर्णय गरेको छ । विप्लवसहितका नेताहरु प्रचण्डको नेतृत्वमा माओवादीमा एकता गर्न नमानेपछि चिरन पक्ष भने माओवादी केन्द्रसँग एकता गर्ने पक्षमा उभिएको छ । विवादका विषयमा लेख्दै चिरन पुनले भनेका छन्: आरम छु आरमै चाहन्छु । निकै मीठो हाम्रो सहकार्य भएको अब १३ बर्ष पूरा भएर १४ बर्षमा लाग्दै छ । एकताको बिषयमा हाम्रो कुरा मिलेन । कम्युनिस्ट क्रान्तिकारीहरुको एकता आजको अनिवार्य आवस्यकता हो । बृहत कम्युनिस्ट एकताले मात्र नेपाली बिशेषताको समाजवाद हुँदै समाजवाद र साम्यवादी सपना पूरा हुन सक्छ । तपाईंको भुमिका बृहत कम्युनिस्ट एकता र ध्रुवीकरणमा आवस्यक छ । त्यसको निम्ति हजुरले पनि  छिट्टै  एकताको पहल गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछु । यो नै नवौ केन्द्रीय समितिको विशेष बैठकको दिशा निर्देश र आजको वस्तुगत आवास्यकताले बिभाजित कम्युनिस्ट आन्दोलनलाई दिएको सन्देश हो । छिट्टै एकताको पहल गर्नुहुनेछ । फेरि छिट्टै हाम्रो भेट हुने अपेक्षा राखेको छु, अभिवादन । माओवादी केन्द्रसँग एकता गर्ने तयारी भएको बेला एकीकृत समाजवादी फुटको संघारमा पुगेकै समयमा विप्लव नेतृत्वको नेकपामा पनि विभाजनको रेखा कोरिएको छ ।

३- गत भदौ २३ र २४ गते देशब्यापी रुपमा भएको जेनजी आन्दोलन र सो क्रममा भएको जनधनको क्षतिले निजी क्षेत्रमा परेको असर, लगानीकर्ताले गरेको अनुभव एवं विद्यमान अवस्थाबाट अगाडि बढ्न गरिनुपर्ने पहलका सम्बन्धमा सार्वजनिक निजी संवाद आयोजना गरिएको छ । लगानी बोर्डको कार्यालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा आज शुक्रबार अर्थ मन्त्रालय सभा हलमा आयोजित संवाद अर्थमन्त्री रामेश्वर प्रसाद खनालको प्रमुख आतिथ्यता एवं गृह मन्त्री ओम प्रकाश अर्याल, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री अनिल सिन्हा, नेपाल राष्ट्र बै‌कका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । सो छलफलमा अर्थमन्त्री खनालले सरकारले नीतिगत सुधारका कामलाई उच्च प्राथमिकतामा राखेको र केही सुधारका कामहरु निजी क्षेत्रले अनुभव गर्नेगरी भइसकेको बताए । उनले लगानी र लगानीकर्ताको सुरक्षाको विषयमा शंका नगर्न स्वदेशी एवं विदेशी लगानीकर्ताहरुलाई आग्रह गरे । यस्तै गृहमन्त्री अर्यालले निजी क्षेत्रले राखेको सुरक्षा प्रत्याभूतीको विषयलाई गृह मन्त्रालयले गम्भिर रुपमा लिएको बताए । उनले मुलुकमा सुशासन कायम गर्न अपरिहार्य रहेको बताहुदै सुशासनका सम्बन्धमा सरकारसँगै निजी क्षेत्रमा पनि सुधार आवश्यक रहेको बताए । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री सिन्हाले कुनै पनि निकायमा रोकिएका काम सम्पन्न गर्न तीब्र गतिमा काम गरिरहेको बताए । कानुन नै सुधार गर्नुपर्ने बाहेकका प्रक्रियागत सुधारलाई उच्च प्राथमिकतामा राखिएको उनले बताए । नेपाल राष्ट्र बै‌कका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तिय संस्थामा पर्याप्त लगानी योग्य रकम रहेको हुँदा लगानीका लागि राम्रो अवसर रहेको बताए । उनले लगानीका लागि आग्रह गर्दै विशेषगरी पूर्वाधार क्षेत्रमा लगानी गर्न सुझाव दिए । कार्यक्रममा स्वागत गर्दै परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उद्योगी व्यवसायीहरुलाई अत्यन्त दुखित एवं चिन्तित बनाएको बताए । मुलुकमा भ्रष्टाचार निवारण, पारदर्शिता एवं सुशासन बढाउन सार्वजनिक निकायबाट प्रवाह हुने सम्पूर्ण सेवाहरूलाई ‘फेसलेस’, ‘पेपरलेस’, ‘कन्ट्याक्टलेस’ बनाउन सार्वजनिक सेवाहरूलाई तीव्र गतिमा डिजिटलाइज गरिनुपर्नेमा जोड दिए । उनले देशको अर्थतन्त्र, निजी क्षेत्रको प्रकृति र संकट झेल्न सक्ने सामथ्र्य अन्यत्रभन्दा भिन्न रहेको यथार्थ यसअघिका संकटहरुले समेत देखाइसकेको भन्दै हालको चुनौतीलाई पनि अवसरको रुपमा लिन सकिने बताए ।  लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कार्यक्रमको महत्वबारे जानकारी गराउदै परियोजनाका लगानीकर्ता तथा विकासकर्ताहरूका लागि सहज व्यवसायिक वातावरण निर्माण गर्न लगानी बोर्डको कार्यालय सक्रिय र विवेकपूर्ण ढङ्गले कार्यरत रहेको तथा उक्त प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । 'लगानी बोर्डले अब लगानीकर्ताका लागि ‘एकल बिन्दु सेवा प्रणाली लागू गर्दैछ । जसअन्तर्गत कुनै पनि निजी लगानीकर्ताले लगानी बोर्डमा सिधै आयोजना दर्ता (आवदेन) गर्न सक्नेछ, र उक्त आयोजनाको स्वीकृति प्रक्रिया एकीकृत रूपमा एकल बिन्दु सेवामार्फत अघि बढ्नेछ', उनले भने । 

