काठमाडौ । चलचित्र अग्निदहनको पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्रको पोस्टर सार्वजनिक गरेका हुन् । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास अग्निदहनमा आधारित रहेर मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले उक्त चलचित्र निर्माण गरेको हो ।
अग्निदहनमा कलाकारहरु प्रकाश घिमिरे, माओत्से गुरुङ, प्रमिला तुलाचन, तुलसी क्षेत्री, अनुपमा भण्डारी, ताराबहादुर गुरुङ, विष्णु बास्तोलालगायत रहेका छन् । चलचित्रको निर्देशन घनश्याम लामिछाने, सहायक निर्देशक परिच्छेद सेन र चन्द्र भण्डारीले गरेका छन् । चलचित्रको लेखन लोकमणि पौडेलको रहेको छ । चलचित्रमा छायाङ्कन दीर्घ गुरुङ, सम्पादन दीर्घ खड्का, प्रोडक्सन डिजाइनर सगर पाण्डेको रहेको छ ।
रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले चलचित्र अग्निदहनको व्यवसायिक सफताको शुभकामना व्यक्त गरे । उनले मंसिर ७ गते हलमा गएर सबैले चलचित्र हेर्नसमेत आग्रह गरे । अग्निदहनलाई सबैभन्दा बढी हेरिने चलचित्र बनाउने अभियानमा लाग्न उनले आग्रह गरे ।
पत्रकार धमलाले सामाजिक विकृति, विसंगतिको विरुद्धमा बनेका यस्ता खालका चलचित्र समाजले मन पराउँछन् भन्ने सन्देश दिन पनि यस चलचित्रको व्यापक प्रचार–प्रसार गरिनुपर्ने बताए । उनले चलचित्र अग्निदहन सन्देशमूलक रहेको बताउँदै यस्ता सामाजिक विकृति, विसंगतिको विरुद्धमा बनेका चलचित्र देशभरका हलहरुले प्रदर्शन गर्नैपर्ने भनेर निर्देशन दिन समेत मन्त्री गुरुङलाई आग्रह गरे ।
साथै, पत्रकार धमलाले सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङलाई सम्बोधन गर्दै वर्तमान अवस्थामा सञ्चार क्षेत्र धरासायी बनेको बताए । उनले नेपालको सञ्चार क्षेत्रलाई बचाइदिनसमेत आग्रह गरे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले बोक्सी प्रथा संघीय लोकतान्त्रिक गणतन्त्रको लागि ठूलो चुनौतिको रुपमा रहिरहेको बताए । उनले राजनीतिक, आर्थिक क्रान्तिसँगै अब समाजमा सांस्कृतिक क्रान्तिको आवश्यकता रहेको बताए । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियानले सरकारले गर्नुपर्ने भन्दा पनि महत्वपूर्ण काम गरिरहेको भन्दै मन्त्री गुरुङले प्रसंशा गरे ।
‘समाजको अग्रगतिका लागि सांस्कृतिक क्रान्ति जरुर हुन्छ । नेपाली समाजमा बोक्सीको आरोपमा मारिएका, मरिरहेका, दिसा खुवाइएको कुटपिट गरेको घटना अझै पनि समाजमा छ । अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेका छौं, यसका लागि त्यो ठूलो चुनौति हो,’– उनले भने ।
उनले प्रतिष्ठान नेपाललाई हिलोमा फूलेको कमलको फूलको थुङ्गाको संज्ञा दिए । मन्त्री गुरुङले बोक्सी प्रथासँगै हली, छोउपडी, हरुवा चरुवालगायतका प्रथाहरु अहिले पनि रहेको बताए । यस्ता प्रकारका समाजमा रहेको कुप्रथाहरुलाई अन्य गर्ने अभियानमा सबै सचेत वर्गहरु लाग्नुपर्ने बताए । मान्छे बोक्सी हुन्न कहिल्यै जागरण अभियानका नेपाल सरकारको पनि सहभागिता र समर्थन रहने उनले विश्वास दिलाए ।
वरिष्ठ कलाकार, निर्देशक अशोक शर्माले बोक्सी प्रथा आशंकाको भरमा घट्ने घटना रहेको बताए । वैज्ञानिक रुपमा कुनै प्रमाणित गर्न नसकिने विषयमा समाजका कमजोर मान्छेलाई बोक्सीको आरोप लगाइने उनले बताए । सामाजिक सन्देश भएका यस्ता प्रकारका चलचित्रमा सरकारको पनि सहभागिता हुन आवश्यक रहेको उनको भनाइ छ ।
चलचित्र अग्निदहनका निर्देशक लामिछानेले संस्थाको उद्देश्य पूरा हुनेगरी चलचित्र निमार्ण भएको बताए । उनले आगामी मंसिर ७ गते हलमा आएर यो चलचित्र हेरिदिन पनि आग्रह गरे । मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन चलचित्र निर्माण गरिएको उनको भनाइ छ ।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोविदचरण उपाध्ययले समाजमा अहिले पनि बोक्सीको नामा कुट्ने, पिट्ने जिउँदै जलाउने, मलमुत्र खुवाउनेलगायतका घटनाहरु घटिरहेको बताए । विशेषगरी मधेश प्रदेशमा यो कुप्रथाको प्रभाव बढी रहेको पनि उनले बताए । उनले नेपालमा बोक्सी प्रथा उन्मुलनका लागि यो चलचित्र बनाइएको बताए । ‘जसरी सति प्रथा उन्मुलन भएको थियो, त्यसरी अब नेपाली समाजबाट बोक्सी कुप्रथालाई जरैदेखि उखेलेर फाल्नुपर्छ,’– उनले भने । चलचित्रका लेखक लोकमणि पौडेलले यसअघि पनि प्रतिष्ठानको बोक्सी प्रथाको विरोधमा थुप्रै कामहरु गरिसकेको जानकारी गराए ।
प्रतिक्रिया