×

गठबन्धनमा सन्तुलित ढङ्गबाट सिट बाडफाँट गर्नुपर्छ : अध्यक्ष नेपाल

images

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान रक्षाका लागि विगतमा आफूहरूले राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिकाको अवमूल्यन गर्न खोजिए त्यो स्वीकार्य नहुने बताउनुभएको छ ।

युवा सङ्घ नेपालले आजदेखि आयोजना गरेको मेची–महाकाली जागरण अभियानको शुभारम्भ कार्यक्रममा  अध्यक्ष नेपालले गठबन्धनमा आफूहरूलाई अपमान गर्न खोजिएको भन्दै फाइदा नहुने गठबन्धन गरेर आफ्नो पार्टी कसैका लागि भ¥याङ मात्र नहुने बताउनुभयो । आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले सन्तुलित तथा न्यायोचित ढङ्गबाट सिट बाँडफाँट गर्नुपर्ने उहाँको भनाइ थियो ।  

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले गाउँगाउँमा मतदाता शिक्षा दिनुपर्नेमा जोड दिँदै मतदातालाई शिक्षित बनाउन नसक्दा स्थानीय तह निर्वाचनमा आफूहरूले लाखौँ मत गुमाएको बताउनुभयो ।
आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई आ–आफ्नो जिल्लाको निर्वाचन क्षेत्रमा जान निर्देशन दिँदै उहाँले भन्नुभयो, “यो काठमाडौँमा पलेँटी कसेर बस्ने काम नगर्नुहोस्, आ–आफ्नो जिल्ला जानुहोस्, आ–आफ्नो निर्वाचन क्षेत्रमा जानुहोस् । निर्वाचन लक्षित कार्यक्रम गर्नुहोस् ।”

प्रत्येक निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीको प्रत्यक्ष उम्मेदवार नभए पनि समानुपातिकमा पार्टीका पक्षमा मतदातालाई आकर्षित गर्नुपर्ने उहाँको भनाइ थियो ।

युवा सङ्घ नेपालले संविधान र लोकतन्त्रको रक्षा गर्दै स्थायित्व, विकास र अग्रगमनको आशा जगाउन, जनतामा सकारात्मक सन्देश प्रवाह गर्न आजदेखि भदौ २३ गतेसम्म मेची–महाकाली अभियान सुरु गरेको छ ।
युवा पलायनलाई रोक्न, राजनीतिप्रति उत्साह बढाउनका साथै भ्रष्टाचार विरुद्ध गतिविधि सञ्चालन गर्न र समाजवादी यात्रामा आम जनसमुदायलाई एकताबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहका लागि अभियान सञ्चालन गरिएको जनाइएको छ ।

अध्यक्ष नेपालले अभियानका प्रतिनिधिलाई युवा सङ्घको झण्डा हस्तान्तरण गरी अभियानको प्रारम्भ गर्नुभएको हो । 

बुधबार १५ भदौ २०७९ ०८:५८ PM मा प्रकाशित

प्रतिक्रिया