४-  अस्ट्रेलियाले भारतविरुद्धको टी-२० सिरिजको दोस्रो खेल जितेको छ । शुक्रबार सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ४ विकेटले परजित गरेको हो । भारतले दिएको १२६ रनको लक्ष्यपछाएको अस्ट्रेलियाले १३.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियाका लागि कप्तान मिचेल मार्शले सर्बाधिक ४६, ट्राभिस हेडले २८ र जोश इंगलिसले २० रन बनाएका थिए । त्यस्तै भारतीय बलर जसप्रित बुमराह, वरुण चक्रवर्ती र कुलदीप यादवले २-२ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले १८.४ ओभरमा अलआउट हुदै १२५ रन बनाएको थियो । भारतका लागि अभिषेक शर्माले ६८ रन बनाएका थिए भने हर्षित रानाले ३५ रन बनाएका थिए । यो जितपछि ५ खेलको सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता हासिल गरेको छ । सिरिजको पहिलो खेल बर्षाले रद्ध भएको थियो । अब सिरिजको तेस्रो खेल आइतबार होबर्टमा हुने तालिका रहेको छ ।

५- काठमाडौं महानगरपालिकाले फोहोरमैला घर कम्पाउण्डमा सुरक्षित राख्न आग्रह गरेको छ । महानगरपाकिाकाले शुक्रबार सूचना जारी गर्दै आफ्नो घरबाट निस्किएको फोहोरमैला घर कम्पाउण्डमा नै सुरक्षित तवरणले राख्न आग्रह गरेको हो । महानगरपालिकाले दिएको जानकारी अनुसार बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध उत्पन्न भएको कारण हालका लागि फोहोर संकलन तथा विसर्जन गर्न नसकिएको हो । महानगरले अर्को सूचना प्रकाशित नभएसम्म घर, कम्पनी तथा संस्थाहरूले आफ्नो फोहोर अस्थायी रूपमा सुरक्षित राख्न आग्रह गर्दै सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध गरिएको र स्वच्छता कायम राख्न सबैलाई अनुरोध गरेको छ । यसैबीच बन्चरेडाँडामा फोहोर फाल्न अवरोध भएको विषयमा स्थानीय, जिल्ला प्रशासन कार्यालय र मन्त्रालयबीच छलफल भइरहेको छ ।

