काठमाडौँ । राजधानीवासीको मुख्य भान्छा जोडिएको मुलुककै सबैभन्दा ठूलो कालीमाटी तरकारी तथा फलफूल बजारमा भित्रिने तरकारीहरूमा विषादीको मात्रा भयावह रूपमा भेटिन थालेको छ । हालै गरिएको प्रयोगशाला परीक्षणमा लौका, काउली र आलुपछि उपभोक्ताले बढी रुचाउने रायोको सागमा समेत जनस्वास्थ्यका लागि गम्भीर खतरा बन्न सक्ने स्तरको विषादी फेला परेको हो ।
केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण एकाइले कालीमाटी बजारमा ल्याइएका तरकारीहरूको नमुना परीक्षण गर्दा रायोको सागमा घातक अवशेष भेटिएको हो । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाबाट बिक्रीका लागि कालीमाटी ल्याइएको रायो सागमा ८०.०१६० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी पाइएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
सरकारी मापदण्ड अनुसार यो मात्रा उपभोगका लागि पूर्ण रूपमा अयोग्य (घातक) हो ।
यसअघि असार १२ गते धादिङ, मकवानपुर र सल्यानबाट भित्रिएका तरकारीहरूमा पनि उच्च मात्रामा विषादी फेला परेको थियो । प्रयोगशालाको रिपोर्ट अनुसार:
लौका (धादिङ, गजुरी गाउँपालिका): ६६.५१ प्रतिशत विषादी
काउली (मकवानपुर, थाहा नगरपालिका): ६४.५४ प्रतिशत विषादी
आलु (सल्यान): ६६.९९ प्रतिशत विषादी
केन्द्रीय कृषि प्रयोगशालाले तरकारीमा विषादीको रोकावट प्रतिशत (इन्हिबिसन दर) मापन गरेर त्यसको हानिकारक स्तर तय गर्ने गर्दछ:
| विषादीको प्रतिशत (रुकावट दर) | अवस्था / सरकारी मापदण्ड |
| ३५ प्रतिशतभन्दा कम | उपभोगयोग्य (खान मिल्ने) |
| ३५ देखि ४५ प्रतिशतसम्म | केही दिन क्वारेन्टाइन/होल्डमा राखेर मात्र उपभोग गर्न सकिने |
| ४५ प्रतिशतभन्दा बढी | पूर्ण रूपमा उपभोग अयोग्य (नष्ट गर्नुपर्ने) |
अहिले बजारमा भेटिएका रायो साग (८०%), आलु, काउली र लौका (सबै ६४% भन्दा माथि) सरकारी मापदण्डको खतनाक विन्दुभन्दा निकै माथि छन् । यस्ता तरकारी सिधै भान्छामा पुग्दा उपभोक्ताको स्वास्थ्यमा गम्भीर र दीर्घकालीन असर पर्ने चिकित्सकहरू बताउँछन् ।
कालीमाटीमा भित्रिएका १२ वटा पसलका १२ थरी तरकारी तथा फलफूल परीक्षण गर्दा यी भयानक तथ्यहरू बाहिर आएका हुन् । किसानहरूले तरकारीमा तीव्र रूपमा विषादी छर्कने र स्वीकृत ‘पर्खने अवधि’ (विषादी छर्केपछि तरकारी टिप्नका लागि कुर्नुपर्ने समय) पालना नगर्दा यस्तो समस्या देखिएको कृषि विज्ञहरूको भनाइ छ ।
पछिल्लो समय लगातार मुख्य तरकारीहरूमा विषादीको मात्रा अत्यधिक भेटिनुले बजार अनुगमन र उपभोक्ताको भान्छाको सुरक्षामाथि ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ ।
प्रतिक्रिया