सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट बेपत्ता भएका एकै परिवारका १६ जनाको खोजी जारी रहेको छ । गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा रहेको घरबाट उनीहरु चार दिनदेखि बेपत्ता रहेको खुलेको छ ।
स्थानीयले ढिलो गरि खबर गरेपछि प्रहरी उनीहरुको खोजीमा लागेपनि अहिलेसम्म उनीहरुको पत्ता लागेको छैन । प्रहरीले परिवारका १६ सदस्यमध्ये एकको अन्तिम लोकेसन रामेछापमा भेटिएको जनाएको छ ।
एकान्तठाउमा घर रहेकाले स्थानीयसँग नियमित सम्पर्क नहुँदा घटना बारे ढिलो थाहा भएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । बेपत्ता हुनेमा उर्मिला हायु, हायुका ६ छोरा र ६ छोरी, एक बुहारी, एक नाती र एक नातिनी रहेका छन् । साथै स्थानीयले गत विहीबार उनीहरुले घरमै सुँगुर काटेर खाएको स्थानीयले बताएका छन् । साथै उनीहरुले केहि दिन अघि मात्र उनीहरुले स्थानीय तहबाट पाउने भत्ता समेत पाएको बताइएको छ ।
हायुको घरमा हायु परिवारले पालेको कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा रहेको पाइएको प्रहरीले जानकारी दिएको छ । घरको अवस्था हेर्दा उनीहरुले अचानक घर छोडेको जस्तो देखिएको स्थानीयले बताएका छन् ।
बेपत्ता हायू परिवारको सूची :
उर्मिला हायू, आमा-५२ वर्ष, कमला हायू, छोरी-२७ वर्ष, कोमल माया हायू, बुहारी-२३ वर्ष, उषा हायू, छोरी-२२ वर्ष, सुजता हायू, छोरी २२ वर्ष, अस्मिता हायू, छोरी १८ वर्ष, शान्ता हायू, छोरी १२ वर्ष, राजु हायू छोरा २९ वर्ष, हिमाल हायू, छोरा २४ वर्ष, लालबहादुर हायू, छोरा १६ वर्ष, बेगबहादुर हायू, छोरा १४ वर्ष, लक्की हायू, छोरा ११ वर्ष, सुवर्ण हायू, छोरा १२ वर्ष, ओमकुमारी हायू, छोरी १० वर्ष, अर्जुन हायू, नाती १ वर्ष र रियासा हायू, नातिनी ४ वर्ष ।
प्रतिक्रिया