काठमाडौं । सर्वोच्च अदालतको नेतृत्व अब सपना प्रधान मल्लले गर्ने भएकी छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अवकास हुन भएपछि सर्वोच्चको वरिष्ठतम न्यायाधीश मल्लले बुधबारदेखि कामु प्रधानन्यायाधीशका रुपमा काम सुरु गर्न लागेकी हुन् ।
राउतको आजै विदाई कार्यक्रम तय भएको छ । राउत न्यायाधीशको ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकास हुन लागेका हुन् । राउत २०८१ असोज २० गते प्रधानन्यायाधीश नियुक्त भएका थिए । त्यसको ८ वर्ष पहिले उनी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । त्यसअघि उनी वरिष्ठ अधिवक्ता थिए ।
सर्वोच्चको नेतृत्व गर्ने सपना दोस्रो महिला न्यायाधीश हुन् । यसअघि सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन् । सपनाले तत्काललाई भने कामु प्रधानन्यायाधीशका रुपमा काम गर्नेछिन् । प्रधानन्यायाधीश नियुक्तीका लागि न्यायापरिषद्को बैठकले उनीसहित ६ जना न्यायाधीशको नाम सिफारिसस गरिसकेको छ ।
तर अहिले संवैधानिक परिषद्मा सदस्यहरु रिक्त रहेकाले तत्कालै प्रधानन्यायाधीश नियुक्तीको संभावना छैन । प्रधानमन्त्रीको नेतृत्वमा रहने संवैधानिक परिषद्मा सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता र सर्वोच्च अदालतका प्रधानन्यायाधीश रहेन व्यवस्था छ । हाल यी मध्ये प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्ष मात्रै छन् ।
प्रतिक्रिया