काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपालले आइसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा युएईसँग ५ विकेटले पराजित भएको छ । यो जारी सिरिजमा नेपालको लगातार दोस्रो हार हो । नेपालले दिएको २३४ रनको लक्ष्य पछाएको युएईले ४३.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । युएईको जितमा आर्यांश शर्माले सर्बाधिक ९८ रन बनाएका थिए भने आलिशान शराफुले ४५, मुहमद वसीमले २६ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर सन्दीप लामिछानेले २ विकेट लिए भने करण केसी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अल आउट हुदै २३३ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले १०९ रनको शतकीय पारी खेलेका थिए । रोहितले आफ्नो क्यारियरमा दोस्रो एकदिवसीय शतक बनाएका हुन् । त्यस्तै आसिफ सेखले ३५, आरिफ सेखले २७ र दिपेन्द्र सिंह ऐरीले २३ रन बनाएका थिए । त्यस्तै करण केसीले १३ रनको योगदान दिएका थिए । त्यसैगरी युएईका लागि जाहिद अलीले सर्बाधिक ४ विकेट लिए भने जुनैद सिद्धिकीले ३ तथा मुहमद रोहिद र हैदर अलीले एक एक विकेट लिएका थिए । यो जितपछि युएइको विश्वकप लिग-२ मा १८ खेलमा ८ अंक भएको छ र पुछारमै रहेको छ । त्यस्तै नेपाल भने १८ खेलमा १२ अंकसहित सातौं स्थानमा रहेको छ । अब सिरिजको अर्को खेल आगामी शनिबार नेपाल र अमेरिकाबीच हुदैछ ।
२- नेपाल उद्योग परिसंघले डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत महसुलका विषयमा उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच उत्पन्न परिस्थितप्रति गम्भिर ध्यानाकर्षण भएको छ । वर्षौदेखी गिजोलिएको डेडिकेटेड र ट्रङ्कलाइन सम्बन्धि विवाद समाधान गर्न परिसंघले तत्कालिन सरकारलाई एक उच्चस्तरिय आयोग बनाउन सुझाव दिएको बताउडिया निजी क्षेत्रसमेतको सुझावका आधारमा सर्वोच्च अदालतका पूर्व न्यायाधिश गिरीशचन्द्र लालको अध्यक्षतामा डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनको विद्युत महसुलको विवाद समाधानका लागि जाँचबुझ आयोग गठन भएको र सो आयोगले प्रतिवेदन सरकारलाई दिइसकेको र सरकारले समेत उक्त प्रतिवेदन सार्वजनिक समेत गरिसकेको उल्लेख गरेको छ । लामो समयदेखि यो विवाद समाधान हुन नसक्दा यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा राम्रो सन्देश प्रवाह नभईरहेको र यसको असर लगानीको वातावरणमा पर्ने हुँदा विवाद समाधान गर्न अति आवश्यक रहेको परिसंघले स्पष्ट गरेको छ । परिसंघले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको, उत्पादनमुलक उद्योगहरुले न्यून क्षमतामा वस्तु उत्पादन गरि जेनतेन उद्योग संचालन गरिरहेको अवस्थामा केही उद्योगहरुमा प्राधिकरणले विजुलीको लाइन काट्दा ती उद्योगहरु थप मर्कामा पर्नुका साथै ती उद्योगहरुमा कार्यरत श्रमिकहरु समेत मारमा परेको बताउदै विवाद समाधानका लागि तत्काल वार्ता संवादमा बस्न उद्योगी एवं सरकारसमक्ष आग्रह गरेको छ । साथै, आवश्यक परेमा सो वार्ता संवादका लागि सहजीकरण गर्न परिसंघ तयार रहेको उल्लेख गरेको छ ।
३- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति आजको बैठक सकिएको छ । आजको बैठकमा १५ जना नेताहरूले आफ्नो धारणा राखेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह लामा तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार के.सी., रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सीना, शान्ति परियार विक, लक्ष्मी खतिवडाले आफ्नो धारणा राखेका छन् । यस्तै आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुलीका साथै प्रदेश सभापतिहरू बागमतीका इन्द्रबहादुर बानियाँ र लुम्बिनीका अमरसिंह पुनले पनि धारणा राखेका थिए । अब बैठक पुनः भोलि दिउँसो १ बजे बस्नेगरी आजको बैठक टुंगिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् । भदौ २८ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठकमा सुरुको दिन सभापति शेरबहादुर देउवाले आफ्नो धारणा राखेका थिए । सोही क्रममा उनले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । त्यसपछि दोस्रो दिनको बैठक असोज ३० गते बसेको थियो । बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम चलिरहेकै बेला कात्तिक १ गते बसेर आजसम्मका लागि स्थगित गरिएको थियो । कांग्रेसमा महाधिवेशन गर्ने विषयमा संस्थापन पक्ष र अन्य पक्षबीच भइरहेको विवादका कारण यो बैठकप्रति सबैको ध्यानकेन्द्रित भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले मङ्सिर भित्र महाधिवेशन गर्न नसकिने भन्दै आएको छ भने नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत जति सक्यो छिटो महाधिवेशन गर्नुपर्ने पक्षमा रहेका छन् । यसैबीच कांग्रेसका ५३ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विशेष महाधिवेशनको समेत माग केन्द्रीय कार्यालयमा दर्ता गराएका छन् ।
४- अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भले ब्याजदर घटाउने निर्णय गरेको छ । फेडरल रिजर्भले आफ्नो मौद्रिक नीति परिवर्तन गर्दै ब्याजदर २५ आधार बिन्दु अर्थात् ०.२५ प्रतिशतले घटाएको छ । यसपछि, अमेरिकामा ब्याजदर अहिले ३.७५ देखि ४ प्रतिशतको दायरामा रहेको छ । केन्द्रिय बैंकले यसअघि सेप्टेम्बरमा दरहरू कटौती गरेको थियो । केन्द्रीय बैंकको यो कदम अमेरिकी अर्थतन्त्र सुस्त हुने संकेत देखाउँदै गर्दा आएको बताएको छ । बैंकका अनुसार रोजगारी वृद्धि सुस्त भएको छ र बेरोजगारी दरमा थोरै वृद्धि भएको छ, यद्यपि यो न्यून स्तरमा रहेको छ । बैंकले मुद्रास्फीति हालैका महिनाहरूमा फेरि बढेको र केही हदसम्म उच्च रहेको स्वीकार गरेको छ । संघीय खुला बजार समितिले आर्थिक जोखिमलाई सम्बोधन गर्दै अधिकतम रोजगारी र मूल्य स्थिरताको सन्तुलन कायम राख्नु आफ्नो लक्ष्य रहेको बताएको छ । समितिले दीर्घकालीन रूपमा २ प्रतिशतको दरमा अधिकतम रोजगारी र मुद्रास्फीति हासिल गर्ने लक्ष्य राखेको छ । समितिले थप नीतिगत परिवर्तनहरू गर्नु अघि नयाँ डेटा र विकसित आर्थिक अवस्थाहरूको नजिकबाट निगरानी गर्ने कुरामा जोड दिएको छ । केन्द्रीय बैंकले डिसेम्बर १ मा आफ्नो धितोपत्र होल्डिङमा कटौती पूरा गर्ने योजनाको पनि घोषणा गरेको छ । मौद्रिक नीतिको निर्णयमा मतदान गर्नेमा अध्यक्ष जेरोम एच. पावेल, उपाध्यक्ष जोन सी. विलियम्स, र गभर्नरहरू माइकल एस. बार, मिशेल डब्ल्यू. बोमन, सुसान एम. कोलिन्स, लिसा डी. कुक, अस्टिन डी. गुल्सबी, फिलिप एन. जेफरसन, अल्बर्टो जी. मुसल्लम र क्रिस्टोफर जे. वालर थिए ।
५- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिका, गाउँकार्यपालिकाका वरिष्ठ लेखा अधिकृत टंक बहादुर कार्कीविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ । कार्कीले सडक स्तरोन्नती योजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा एक लाख घुस लिएको प्रमाणित भएको भन्दै सोहि बराबरको रकम बिगो र कानुन अनुसारको कैद माग गर्दै विशेष अदालत काठमाडौँमा विहिबार मुद्धा दायर गरेको जानकारी दिएको छ ।
६- नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । विहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा नेपाल र जर्मनीबीच द्विपक्षीय हित र मित्रताका विषयमा विचार आदान प्रदान भएको थियो । प्रधानमन्त्रीमा कार्की नियुक्त भएपछि उनीहरुबीचको यो पहिलो भेट हो । यस क्रममा जर्मनीका राजदूत उडो भोल्जले प्रधानमन्त्री कार्कीलाई सफल कार्यका लागि शुभकामना व्यक्त गर्दै सदाझैँ नेपालको प्राथमिकताअनुसार आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिए । प्रधानमन्त्री कार्कीले धन्यवाद व्यक्त गर्दै नेपालको राहदानी छपाइको जिम्मा पाएको जर्मन कम्पनीसँग सम्झौतामा भएको मिति अगावैदेखि राहदानी छपाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरेकी थिइन् । नेपाली नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने यस कार्यमा जर्मन पक्षबाट सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरेकी थिइन् । जवाफमा राजदूत भोल्जले आफ्नो तर्फबाट कम्पनीलाई अनुरोध गरी यस विषयमा सक्दो पहल गर्ने बताए । भेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायत कूटनीतिक अधिकारीहरुको उपस्थिति थियो ।
७- अर्थमन्त्री रामेश्वरप्रसाद खनालको अध्यक्षतामा केन्द्रीय राजस्व चुहावट समितिको बैठक बसेको छ । बैठकमा अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको प्रस्तुति भएको थियो । बैठकमा राजस्व चुहावट नियन्त्रणका लागि जिल्लास्तरमा समेत समन्वयात्मक बैठक आयोजना गर्ने, राजस्व चुहावट नियन्त्रणका लागि सवैको सामूहिक प्रयास, सवै निकायहरु वीच सूचनाको आदान प्रदान, जिल्ला स्तरमा सचेतना कार्यक्रमको आयोजना गर्ने, समितिका आगामी बैठकहरु अन्य कार्यालयहरु/निकायहरुमा गर्ने र जिल्लास्तरका चुहावट नियन्त्रणमा संलग्न कार्यालयहरुलाई पनि अनलाइनमा जोडी संयुक्त रुपमा गर्ने व्यवस्था मिलाउने लगायतका विषयमा अर्थमन्त्रीले निर्देशन दिएका थिए । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृह सचिव, अर्थ सचिव, महानिरीक्षक-नेपाल प्रहरी, महानिरीक्षक-सशस्त्र प्रहरी बल नेपाल, मुख्य अनुसन्धान निर्देशक-राष्ट्रिय अनुसन्धान विभाग, महानिर्देशक-भन्सार विभाग, महानिर्देशक-आन्तरिक राजस्व विभाग, महानिर्देशक-राजस्व अनुसन्धान विभाग, महानिर्देशक- सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग लगायतको उपस्थिति रहेको थियो ।
८- रेशम चौधरी नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । बिहीबार रेशम चौधरी आफ्नो टोलीसहित आयोगको कार्यालय पुगेका हुन् । नागरिक उन्मुक्ति पार्टीबाट अलग हुने घोषणा गरेसँगै चौधरीले नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक दल दर्ता गर्ने बताएका थिए । नयाँ पार्टीमा जनमत पार्टीबाट अलग भएका अब्दुल खान र यसअघि रुपन्देही- ३ को उम्मेदवारको रूपमा अघि सारिएका उमाशंकर चौधरी पनि सहभागी छन् । पार्टीको अध्यक्षमा कबीर सोपलाई राखिएको छ ।
९- विपि राजमार्गको खुर्कोटबजार, सिन्धुलीबाट काठमाण्डौंतर्फ जाने सवारी साधन आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कार्तिक १३ गते देखि १५ गतेसम्म यस क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको र यो जिल्ला बाढी पहिरोको उच्च जोखिममा रहेको देखिएकोले कार्तिक १३ र १४ गतेका साँझ ५ बजेदेखि विहान ५ बजेसम्मको समयमा विपि राजमार्गको खुर्कोटबजार, सिन्धुली जिल्लाबाट काठमाण्डौं तर्फ जाने सवारी साधन आवागमनमा निषेध गरिएको जानकारी दिएको छ । साथै दिउँसोको समयमा भारी वर्षाको अवस्थामा सुरक्षा निकायले जुनसुकै स्थानमा (सुरक्षित रहने गरी) सवारी साधन रोक्न सक्ने जिल्ला प्राशासन कार्यालयले जनाएको छ । विशेष गरी विपि राजमार्ग र मध्यपहाडी राजमार्गमा सवारी साधन सञ्चालन गर्दा बर्षा भइरहेको अवस्थामा सवारी साधन नचलाउनु हुन अनुरोध गरिएको छ ।
