×

अमेरिकामा नेपाली छात्राको कोठाभित्रै गोली प्रहार गरी हत्या

images

काठमाडौं । अमेरिकामा नेपाली चेली ममता काफ्लेको हत्या प्रकरण सेलाउन नपाउँदै अर्की चेली पनि मारिएकी छिन् । भर्जिनियामा ममताको हत्या भएको केही सातापछि टेक्सस राज्यको ह्युस्टनमा मुना पाण्डेको हत्या भएको हो । भोजपुर घर भएकी २१ वर्षीया मुना पाण्डेलाई आफू बसेकै अपार्टमेन्टमा सोमबार साँझ गोली हानेर मारिएको त्यहाँको प्रहरीले जनाएको छ । घटनाको खबर पाएपछि सोमबार साँझ साढे ५ बजेतिर ह्युस्टन प्रहरी घटनास्थलमा पुगेको थियो । त्यतिबेला मुना छातीमा गोली लागेको अवस्थामा मृत भेटिइन् ।

उनलाई धेरैवटा गोली हानिएको ह्युस्टन प्रहरीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन् । नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमका अनुसार सुरुमा साथीसँग बस्ने गरेकी पाण्डे पछि अपार्टमेन्ट लिएर एक्लै बस्न थालेकी थिइन् । हालसम्म हत्यारा पत्ता लागेका छैनन् । घटनाबारे अनुसन्धान भइरहेको ह्युस्टन प्रहरीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पाण्डेकी आमा अनिताले हत्यारा पत्ता लगाउन आग्रह गरेकी छन् ।

अमेरिकाबाट सञ्चालित नेपालीभाषी अनलाइन पोर्टलमा प्रकाशित समाचार अनुसार ती युवतीको हत्या कसले र किन गर्‍यो भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । मुना पाण्डे नाम गरेकी ती युवती ह्युस्टनको हिलक्रप्टस्थित अपार्टमेन्टमा बस्दै आएकी थिइन् । घटनापछि प्रहरीले शवलाई पोस्टमार्टमका लागि अस्पताल लगेको छ । टेक्सस राज्यको प्रमुख सहरको रुपमा चिनिने ह्युस्टन अमेरिकाकै चौथो ठूलो सहर पनि हो ।

सोमबारको यो घटनाबारे मृतकका नेपालमा रहेका परिवार र आफन्तलाई जानकारी दिइएको पनि बताइएको छ । मुनाकी आमा अनिता पाण्डे अधिकारी नेपालमै बसोबास गर्छिन् । अनिताले मुनासँग घटनाको चार दिनअघि मात्रै कुराकानी भएको र मुना एक मात्र सन्तान रहेको जानकारी दिएकी छन् ।

अमेरकामा बसोबास गर्ने नेपाली युवती ममता काफ्लेको हत्या भएको केही दिनपछि नै अर्की नेपाली युवतीको हत्याको समाचार सार्वजनिक भएको छ । काफ्लेको भने आफ्नै पतिले हत्या गरेको खुलासा भएको भन्दै प्रहरीले पक्राउ गरिसकेको छ ।

अमेरिकामा आम नागरिकले पनि हातहतियार राख्न पाउने कानुन छ । जसले गर्दा हरेक वर्ष यस्ता हत्याका घटना बढिरहेको पाइन्छ । तर नेपाली विद्यार्थी तथा आप्रवासीहरुको हकमा हतियार राख्न पाउने प्राबधान छैन । यद्यपि हतियार सम्बन्धी कानुन परिमार्जन गर्नुपर्ने भन्दै बारम्बार सरकारको आलोचना हुने गरेको छ ।

बुधबार १२ भदौ २०८१ १२:४२ PM मा प्रकाशित

प्रतिक्रिया