६- दक्षिण अफ्रीकाका पुर्व कप्तान फाफ डु प्लेसिस एनपीएलमा विराटनगर किंग्सबाट खेल्ने भएका छन् । फाफले दोस्रो सिजनको एनपीएलका लागि विराटनगर किंग्ससँग सम्झौता गरेका हुन् । आइपिएलमा लामो समय रोयल च्यालेन्जर्स बैंगलुरुबाट खेलेका फाफ यस बर्ष दिल्ली क्यापिटल्सबाट खेलेका थिए । सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसी, बशीर अहमद, सुवास भण्डारी, नरेन भट्ट, सुर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर रानालगायतका खेलाडी रहेका छन् ।

७- अखिल नेपाल फुटबल संघ (एन्फा) ले संघका वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्कालाई आगामी साधारण सभा सम्मको लागि निलम्बन गरेको छ । शुक्रबार बसेको संघको कार्यसमितीको आपतकालीन भिडियो कन्फेरेन्स बैठकले वरिष्ठ उपाध्यक्ष खड्काले विधानविरुद्धको गतिविधी गर्दै संघको विरुद्धमा गम्भिर अनुशासन उल्लघंन गरेको र संघको वरिष्ठ उपाध्यक्षको गरीमा र मर्यादा कायम नगरी संघ र नेपाली फुटबल खेलको विकासमा आघात पुर्याउने कार्य गरेकोले विधानको धारा ३८ को १४ बमोजिम निज संघका वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्कालाई आगामी साधारण सभा सम्मको लागि निलम्बन गरिएको जनाएको छ । एन्फाले भनेको छ:  अखिल नेपाल फुटबल संघ एन्फाको आज मिति २०८२ कार्तिक १४ गते विधानको धारा ३९ को २ र ६ बमोजिम संघको कार्यसमितीको आपतकालीन भिडियो कन्फेरेन्स बैठक बस्यो । संघका वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्काले संघको विधान विरुद्ध निजलाई कुनै वैधानिक अधिकार नभएको तर संघको लेटरहेड, छाप, चलानी नम्वर दुरुपयोग गरी संघको महासचिव निलम्वनको दुसप्रचार गर्ने कार्य, विभिन्न समयमा पत्रकार सम्मेलन गरी संघ र संघको पधाधिकारीहरुलाई निराधार गाली गलोज, आधारहिन आरोप, दुष्प्रचार गर्ने कार्य, सि डिभिजन क्लबहरुलाई बिना प्रमाण खेल मिलेमतोको आरोप लगाउने कार्य लगायत विधान विरुद्ध फिफा, एएफसी लगतयतका अन्य निकायहरुमा इमेल तथा पत्रचार गरी पटक पटक संघको विधान विरुद्धको गतिविधी गर्दै संघको विरुद्धमा गम्भिर अनुशासन उल्लघंन गरेको र संघको वरिष्ठ उपाध्यक्षको गरीमा र मर्यादा कायम नगरी संघ र नेपाली फुटबल खेलको विकासमा आघात पुर्याउने कार्य गरेकोले विधानको धारा ३८ को १४ बमोजिम निज संघका वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्कालाई आगामी साधारण सभा सम्मको लागि निलम्बन गरिएको छ ।

८- नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन् । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले खड्कालाई प्रशिक्षकको नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । सिनियर महिला फुटबल टिमका पूर्व मुख्य प्रशिक्षक खड्का एन्फाको ‘टेक्निकल डाइरेक्टर’ पनि हुन् । खड्काले नेपालको आगामी एएफसी एसियन कप छनौटका खेलमा नेपालको प्रशिक्षकको भूमिका निभाउने छन् । फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएपछि खाली रहेको प्रशिक्षकमा अन्तरिम रुपमा खड्कालाई नियुक्त गरिएको छ । रसलाई गत फागुनमा एक बर्षका लागि नियुक्त भएपनि आफ्नो कार्यकाल पुरा नहुदै राजीनामा दिएका हुन् । रसलाई एन्फाले २०८१ फागुन १८ गते राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो ।

९- नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ । खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा आज समिति गठनको निर्णय गरेकी हुन् । समितिमा क्याप्टेन कुलबहादुर लिम्बु विज्ञ सदस्य चयन भएका छन् भने मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले सदस्य सचिवको काम गर्नेछन् । समितिले एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न कार्यादेश दिइएको छ । खुला प्रतिस्पर्धाबाट नयाँ महाप्रबन्धक नियुक्त नभएसम्मका लागि निगमकै वरिष्ठतम् कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धक भई काम गर्ने भएका छन् । यसैगरी निगमको सञ्चालक समिति अध्यक्षको काम अर्को व्यवस्था नभएसम्म उपाध्यक्ष विक्रम राईले गर्ने मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए ।

१०- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतको राहदानी रोक्का र काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी स्थान हदको रिटमा १५ दिनभित्र लिखित जवाफको आदेश दिएको छ । शुक्रबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सो रिटमा प्रारम्भिक सुनुवाइपछि कारण देखाउ जारी गर्दै सरकारसँग लिखित जवाफ मागेको हो । अधिवक्ता डा. प्रेमराज सिलवालले कात्तिक १२ गते दायर गरेको रिटमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलगायतमाथि गैरकानुनी कार्य, आदेश र पत्रहरू खारेज गरी संवैधानिक र कानुनी अधिकारको संरक्षण गर्न अन्तरिम आदेश माग गरिएको थियो । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोेगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन मुख्य निर्देशक हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको राहदानी रोक्का गर्न सिफारिस गरेबमोजिम सरकारले स्थान हद तोक्ने र राहदानी रोक्का गर्ने निर्णय गरेको थियो ।   

११- सरकारले भिजिट भिसासम्बन्धी यस अघिको ६ बुँदे मापदण्ड खारेज गर्दै नयाँ मापदण्ड लागु गरेको छ । अध्यागमन विभागले यसअघिको ६ बुँदे मापदण्ड खारेज गर्दै नयाँ मापदण्ड लागू गरेको जानकारी दिएको हो । संविधानप्रदत्त नागरिकका मौलिक हक, व्यक्तिको मानवअधिकार र स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउने अधिकारको प्रत्याभूति गर्न र स्वार्थ समूहका चलखेललाई निरुत्साहित गर्दै भिजिट भिसाका नाममा हुने गरेका गलत क्रियाकलापहरू नियन्त्रण गरी अध्यागमन प्रशासनमा सुशासन तथा व्यावसायिकता प्रवर्द्धन गर्ने भन्दै नयाँ मापदण्ड लागु गरिएको अध्यागमन विभागले जानकारी दिएको छ । छ बुँदे मापदण्ड पुनरावलोकन गर्न सिफारिस गरिए बमोजिम २०८० माघ १० देखि लागू भएको छ बुँदे मापदण्डलगायत विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरू खारेज गरिएको अध्यागमन विभागले जनाएको छ । मन्त्रीस्तरीय निर्णयबाट बिहीबारदेखि चार बुँदे नयाँ प्रावधान लागू गरिएको छ । जसमा कम्तीमा ६ महिना वैध अवधी भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने, प्रस्थान गर्ने गन्तब्यसम्मको हवाइ टिकट र आफू भ्रमण गर्ने प्रयोजनको लागि जान लागेको, सोको लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयम् जिम्मेवार रहने समेत व्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्वःघोषणा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । अध्यागमन विभागले कुनै पनि बिचौलियाको प्रभावमा नपर्न समेत आग्रह गरेको छ ।

