×

हरेक कम्युनिस्ट पार्टीले गम्भीर समीक्षा गर्नु आबस्यक छ- प्रचण्ड

images

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक कम्युनिस्ट पार्टीले गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् । नेकपाका संस्थापक सदस्य नरबहादुर कर्मचार्यको जन्म शताब्दी कार्यक्रमको अवसरमा बुधवार कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनमा लागेपछि आफूले गरेका कामको समीक्षा गर्न आग्रह गरेका हुन् ।

‘कम्युनिस्ट पार्टीभित्र गम्भीर समीक्षा गर्नु आवश्यक छ । एक ठाउँमा बसौँ भनेर आदर्शका कुरा गरेर हुँदैन । द्वन्द्वात्मक भौतिकवादी वस्तुवादी ढङ्गले गम्भीर समीक्षा हुनुपर्छ’, प्रचण्डले भने, ‘मेरो सम्पूर्णमा अपिल छ । कम्युनिस्ट आन्दोलनमा लागेपछि आफूले गरेका राम्रा नराम्रा कामको समीक्षा गरौँ । यस्तै हरेक कम्युनिस्ट पार्टीले देश र जनताप्रति इमानदार भएर समीक्षा गरे आफ्ना कमजोरी पत्ता लगाउन सकिन्छ ।’

‘म देशभरिका कम्युनिष्टहरुलाई गम्भीर आत्मसीक्षाका लागि अपिल गर्न चाहन्छु’, उनले भने, ‘म आदर्शको रुपमा मात्र यसो भनिरहेको छैन, हाम्रो पार्टीभित्र गम्भीर आत्मसीक्षा सुरु गरेर मात्रै अरुलाई अपिल गर्न थालेको हुँ ।’ क्रान्तिकारीहरुले आफ्नो गल्ती स्वीकार गर्न सक्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आत्मसीक्षाले मात्रै कम्युनिस्ट पार्टीहरुमा एकता, रुपान्तरण र नयाँ क्रान्तिको प्रक्रिया सुरु हुने बताए ।

‘हामीले सिद्धान्ततः दलाल नोकरशाहीविरुद्ध लड्नुपर्छ भनिरहेका छौं तर हामीभित्रै सुरु हुँदै गरेको खराबीविरुद्ध लड्न सुरु नगरी अरुलाई परास्त गर्न सकिदैन’, उनले भने, ‘हिजो व्यापक कम्युनिस्ट एकता गरेर समावादमा अघि बढ्न सकिन्छ कि भनेर अभ्यास गर्यौं । सँगै मिलेर चुनाव पनि लड्यौं तर वैचारिक स्पष्टता कायम गर्न नसक्दा क्षति व्यहोर्नुपर्यो । अब पहिले आफैभित्रै वैचारिक स्पष्टताका लागि संघर्ष गरौं । त्यही संघर्षको बीचमा रुपान्तरणसहितको एकताको थालनी गरौं ।’

कम्युनिस्ट नेता कार्यकर्ताहरुमा सिद्धान्त, विचार र कार्यशैली, आचरणको बीचमा ठूल्ठूला खाडल देखापर्दै गएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सिद्धान्त र व्यवहारको अन्तर्विरोध हल गर्नतिर जोड दिएर लाग्नुपर्ने बताए । 

कम्युनिष्टहरुको नेतृत्वमा नेपालमा विश्वलाई चकित पार्ने राजनीतिक उपलब्धि प्राप्त भएको उल्लेख गर्दै उहाँले अब नयाँ समाजवादी क्रान्तिका लागि धेरै काम गर्न बाँकी रहेको र त्यसको प्रस्थानविन्दु वैचारिक स्पष्टता नै हुनुपर्ने बताए ।

कम्युनिस्ट घटकहरुबीचको सम्बन्ध सुधारलाई उनले चार चरणमा विकास गर्न सकिने उल्लेख गर्दै भने, ‘सबैभन्दा पहिले विचारमा स्पष्टता कायम गरेका दलहरु मिल्ने जति मिलौं, मिल्न नसक्नेले मोर्चा बनाऔं, त्यो पनि नसके कार्यगत एकता गरौं । त्यति पनि नसके हरेकले आफूलाई बदलेर समाजवादी क्रान्तिका लागि तयार पारौं ।  त्यति गर्दा मिल्ने जति मिल्दै जान्छन्, छाँटिने जति छाँटिदै जान्छन् ।’ 

बुधबार १४ कात्तिक २०८१ ०७:२९ PM मा प्रकाशित

प्रतिक्रिया