×

एनपीएल उद्घाटन खेल: लुम्बिनी लायन्ससामु सुदूरपश्चिम रोयल्स निरिह, ८८ रनको सामान्य लक्ष्य

images

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससामु अत्यन्तै निराशाजनक ब्याटिङ प्रदर्शन गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्स लुम्बिनीका बलरहरूको घातक बलिङसामु निरिह बन्दै १७.२ ओभरमा मात्र ८७ रनमा अलआउट भयो। अब लुम्बिनी लायन्सले उद्घाटन खेल जित्नका लागि ८८ रनको सामान्य लक्ष्य पछ्याउनेछ।

कप्तान ऐरीबाहेक सबै ब्याटर असफल

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रनको योगदान दिए। उनले २३ बल खेल्दै टोलीको इनिङ्सलाई सम्हाल्ने प्रयास गरे पनि अर्कोतर्फबाट निरन्तर विकेट खसिरह्यो। कप्तान ऐरीबाहेक शैफ अली जैबले १४ बलमा १३ रन जोड्नु बाहेक सुदूरपश्चिमका अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्क समेत छुन सकेनन्।

टोलीका प्रमुख ब्याटरहरू विनोद भण्डारी ९ रन, इशान पाण्डे ७ रन, ब्रान्डन म्याकमुलेन २ रन र शेरफन रदरफोर्ड मात्र १ रनमा आउट भए। त्यस्तै आरिफ शेख, स्कट कुगेलेइन र हेमन्त धामी खाता नै नखोली शून्य रनमा पभेलियन फर्किएपछि सुदूरपश्चिम सस्तैमा समेटिएको हो।

लुम्बिनीका किशोर महतो र शेर मल्लको घातक बलिङ

सुदूरपश्चिमलाई सस्तो योगफलमा रोक्न लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। लुम्बिनीका लागि तीव्र गतिका बलर किशोर महतोले घातक बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए। त्यस्तै, स्पिनर शेर मल्लले ३ विकेट लिँदै सुदूरपश्चिमको मध्यक्रम ध्वस्त पारे।

लुम्बिनीका अन्य बलरहरू शाड्ली भान, तिलकराज भण्डारी र कप्तान रोहितकुमार पौडेलले पनि समान १-१ विकेट लिँदै सुदूरपश्चिमलाई सस्तोमा समेट्न महत्त्वपूर्ण भूमिका खेले।


सोमबार १० कात्तिक २०८३ ०६:४० PM मा प्रकाशित

प्रतिक्रिया