१२- नेपाली काँग्रेसको आजको बैठक स्थगित भएको छ । अब अर्को बैठक आइतबार बस्ने भएको छ । महाधिवेशनको कार्यतालिका बैठकमा पेश गर्ने विषयमा कार्यवाहक सभापति र महामन्त्रीद्वयबीच सहमति हुन नसकेपछि आजको बैठक स्थगित गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । आजको बैठक हुने समय अघि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच छलफल भएको थियो । तर छलफलमा सहमति हुन नसकेपछि कांग्रेसको विवाद अझ बढ्ने संकेत देखिएको छ । कांग्रेसमा अहिले नियमित महाधिवेशन गर्ने की विशेष महाधिवेशन गर्ने र कहिले गर्ने भन्नेमा विवाद रहेको छ । संस्थापन पक्ष तत्काल महाधिवेशनमा जान चाहेको छैन भने दुई महामन्त्री र शेखर कोइराला पक्ष तत्काल महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको छ । कांग्रेसको अहिलेको कार्यसमितिको पदावधि मङ्सिर महिनासम्म रहेको छ भने बिधानमा एक बर्ष पदावधि थप्न सकिने वयवस्था रहेको छ । त्यस्तै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनका लागि असोज २९ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा निवेदन दिइसकेको सन्दर्भमा विशेष महाधिवेशन बोलाउनुपर्ने दबाबमा यो केन्द्रीय समितिको बैठक रहेको छ । 

१३-  नेकपा एकीकृत समाजवादी फुटको संघारमा पुगेको छ । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग एकताको प्रक्रिया अगाडी बढाएपछि सम्मानित नेता झलनाथ खनालसहितका दर्जनभन्दा बढी नेता यस एकताको विपक्षमा उभिएका हुन् ।

एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्नु पर्ने र एमालेमै फर्किने वा पार्टी पुनर्गठन गर्ने गरि दुई स्पष्ट धार देखा परेको छ । केन्द्रीय समितिको बैठकमा अध्यक्ष नेपालले विचार मिल्नेसँग एकता गर्न ढिला गर्न नहुने भन्दै माओवादी केन्द्रसँग छिटो एकता हुने संकेत गरेका थिए । अध्यक्ष नेपालको धारणाको विपक्षमा सम्मानित नेता खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसालसले आफ्नो धारणा राखेका थिए । त्यस्तै स्थायी कमिटी सदस्यमा विजय पौडेल, रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ, पोलिटब्युरो सदस्य लक्ष्मण लम्साल, शिव भण्डारी, अब्दुल हुसैन, अशेष घिमिरे, दामोदर अर्याल, पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी र केन्द्रीय सदस्य आरती लामासहितका नेताहरु माओवादी केन्द्रसँगको एकताको विपक्षमा उभिएका छन् । केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकताबारे निर्णय गरे पार्टी फुट्नसक्ने संकेत नेतृ झाँक्रीले सामाजिक सञ्जालआमा लेखेकी छन्: 'व्यक्तिको आवश्यकता र व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ, इतिहासको वास्तविकता यस्तै छ । मान्छे नै थपेर बहुमत पुर्‍याउन त सकिन्छ तर त्यस्तो बहुमतले सबैको भावना बोक्छ भन्नेचाहिँ होइन ।’

१४- प्रधानमन्त्री सुशिला कार्कीले वैदेशिक रोजगार व्यवसायीका लागि मलेसियाको नयाँ मापदण्डबारे श्रम, अर्थ, परराष्ट्र र कानुन मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेकी छन् । सिंहदरबारमा भएको छलफलमा मलेसियाले पठाएको १० बुँदे मापदण्ड प्रस्ताव मात्र भएको र यही नै अन्तिम नभएको विषयमा चर्चा भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । अन्तिम प्रस्ताव नभएकाले द्विपक्षीय वार्ताका माध्यमबाट नेपाली श्रमिक र व्यवसायी दुवैको अधिकतम हित हुने गरी मर्यादित र सुरक्षित रोजगारी सुनिश्चित गर्ने निष्कर्ष निकालिएको छ । छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, श्रम सचिव कृष्णहरि पुष्कर लगायत विभिन्न सरोकारवाला निकायका उच्च अधिकारीको उपस्थिति थियो ।

