×

प्रदेश प्रमुख द्वारा मधेशमा नयाँ सरकार गठनको आह्वान

images

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आह्वान गरेका छन् ।

संविधानको धारा १६८ ९उपधारा २० अनुसार दुई वा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यले दाबी पेश गर्नुपर्ने बताइएको छ । दाबी पेश गर्ने समयसीमा आगामी शुक्रबार साँझ ५ बजे तोकिएको छ ।

नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारले गत २४ कात्तिकमा शपथ लिएर मुख्यमन्त्री बनेको २२ दिनमै राजीनामा दिएको हो । सर्वोच्च अदालतको आदेशअनुसार विश्वासको मत लिन डाकिएको प्रदेश सभा बैठकमा यादवले बहुमत नपाउने निश्चित भएपछि बुधबार राजीनामा घोषणा गरेका थिए । 

यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार प्रदेशसभा सबैभन्दा ठूलो दलको नेताका रूपमा मुख्यमन्त्री नियुक्त गरेका थिए।

बर्दिबासस्थित पानस कटेजमा बिहानै यादवको नियुक्ति र शपथ ग्रहणसमेत भएपछि यसले राजनीतिक विवाद झनै बढाएको थियो। त्यसकै बीच संघीय सरकारले प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सिफारिस गरेको थियो। विश्वासको मत प्रक्रियाका क्रममा विपक्षी सात दलका सांसद बैठकमा उपस्थित भएनन्।

विपक्षी बेञ्च खाली रहँदा एमालेका सांसद मात्र बैठकमा देखिए। राजीनामा दिनुअघि मुख्यमन्त्री यादवले आफ्नो नियुक्ति नै बाध्यात्मक रहेकाले विश्वासको मत अनिवार्य रूपमा लिनुपर्ने स्थिति नरहेको दाबी गरे।

बैठक सञ्चालन गरिरहेकी उपसभामुख बबिता राउत ईसरले मुख्यमन्त्री यादवले राजीनामा घोषणा गरिसकेको हुँदा विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाउनुपर्ने आवश्यता नरहेको बताउँदै सभा स्थगित गरेकी छन्।

बुधबार १८ मंसिर २०८२ ०७:४३ PM मा प्रकाशित

प्रतिक्रिया