काठमाडौँ। सुनसरीबाट सुरु भई मधेश प्रदेशका सिरहा र सप्तरी लगायतका जिल्लाहरूमा फैलिएको धार्मिक तथा साम्प्रदायिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सत्तारूढ घटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। पार्टीका कार्यवाहक महासचिवद्वारा शुक्रबार जारी गरिएको विशेष वक्तव्यमा देशको संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय एकता र वर्षौँदेखिको सामाजिक सद्भावमाथि प्रहार गर्न खोज्ने प्रतिगामी षड्यन्त्रलाई बेलैमा असफल पार्न आम नेपाली नागरिक र राजनीतिक दलहरूलाई अपिल गरिएको छ।
नेकपाले तराई-मधेशमा भइरहेका पछिल्ला अराजक, हिंसक र सामाजिक द्वेष फैलाउने गतिविधिहरू स्वतःस्फूर्त नभई गम्भीर राजनीतिक षड्यन्त्रको हिस्सा भएको ठहर गरेको छ। नेकपाद्वारा जारी वक्तव्यमा सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका झडप तथा प्रदर्शनका क्रममा नागरिकले ज्यान गुमाउनुपरेको घटनाप्रति दुःख व्यक्त गर्दै संयमता अपनाउन आग्रह गरिएको छ।
संघीयता, धर्मनिरपेक्षता र समावेशी प्रणालीलाई नरुचाउने तत्वहरूले समाजमा साम्प्रदायिक र धार्मिक दंगा भड्काएर राजनीतिक अस्थिरता निम्त्याउन खोजेको आरोप। सदियौँदेखि कायम रहेको मधेसको रैथाने सामाजिक सहिष्णुता र सद्भावलाई कुनै पनि हालतमा खल्किन नदिन स्थानीय समुदायलाई विशेष सतर्कता अपनाउन आह्वान। सामाजिक सञ्जालमा बढ्दै गएका भ्रामक, उत्तेजक र साम्प्रदायिक घृणा फैलाउने भिडियो तथा सरकार र आन्दोलनरत पक्षबीच भएका सम्झौताहरूको स्वागत गर्दै घटनाका मुख्य योजनाकार र दोषीहरूलाई कडा कानुनी दायरामा ल्याउन गृह प्रशासनको ध्यानाकर्षण।
केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै कर्णाली प्रदेश लगायतका क्षेत्रमा नयाँ सरकार गठन भइरहेको र देश आर्थिक सुधारतर्फ उन्मुख भइरहेको बेला मधेसलाई अशान्त बनाउने प्रयास हुनु निकै दुःखद भएको वक्तव्यमा उल्लेख छ। नेकपाले आफ्ना मातहतका सबै कमिटी, जनवर्गीय संगठन र कार्यकर्ताहरूलाई तत्काल जिल्ला र गाउँ तहमा पुगेर सद्भाव र्याली तथा सर्वपक्षीय संवाद सञ्चालन गर्न निर्देशन दिएको छ।
पार्टीले राज्यका सुरक्षा निकायहरूलाई संयमित तर दृढतापूर्वक शान्ति सुरक्षा कायम गर्न र कुनै पनि प्रकारको साम्प्रदायिक हिंसा भड्किन नदिन उच्च सतर्कता अपनाउन समेत माग गरेको छ।
प्रतिक्रिया