१५- बेलायतका राजकुमार एन्ड्रयूको 'राजकुमार' उपाधि गुमेको छ । दोषी ठहरिएका यौन अपराधी जेफ्री एपस्टाइनसँगको सम्बन्धको बारेमा हप्ताहरूको गहन छानबिन पछि बकिङ्घम प्यालेसले राजपरिवारको निर्णय सार्बजनिक गरेको हो । बिहीबार राति जारी गरिएको एक विज्ञप्तिमा, बकिङ्घम प्यालेसले राजाको भाइ अब एन्ड्रयू माउन्टबेटन-विन्डसरको रूपमा चिनिने बताउदै उनको उपाधि खोसिएको जानकारी दिएको हो । यस महिनाको सुरुमा, एन्ड्रयूले आफ्नो व्यक्तिगत जीवनको बारेमा प्रश्नहरूको बीचमा योर्कको ड्यूक सहित आफ्ना अन्य शाही उपाधिहरू पनि त्यागेका थिए । भर्जिनिया गिफ्रेको मरणोपरान्त जीवनी यस महिनाको सुरुमा प्रकाशित भएको थियो । पुस्तकमा भर्जिनियाले किशोरावस्थामा राजकुमार एन्ड्रयूसँग तीन अलग-अलग अवसरहरूमा यौन सम्बन्ध राखेको उल्लेख छ, यद्यपि, एन्ड्रयूले सधैं यी सबै दावीहरूलाई अस्वीकार गर्दै आएका थिए । पछिल्ला घटनाक्रमहरूमा प्रतिक्रिया दिँदै, गिफ्रेको परिवारले उनले आफ्नो सत्यता र असाधारण साहसले एक ब्रिटिश राजकुमारलाई आफ्नो खुट्टामा ल्याएको प्रतिक्रिया दिएको छ । गिफ्रेले यस वर्षको सुरुमा आत्महत्या गरेकी थिइन् । यसैबीच, बकिङ्घम दरबारले विज्ञप्तिमा राजाले "ज औपचारिक रूपमा राजकुमार एन्ड्रयूलाई उनको उपाधि, सम्मान र सम्मानबाट वञ्चित गर्ने प्रक्रिया सुरु गरेको उल्लेख गरेको छ । बकिङ्घम दरबारले रोयल लजको भाडा फिर्ता गर्न औपचारिक सूचना जारी गरिएको जनाएको छ ।

१६- चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्बजनिक गरेको ऋण प्रतिवेदन अनुसार गत असार मसान्त सम्म २६ खर्ब ७४ अर्ब चार करोड सरकारी ऋण रहेकोमा असोज मसान्तसम्म बढेर २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको हो ।  योसँगै सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको ४४.६१ प्रतिशत पुगेको छ । कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५३. ०९ प्रतिशत अर्थात् १४ खर्ब ४६ अर्ब ५८ करोड रहेको छ भने आन्तरिक ऋणको हिस्सा ४६. ९१ प्रतिशत अर्थात् १२ खर्ब ७८ अर्ब ७ करोड रहेको छ । चालु आर्थिक वर्षमा पाँच खर्ब ९५ अर्ब बराबर सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य रहेकोमा पहिलो तीन महिनामा एक खर्ब ८४ करोड ऋण प्राप्त भइसकेको सार्बजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ । जुन वार्षिक लक्ष्यको तुलनामा १६.९३ प्रतिशत बराबर रहेको छ । जस मध्ये आन्तरिकतर्फ ३ खर्ब ६२ अर्ब ऋण उठाउने सरकारी लक्ष्य रहेकोमा असोज मसान्तसम्ममा ९० अर्ब अर्थात् वार्षिक लक्ष्यको २४. ८६ प्रतिशत ऋण उठिसकेको छ । त्यस्तै, बाह्यतर्फ २ खर्ब ३३ अर्ब ६६ करोड बराबर उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको ४. ६५ प्रतिशत अर्थात् एक अर्ब ८४ करोड बराबर मात्रै उठ्न सकेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा सरकारी ऋणको साँवा ब्याज तिर्न सरकारले यस वर्ष ४ खर्ब ११ अर्ब एक करोड बराबर बजेट विनियोजन भएकोमा आश्विन मसान्तसम्म एक खर्ब ९ र्ब ८९ करोड बराबर भुक्तानी भइसकेको उल्लेख छ  । यो वार्षिक बजेट विनियोजनको आधारमा २६. ७४ प्रतिशतको हो । कूल गार्हस्थ्य उत्पादनका आधारमा असोज मसान्तसम्ममा कूल ऋण सेवा खर्च एक दशमलव ८० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