१०- जिल्ला अदालत काभ्रेपलाञ्चोकले दलित अभियन्ता खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको छ । न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटीमा छोड़ने आदेश दिएको हो । अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ पुर्जी जारी भएका सुनार बिहीबार बिहानअदालतमा उपस्थित भएका थिए । सुनारले अधिवक्ता मनिषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक सञ्जालमा लाइभ बसेर गालीगलोज गरेको आरोपमा गौतमले साइबर ब्यूरोमा दिएको उजूरीका आधारमा अनुसन्धानका क्रममा सुनार फरार रहेकोकोले प्रहरीले फरार राखेर गत साउन २ गते अदालतमा मुद्दा पेश गरेको थियो । उनको मुद्दा जिल्ला अदालतमा सरकारवादी फौजदारीको रुपमा दर्ता भएको थियो । त्यसको तीन दिन पछाडि साउन ५ गते सुनारलाई पक्राउको लागि जिल्ला अदालतले सुनारको स्थायी ठेगाना भएको प्रहरी कार्यालय दैलेखमा पक्राउ गर्न पुर्जी जारी गरेको थियो । अदालतले गत साउन ५ गते ७ दिन र ३५ दिन म्याद राखेर पक्राउ पुर्जी जारी गरेको थियो ।
११- नेप्से आज बढेको छ । विहिबार नेप्से ३४.२२ अंकले बढेर २६००.३८ विन्दुमा पुगेर रोकिएको छ । आज ३१९ कम्पनिका २ करोड ६० लाख १० हजार ७१८ कित्ता शेयर ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सुपर मादी हाइड्रोको शेयरमा ९.५४ प्रतिशतले बढेको छ । त्यसैगरी आज एनआइबिएल स्टेबल फण्डको शेयर ५.७० प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी हिमालयन बैंकको प्रमोटर शेयरको एक अर्ब ६६ करोड ५० बराबरको कारोबार भएको छ भने राढ़ी विद्युत कम्पनिको ३७ करोड ६० लाख बराबरको कारोबार भएको छ ।
१२- दक्षिण कोरियामा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटवार्तामा महत्वपूर्ण सहमति भएको छ । ट्रम्पले उनी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दुर्लभ पृथ्वी खनिजहरूको बारेमा सम्झौता गरेको जानकारी दिएका छन् । जस अनुसार चीनले अर्को वर्षसम्म अमेरिकालाई दुर्लभ खनिज आपूर्ति गर्न सहमत भएको छ । वार्तामा ट्रम्पले चीनमा लगाइएको फेन्टानिल (एक लागूऔषध पदार्थ) मा कर घटाएर १० प्रतिशतमा झार्न सहमत भएको जानकारी दिएका छन् । यसबाट चीनमा अमेरिकाको कुल कर अब ५७ प्रतिशतबाट घटेर ४७ प्रतिशतमा झरेको छ । ट्रम्प र सी जिनपिङबीच दक्षिण कोरियाको बुसानमा रहेको गिम्हे एयर बेसमा भएको थियो । ट्रम्पले अमेरिका र चीनबीचको सबै विवादहरू समाधान भएको दाबी गरेका छन् । उनले चीनसँगको सम्झौता अर्को वर्षको लागि लम्ब्याउन सकिने पनि बताए, यो सम्पूर्ण विश्वको लागि लाभदायक हुने पनि बताए । ट्रम्पले उनी र सीले रूस-युक्रेन द्वन्द्व समाधान गर्न सहयोगको बारेमा पनि छलफल गरेको बताए । उनले भने- 'बैठकमा युक्रेनको मुद्दा जोडदार रूपमा उठ्यो । हामीले लामो समयसम्म कुरा गर्यौं र यस विषयमा के गर्न सकिन्छ भनेर हेर्न सँगै काम गर्नेछौं ।' ट्रम्पले वाशिंगटन र बेइजिङ धेरै मुद्दाहरूमा सहमत रहेको बताउदै अमेरिकाले फेन्टानिलको तस्करीमा लगाइएको कर तत्काल हटाउने बताए । उनले चीनले अमेरिकाबाट ठूलो मात्रामा भटमास खरिद गर्ने वाचा गरेको समेत उल्लेख गरेका छन् । यस भेटवार्तामा ताइवानको मुद्दा भने नउठेको ट्रम्पले जानकारी दिएका छन् । चीनले सधैं ताइवानको दाबी गर्दै आएको छ, यद्यपि अमेरिकाले मुख्य भूमि चीनबाट टाढा टापुको स्वायत्ततालाई निरन्तर समर्थन गरेको छ । त्यसैले, चिनियाँ राष्ट्रपतिले ट्रम्पसँग ताइवानको मुद्दा उठाउने अपेक्षा गरिएको थियो । यसैबीच ट्रम्पले आगामी अप्रिलमा चीनको भ्रमण गर्ने बताए । उनले सीले त्यसपछि अमेरिकाको भ्रमण गर्नेछन्, जहाँ उनी वाशिंगटन, डीसी, वा फ्लोरिडाको पाम बीचमा ट्रम्पको निवास भ्रमण गर्न सक्ने बताइएको छ ।
