काठमाडौँ । रूसको दुर्गम सुदूर पूर्वी तटमा गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प अहिलेसम्मकै छैटौं सबैभन्दा शक्तिशाली भूकम्प रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
रूसको पूर्वी तटमा गएको भूकम्प र प्रशान्त महासागरका विभिन्न भागहरूमा सुनामी चेतावनी जारी गर्दै आएको भूकम्पलाई अमेरिकी भूगर्भ सर्वेक्षणले रेक्टर स्केलमा ८.८ रहेको बताएको छ । रुसको पूर्वी तटमा रहेको कामचट्कामा २०.७ किलोमिटर गहिराइमा भूकम्प गएको थियो । त्यसयता धेरै शक्तिशाली पराकम्पहरू गइसकेका छन् ।
अमेरिकाको हवाई विश्वविद्यालयको भूभौतिकशास्त्र र टेक्टोनिक्स विभागकी सहायक प्राध्यापक हेलेन जेनिस्जेव्स्कीले आजको भूकम्प रेकर्ड गरिएको इतिहासमा दश सबैभन्दा गम्भीर भूकम्पहरूमध्ये एक भएको बताएकी छन् । यस भूकम्पलाई २०१० मा चिलीको बायोबियोमा गएको भूकम्प र १९०६ मा इक्वेडरको एस्मेराल्डासमा गएको भूकम्पसँग तुलना गरिएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार अहिलेसम्मको सबैभन्दा शक्तिशाली भूकम्प १९६० मा चिलीमा गएको थियो । ९.५ रेक्टर स्केलको यस भूकम्पमा १६५५ जनाको मृत्यु भएको थियो भने २० लाख भन्दा बढीले आफ्नो घर गुमाएका थिए ।
त्यसपछि दोस्रो ठुलो भूकम्प १९६४ मा अमेरिकाको अलास्कामा आएको थियो । ९.२ रेक्टर स्केलको यस भूकम्पमा १३० जनाको ज्यान गएको थियो भने २.३ बिलियन डलरको नोक्सानी भएको थियो । त्यसैगरी २००४ मा इन्डोनेसियामा आएको भूकम्पलाई अहिलेसम्मकै तेस्रो शक्तिशाली भूकम्प मानिएको छ । ९.१ रेक्टर स्केलको यस भूकम्पमा २ लाखभन्दा बढीको मृत्यु भएको थियो भने ११ लाख भन्दा बढी विस्थापित भएका थिए ।
त्यस्तै २०११ मा जापानमा आएको भूकम्पलाई अहिलेसम्मकै चौथो शक्तिशाली भूकम्प मानिएको छ । ९.१ रेक्टर स्केलको यो भूकम्पले १५ हजार भन्दा बढीको ज्यान लिएको थियो भने लाखौ विस्थापित भएका थिए ।
त्यस्तै १९५२ मा आज आएको स्थान रुसको पूर्वी तटमा रहेको कामचट्कामै आएको ९ रेक्टर स्केलको भूकम्पलाई पाँचौं शक्तिशाली भूकम्प मानिएको छ । यसले अमेरिकाको हवाईमा ठूलो सुनामी ल्यायो, जसले गर्दा १० लाख डलरभन्दा बढीको क्षति भएको थियो ।
त्यस्तै आज रुसको पूर्वी तटमा रहेको कामचट्का आएको ८.८ रेक्टर स्केलको भूकम्पलाई पनि अहिलेसम्मको छैटौं शक्तिशाली भूकम्प भनिएको छ ।
प्रतिक्रिया