१७- सरकारी ऐनले व्यवस्था गरे अनुसारको पारिश्रमिक भत्ता र सेवा–सुविधाको माग राख्दै आन्दोलित नर्सहरुको आन्दोलन जारी रहेको छ । शुक्रबार पनि नर्सहरुले आफ्नो कार्यस्थलमा अत्यावश्यक बाहेका सेवा बन्द गरेर दुई घण्टा प्रदर्शन गरेका छन् । आन्दोलनमा उत्रिएका नर्सहरूलाई सरकारी अस्पतालका नर्सहरूले पनि ऐक्यवद्धता जनाएका छन् । दोस्रो चरणको आन्दोलनमा रहेका नर्सहरुले नेपाल नर्सिङ संघले आव्हानमा कार्तिक १२ गतेदेखि १८ गतेसम्म बिहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा अत्यावश्यक सेवा बाहेक नर्सिङ सेवा बन्द गरेर विरोध गरिरहेका छन् । उनीहरुले कार्तिक १८ गते स्वाथ्य मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदन अनुसार थप आन्दोलनका कार्यक्रम सार्बजनिक गर्ने बताएका छन् । मानव जीवनसंग प्रत्यक्ष जोडिएको संवेदनशील स्वास्थ्य सेवामा कार्यरत दक्ष नर्सिङ जनशक्तिलाई जीविकोपार्जन समेत गर्न नसकिने गरी अति न्युन तलव सुविधा दिई काम लगाएको विरुद्धमा नेपाल नर्सिङ संघले नेपाल सरकारले तोकेको न्युनतम तलव तथा सुविधा उपलब्ध गराउनुपर्छ भन्दै पटक पटक सम्वन्धित निकायमा ध्यानाकर्षण गराउँदै थियो । नर्सिङ संघले संयमित रुपले गरिएको अनुरोधलाई सम्वन्धित निकायवाट पालना नभएकोले देशै भरका स्वास्थ्य शिक्षण सस्था, निजी, सामुदायिक, सरकारी तथा गैर सरकारी अस्पतालका नर्स एवं अन्य स्वास्थ्यकर्मीहरु आफु कार्यरत संस्थासंग न्युनतम सेवा सुविधाको माग गर्दै आन्दोलित भएको बताएको छ । संघले मन्त्रालय निरन्तर समाधान तर्फ लागिरहेता पनि मागको सम्वोधन हुन सकेको नसकेको जनाएको छ । नर्सिङ संघले कार्तिक २ गते आफ्ना १५ बुँदे मागसहित आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको थियो । जस अन्तर्गत कार्तिक ४ गतेदेखि ११ गतेसम्म देशभरका सम्पूर्ण अस्पतालमा कालो पट्टि बाँधेर काम गरेका थिए ।

१८- जोमसोम-कागबेनी सडकमा पिच रोड भासिएर पूर्ण रूपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण जोमसोमदेखि कागबेनी जाने सडकखण्डको पिच रोड आज बिहान भासिएर भत्किएकाले सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कागबेनी जाने सडकमा माथिबाट लेदोसहितको पहिरो खसिरहेको छ । पहिरो खसिरहेको कारण यो बाटो हुँदै कागबेनी, मुक्तिनाथ र अपर मुस्ताङ यात्रा गर्न नसकिने प्रहरीले जनाएको छ ।

१९-  नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको २७ सयले बढेर तोलाको २ लाख ३९ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ३६ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८०  रुपैयाँले बढेर ३०६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २९८० मा कारोबार भएको थियो ।