१३- कप्तान रोहित पौडेलले युएईविरुद्ध शतक प्रहार गरेका छन् । आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस जितेर नेपालले पहिला ब्याटिंग गर्ने क्रममा रोहितले शतक पुरा गरेका हुन् । रोहितले १२६ बल खेल्दै आफ्नो शतक पुरा गरेका छन् । उनको एकदिवसीय क्रिकेटमा यो दोस्रो शतक हो ।
१४- नेकपा एमाले निकट राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार आकस्मिक निधन भएको छ । विहिबार केन्द्रीय कमिटी सदस्य समेत रहेका गौतम भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक ढलेका थिए । ६५ वर्षीय गौतमलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पतालमा पुर्याइएको भएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
१५- सुडानको अल-फाशर कब्जा गरेपछि, र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) का लडाकुहरूले मुख्य अस्पतालमा सयौं नागरिकहरूको हत्या गरेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस गेब्रेयससले सुडानी शहर अल-फाशर कब्जा गरेपछि, र्यापिड सपोर्ट फोर्सेसका लडाकुहरूले मुख्य अस्पतालमा सयौं नागरिकहरूको हत्या गरेको बताएका छन् । डब्लुएचओका प्रमुख गेब्रेयससले अल-फाशर अस्पतालमा ४६० जनाको मृत्युको खबरले स्तब्ध र गहिरो दुःखी भएको बताएका छन् । यसअघि, सुडान डाक्टर नेटवर्कले मंगलबार आरएसएफ लडाकुहरूले बिरामीहरू, उनीहरूका आफन्तहरू र अन्यहरू सहित अस्पतालमा रहेका सबैलाई क्रूरतापूर्वक मारे बताएको थियो । डाक्टर नेटवर्कले संख्या प्रदान गरेन, तर शहरका धेरै अस्पतालहरूलाई 'मानव वधशाला' मा परिणत गरिएको बताएको थियो । सुडान डाक्टर नेटवर्कले आरएसएफलाई चार डाक्टर सहित छ जना स्वास्थ्यकर्मीहरूलाई अपहरण गरेको आरोप पनि लगाएको छ । सुडानको दक्षिण डार्फरको राजधानी अल-फाशर, आरएसएफ विरुद्ध लड्ने अन्तिम शहर हो ।
१६- नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरणका लागि स्वीकृति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत निर्यात लागि दिएको स्वीकृतिलाई नविकरण गरिदिएको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ । भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिश्पर्धी दरमा विद्युत बिक्री गर्न स्वीकृत पाएका ४ आयोजनाको नविकरण भएको हो । उक्त आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत आइएक्समा बिक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो । सबै आयोजनाको निर्यात गत मङ्गलबारबाट लागू हुने गरी करिब एक वर्षका लागि नविकरण स्वीकृति भएको छ । यसैगरी, द्धिपक्षीय सम्झौता बमोजिम हरियाणा राज्यलाई ४ आयोजनाबाट उत्पादित करिब १८० विद्युत बिक्री भइरहेको थियो । हरियाण राज्यलाई बिक्री गर्न दिइएको अनुमति बिहीबार (आज) सकिने छ । प्राधिकरणले हरेक वर्ष जुन—अक्टोबरमा हरियाणलाई विद्युत बिक्री गर्दछ । प्राधिकरणले हरियाणालाई विद्युत बिक्रीका लागि अनुमति पाएका आयोजनाको विद्युत आइएक्समा पनि बिक्री अनुमति मागेको थियो । भारतको केन्द्रीय विद्युत प्राधिकरणले उक्त प्रस्तावलाई स्वीकृति दिएको हो । अब ४ आयोजनाबाट उत्पादित विद्युत् शुक्रबारबाट आइएक्समा समेत निरन्तर रुपमा बिक्री गर्न पाउने भएको छ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धनआइएसएको आठौं सभामा सहभागी हुन भारतको नयाँ दिल्ली भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरसँगका भेटमा विद्युत् निर्यात स्वीकृतिको प्रक्रियालाई सरलीकृत गरिदिन आग्रह गरेका थिए । उनले नेपालमा विद्युत उत्पादनको सबैभन्दा राम्रो समय अहिले भएकाले नविकरणका लागि पठाइएको प्रस्तावलाई तत्काल स्वीकृति गरिदिन समेत आग्रह गरेका थिए ।
