×

आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्छु- प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख गर्दै उनले शहीदका सपना पूरा गर्न आह्वान गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सहिद दिवसका अवसरमा  शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहीदहरुको शालिकमा माल्यार्पण समेत गरेका छन् । सहिद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । ‘सहिदहरूले देखाएको बाटोमा शब्दमा मात्र होइन, कर्ममा समेत अनवरत रूपमा लामबद्ध हुन, उहाँहरूको त्याग र प्रेरणा राष्ट्र र जनताको विकास एवं समृद्धिका लागि खर्चिने सङ्कल्प गर्न म आम जनसमुदायमा हार्दिक अपिल गर्दछु’, सन्देशमा भनिएको छ ।

उनले राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुनको लागि शहीदहरु प्रेरणाको स्रोत भएको बताए । उनले शहीदहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने बताए । उनले देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरु अमर र अजर रहने बताए ।उनले माघ १६ गतेलाई फगत स्मरण र औपचारिक समारोहमा मात्रै सीमित नभई शहीदहरूको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एक हुनुपर्ने बताए ।

आजको दिन शहीदहरुको सम्मानका लागि सबैले देश विकासका लागि संकल्प गर्नुपर्ने बताए । ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रको जुन रुपमा अभ्यास गरिरहेका छौं । यसको पछाडि महान शहीदहरुको त्याग र बलिदान नै प्रमुख रहेको छ,’ उनले भने, ‘देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरुअमर हुन्, अजर हुन्छन् । उनीहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहेका हुन्छन् ।’

शहीद दिवस शहीदहरुका सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगति सबैको निम्ति समर्पित भएर काम गर्ने संकल्प लिने दिन भएको बताए । ‘राणाकाल सुरु हुनुपूर्वका विभिन्न आन्दोलन, सङ्घर्ष, राणाकाल विरूद्धका चरणबद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोस्रो जनआन्दोलन, १० वर्षे जनयुद्ध, मधेस आन्दोलन लगायतका आन्दोलन, जनआन्दोलन तथा सङ्घर्षमार्फत नेपालले जे–जति उपलब्धि प्राप्त गरेको छ, ती महान् सहिदहरूको सङ्घर्ष र बलिदानीबाट मात्र सम्भव भएको हो’, सन्देशमा उल्लेख छ ।

सोमबार १६ माघ २०७९ ११:०१ AM मा प्रकाशित

प्रतिक्रिया