×

काठमाडौं, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि

images

काठमाडौं । देशभर यसवर्ष हालसम्म २० जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौं, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जानकारी दिएका छन् ।

उनले शहरी क्षेत्रमा बढ्दो जनघनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका घटनाले पानी तथा सरसफाइका पूर्वाधारमा पार्ने नकारात्मक असरका कारण नेपालमा हैजाको सङ्क्रमण देखिने गरेको बताए ।

अति सङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी लाग्ने, वान्ता हुने र कडा जलवियोजन हुने गर्दछ । सङ्क्रमणले गम्भीर अवस्थामा पुर्‍याउँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रङ्ग पहेँलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनसक्ने मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले बताए ।

झिगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खुलास्थानका खाद्यपदार्थ नखान, पानीलाई उमालेर वा क्लेरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुका साथै दिशापिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात हुन मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

 

बुधबार १६ साउन २०८१ ०८:०९ AM मा प्रकाशित

प्रतिक्रिया