१७- नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोला स्थिर रहदै तोलाको २ लाख ३६ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि सुन तोलाको २ लाख ३७ हजार ३ सयमा नै कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर २९८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २९६५ मा कारोबार भएको थियो ।
१८- अभ्यासको क्रममा घाइते भएका एक युवा अस्ट्रेलियाली क्रिकेटरको मृत्यु भएको छ । १७ वर्षीय क्रिकेटर बेन अस्टिनले मेलवर्नमा नेटमा अभ्यास गरिरहेका बेला स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बलले टाउको र घाँटीमा लागेको थियो । अभ्यासको क्रममा उनले हेलमेट लगाएको विश्वास गरिएको थियो । मंगलबार घाइते हुँदा आपतकालीन सेवाहरू बोलाइएको थियो । अस्पताल लगिएपछि, बेनलाई लाइफ सपोर्टमा राखिएको थियो । त्यसपछि उपचारको क्रममा उनको बुधबार मृत्यु भयो । उनको क्रिकेट क्लब क्रिकेट भिक्टोरियाले बेन एक प्रतिभाशाली र लोकप्रिय खेलाडी भएको बताएको छ ।
१९- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् । गत फागुनमा एक बर्षका लागि नियुक्त भएका म्याट रसले आफ्नो कार्यकाल पुरा नहुदै राजीनामा दिएका हुन् । रसलाई एन्फाले २०८१ फागुन १८ गते राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो । उनको राजीनामाको कारण भने स्पष्ट भएको छैन ।
२०- क्यारिबियन क्षेत्र हाल आँधी मेलिसाको चपेटामा छ । मंगलबार जमैकामा अवतरण गरेपछि, विनाशकारी आँधी क्युबा र हैटी पुगेको छ, जसमा कम्तिमा ३० जनाको मृत्यु भएको छ र हजारौं घरबारविहीन भएका छन् । तीव्र हावाले घरका छाना उडाएको छ भने बिजुलीका पोलहरू ढालेको छ र सयौं घरहरू डुबानमा परेका छन् । जमैकाको सेन्ट एलिजाबेथ क्षेत्रमा पहिरो र बाढीले सडकहरू हिलोले ढाकेका छन् । रिपोर्ट अनुसार २५ हजारभन्दा बढी मानिसहरू राहत शिविरहरूमा छन् । टापुको ७७ प्रतिशत विद्युत आपूर्ति काटिएको छ । सरकारले राहत र उद्धार कार्यमा पूर्ण रूपमा संलग्न रहेको जनाएको छ । त्यस्तै क्युबाको स्यान्टियागो प्रान्तमा तीव्र हावा र वर्षाले विनाश मच्चाएको छ । ७ लाख ३५ हजारभन्दा बढी मानिसहरूलाई अस्थायी आश्रयस्थलमा सारिएको छ । स्थानीय मिडियाका अनुसार, धेरै अस्पताल र विद्यालयहरू क्षतिग्रस्त भएका छन् । त्यस्तै हैटी नागरिक सुरक्षा एजेन्सीका अधिकारीले धेरै दर्जन मानिसहरू अझै पनि बेपत्ता छन् । दक्षिणी तटीय शहर पेटिट-ग्वाभमा सबैभन्दा बढी क्षति भएको छ, जहाँ बाढीले दर्जनौं घरहरू ध्वस्त पारेको छ । यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्यारिबियन देशहरूमा राहत टोलीहरू तैनाथ गर्ने घोषणा गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि बढ्दो मृत्युको संख्यामा चिन्ता व्यक्त गर्दै प्रहरी र उद्धार एजेन्सीहरूले मानव अधिकारको मापदण्ड अनुसार काम गर्नुपर्ने बताएका छ । श्रेणी ५ को आँधीलाई सबैभन्दा खतरनाक श्रेणी मानिन्छ । संयुक्त राष्ट्रसंघले मेलिसा आँधीलाई शताब्दीको सबैभन्दा शक्तिशाली आँधीको रूपमा वर्णन गरेको छ । आँधीले पहिले हाइटी र डोमिनिकन गणराज्यमा प्रहार गरेको थियो, र अब जमैका नजिकिँदै गर्दा यो अझ खतरनाक भएको छ । आँधीले जमैकामा प्रहार गर्दा यसको प्रति घण्टा ३०० किलोमिटरसम्मको हावा र भारी वर्षा ल्याएको थियो ।
प्रतिक्रिया