काठमाडौं। विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उनीहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो। सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ।
वर्तमान अन्तरिम चुनावी सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी शहीद दिवस मनाउने निर्णय गरेको छ । मुलुकमा व्याप्त भ्रष्टाचार र अव्यवस्था विरुद्ध गत नवयुवा पुस्ताले भदौ २३ गतेदेखि स्वतस्फूर्त सुरु गरेको प्रदर्शनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । २ दिनसम्म चलेको आन्दोलनको क्रममा ७६ जनाको ज्यान गएको थियो ।
त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको चुनावी सरकारको मंसिर १५ गते बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ गतेलाई जेनजी शहीद दिवस मनाउने निर्णय गरेको हो ।
मुलुकमा पछिल्लोपटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहीद घोषणा गर्नुपर्ने र रु १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक शहीदको भावनामा चोट पुगेको गुनासा बढ्न थालेको छ ।
प्रतिक्रिया