×

भ्रष्टाचार र बेथितिका विरूद्ध नयाँ शिराबाट सङ्घर्षको झण्डा उठ्नेछ- प्रचण्ड

images

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान केपी ओली नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय लगायत देशका शैक्षिक प्रतिष्ठानहरूमा हस्तक्षेप र आक्रमण थालेको बताएका छन् । निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन उद्घाटन गर्दै प्रचण्डले आफू नेतृत्वको सरकारले शैक्षिक संस्था सुधारका लागि भएका प्रयासहरूमाथि अहिलेको सरकारले आक्रमण गर्न थालेको बताएका हुन्। 

‘त्रिभुवन विश्वविद्यालय लगायत देशका शैक्षिक प्रतिष्ठानमा प्रतिस्पर्धाका आधारमा पदाधिकारीहरू नियुक्त भए । तर, विडम्बना ! अप्राकृतिक र अस्वाभाविक रूपमा नयाँ गठबन्धन बनेपश्चात् ती प्रयासहरूमाथि आक्रमण थालिएको छ’, प्रचण्डले आफ्नो मन्तव्यमा भनेका छन्, ‘सरकारको नेतृत्वले विश्वविद्यालयमाथि हस्तक्षेप बढाएको छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले मेरिटोक्रेसीबाट आएको शैक्षिक नेतृत्वको मानमर्दन गर्ने, शैक्षिक संस्थाहरूको नियमित प्रक्रिया रोक्ने, सुशासनका प्रयासहरूमाथि हमला गर्ने लगायतका अवाञ्छित क्रियाकलाप गरेको भन्दै आपत्ति जनाए ।  ‘यी सबै घटनाक्रमलाई मैले गम्भीरतापूर्वक हेरेको छु । म यही मञ्चबाट भन्न चाहन्छु– देशको शिक्षा क्षेत्रलाई तहसनहस पार्ने यो गतिविधि सचेत नेपालीहरूका निम्ति सह्य हुने छैन । सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा हाम्रो लडाइँ जारी रहनेछ’, प्रचण्डको चेतावनी छ ।  उनले भ्रष्टाचार र बेथितिका विरुद्ध नयाँ शिराबाट सङ्घर्षको झन्डा उठ्ने समेत बताएका छन् ।

आफू प्रधानमन्त्री भएको बेला शिक्षा विधेयकमा ठूलो मिहिनेत गरेको उनले बताए । ‘म जतिबेला प्रधानमन्त्री थिएँ । मेरो नेतृत्वको सरकारले सङ्घीय शिक्षा ऐन ल्याउन निकै ठूलो मिहेनत गरेको थियो । मेरै नेतृत्वको सरकारको पालामा शिक्षा ऐन पारित हुन नसके पनि विधेयकको मस्यौदा अगाडि बढेको छ । उक्त मस्यौदामा संविधानको व्यवस्थालाई मध्यनजर गर्दै सबैका भावना समेट्ने प्रयास गरिएको छ,’ उनले भने, ‘ऐनको मस्यौदा संसदमा पेश भएर शिक्षा, स्वास्थ्य तथा सञ्चार समितिमा छलफलको क्रममा छ ।’

मेरिटोक्रेसीबाट आएको शैक्षिक नेतृत्वको मानमर्दन गर्ने, शैक्षिक संस्थाहरूको नियमित प्रक्रिया रोक्ने, सुशासनका प्रयासहरूमाथि हमला गर्ने लगायतका अवान्छित क्रियाकलाप भइरहेको उनले बताए । सांसदहरूले यसमा प्रशस्त संशोधनहरू राख्नुभएको छ, जुन स्वभाविक पनि हो । सबैको विचारलाई कदर गर्दै, जायज र सम्भव मागहरूलाई सम्बोधन गर्दै एउटा निष्कर्षमा पुर्‍याउन प्रमुख प्रतिपक्ष दलको अध्यक्षको हैसियतले मैले भूमिका खेल्दै आएको छु । यसलाई निष्कर्षमा पुर्याउन थप भूमिका खेल्नेछु ।’

निजी क्षेत्र शिक्षा क्षेत्रमा महत्वपूर्ण साझेदार बनेको उनले बताए । ‘निजी विद्यालयहरूले शिक्षाको पहुँच विस्तार गर्ने, गुणस्तरीय शिक्षाका नयाँ नमुना प्रस्तुत गर्ने र आधुनिक प्रविधिको प्रयोगमार्फत शिक्षण प्रक्रिया प्रभावकारी बनाउने काम गर्दै आएका छन् । निजी क्षेत्रको प्रयासले प्रतिस्पर्धात्मक शिक्षाको विकास एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्तिको विकासमा महत्वपूर्ण योगदानसमेत पुगेको छ,’ उनले भने ।

शुक्रबार​ १४ मंसिर २०८१ १२:५१ PM मा प्रकाशित

प्रतिक्रिया