×

चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई प्रधानमन्त्री ओलीको बिफ्रिङ

images

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्रीको आसन्न औपचारिक चीन भ्रमणको बारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणा राष्ट्रपति पौडेललाई भेट्न शनिबार साँझ शीतल निवास पुगेको राष्ट्रपति कार्यलयका एक अधिकारीले जानकारी दिए । उक्त अवसरमा प्रधानमन्त्री ओलीले चीन भ्रमण र नेपालले चीनसँग गर्न लागेको बीआरआई सहकार्य फ्रेमवर्कको सम्झौता र अन्य द्विपक्षीय विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराए ।

साथै, परराष्ट्रमन्त्री राणाले आफ्नो तीन दिने चीन भ्रमण र त्यहाँ चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएका छलफल र कुराकानीको बारेमा जानकारी गराएकी थिइन् । यसअघि भ्रमणको पूर्वसन्ध्यामा सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काङ्ग्रेसका शीर्ष दल र संयन्त्रस्तरमा विभिन्न चरणमा ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआई) लगायत दुई मुलुकका सहयोग र सहकार्यका सम्भावित विषयमा घनीभूत छलफल भएको थियो।

चीन भ्रमणमा केन्द्रित रहेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरुबीच छलफल भएको हो। आजै प्रधानमन्त्री ओलीको उपस्थितिमा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरुसँँग पनि विमर्श भएको छ। त्यस क्रममा प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने भ्रमणको मूल उद्देश्य भएकाले त्यसलाई पूरा गर्न सबैले आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिए।

“हाम्रो चीन भ्रमण सफल हुनेछ। हामी त्यसकै निम्ति भगीरथ प्रयास गर्छाैं”, प्रधानमन्त्री ओलीले भने, “राष्ट्रको गरिमा बढाउन र दुई देशबीचको मैत्रिपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनेमा हाम्रो ध्यान केन्द्रित हुनेछ।”

प्रधानमन्त्री ओलीले सोमबार (मंसिर १७) देखि २० सम्म चीनको औपचारिक भ्रमण गर्दै छन् ।

शनिबार १५ मंसिर २०८१ ०८:०२ PM मा प्रकाशित

प्रतिक्रिया