२०- श्रीलंकाको पछिल्लो जनसंख्या प्रतिवेदनले देशको सामाजिक र जनसांख्यिकीय अवस्थाको नयाँ तस्वीर प्रस्तुत गरेको छ । २०२४ को जनगणना अनुसार, देशको कुल जनसंख्या २ करोड १७ लाख छ, जसमा महिला ५१.७ प्रतिशत र पुरुष ४८.३ प्रतिशत रहेका छन् । यो तथ्याङ्कले अब देशको जनसंख्याको आधाभन्दा बढी महिलाहरू रहेको देखाएको छ । विज्ञहरूले यसलाई शिक्षा, स्वास्थ्य सेवा र महिला सशक्तिकरणमा भएको सुधारको महत्वपूर्ण सूचक मानेका छन् । प्रतिवेदन अनुसार, शहरी क्षेत्रमा महिलाहरूले जनसंख्याको ५१.९ प्रतिशत प्रतिनिधित्व गर्छन्, जबकि ग्रामीण र इस्टेट (चिया बगान) क्षेत्रहरूले क्रमशः ५१.७ र ५१.४ प्रतिशत प्रतिनिधित्व गर्छन् । पुरुषहरूले शहरी क्षेत्रमा ४८.१ प्रतिशत, ग्रामीण क्षेत्रमा ४८.३ प्रतिशत र इस्टेट क्षेत्रमा ४८.६ प्रतिशत प्रतिनिधित्व गर्छन् । यो प्रवृत्तिले महिला जनसंख्यामा भएको वृद्धि देशभर समान रूपमा वितरित भएको संकेत गर्छ । जनसंख्या विज्ञहरूका अनुसार, यो परिवर्तन शिक्षा र स्वास्थ्य सेवामा भएको सुधार, मातृ मृत्युदरमा आएको गिरावट र महिलाहरूको बढ्दो आयुद्वारा प्रेरित रहेको छ । जनगणना तथा तथ्याङ्क विभागको प्रतिवेदनले अर्को ठूलो सामाजिक परिवर्तन देखाएको छ । जसमा १५ वर्ष मुनिको जनसंख्या २०१२ मा २५.२ प्रतिशतबाट घटेर २०२४ मा २०.७ प्रतिशतमा पुगेको छ, जसको अर्थ देशको युवा जनसंख्या द्रुत गतिमा घट्दै गएको छ । साथै, ६५ वर्षभन्दा माथिका नागरिकहरूको संख्या ७.९ प्रतिशतबाट बढेर १२.६ प्रतिशत पुगेको छ । विज्ञहरूका अनुसार, यो परिवर्तनले श्रीलंका 'वृद्ध समाज' तर्फ अघि बढिरहेको संकेत गर्छ, जसको अर्थ जन्मदर घट्दै जाँदा वृद्धवृद्धाको संख्या द्रुत गतिमा बढिरहेको छ । १५ देखि ६४ वर्ष उमेर समूहका काम गर्ने जनसंख्यामा पनि थोरै गिरावट आएको छ, २०१२ मा ६६.९ प्रतिशतबाट अहिले ६६.७ प्रतिशत पुगेको छ । जातीय रूपमा, सिंहली समुदाय श्रीलंकामा सबैभन्दा ठूलो समूह हो, जसको जनसंख्या ७४.१ प्रतिशत छ । यसपछि श्रीलंकाली तमिलहरू १२.३ प्रतिशत, मुस्लिमहरू १०.५ प्रतिशत र भारतीय मूलका तमिलहरू २.८ प्रतिशत रहेका छन् । त्यस्तै बर्गर, मलाय, श्रीलंकाली चेट्टी, भरत र आदिवासी वेद्दा समुदायहरू ०.३ प्रतिशत छन् । यी तथ्याङ्कहरूले देशको जातीय विविधता कायम रहेको संकेत गर्दछ, यद्यपि सिंहली बहुमत भएको समाज सधैं जस्तै बलियो नै दखिएको छ । धर्मको हिसाबले, श्रीलंकामा बौद्ध धर्मावलम्बीहरू बहुमतमा छन्, जसको संख्या ६९.८ प्रतिशत छ । हिन्दूहरू १२.६ प्रतिशत, मुस्लिमहरू १०.७ प्रतिशत, रोमन क्याथोलिकहरू ५.६ प्रतिशत र ईसाईहरू १.३ प्रतिशत रहेका छन् ।

शुक्रबार​ १५ कात्तिक २०८२ ०९:२२ PM मा प्रकाशित

प्रतिक्रिया