×

महाकालीको कटानले भत्कियो दोधारा चाँदनीको प्रसिद्ध झोलुङ्गे पुल, आवागमन ठप्प

images

काठमाडौँ/कञ्चनपुर – लगातारको वर्षापछि महाकाली नदीमा आएको भीषण बाढीका कारण कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकासम्बद्ध चर्चित झोलुङ्गे पुल नदीले बगाएको छ। बुधबार बिहान करिब आठ बजे महाकाली नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि पुलको पिलर भत्किँदा पुलको ठूलो भाग नदीमा खसेर बगेको छ।

कञ्चनपुर प्रहरीका अनुसार नदीको बीच भागमा रहेका पिलरहरू बाढीको तीव्र कटानका कारण भत्किएका हुन्। भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बर र दोधारा चाँदनीतर्फबाट तेस्रो नम्बरको पिलर कटान गरी ढालेपछि पुलको संरचना पूर्ण रूपमा क्षतिग्रस्त भई नदीमा खसेको हो।

एशियाकै लामा झोलुङ्गे पुलहरूमध्ये एक मानिने यो पुल क्षतिग्रस्त भएपछि दोधारा चाँदनी क्षेत्रका बासिन्दाको कञ्चनपुर जिल्ला सदरमुकाम तथा छिमेकी नगरपालिकाहरूसँगको प्रत्यक्ष पैदल सम्पर्क विच्छेद भएको छ।

महाकाली नदीमा बाढीको सतह अझै उच्च रहेकाले र कटानको जोखिम कायमै रहेकाले स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र नदी किनार आसपास नजान आग्रह गरेको छ।

बुधबार १४ असोज २०८३ ११:२९ AM मा प्रकाशित

प्रतिक्रिया