×

गिरीबन्धु टी स्टेटको जग्गा घोटालामा कांग्रेसको संलग्नताबारे समेत छानबिन गर्नुहोस - महामन्त्री शर्मा

images

काठमाडौं ।  कांग्रेसका सांसद तथा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टी स्टेटको जग्गा घोटालामा कांग्रेसको संलग्नताबारे समेत छानबिन गर्न सरकारलाई आग्रह गरेका छन्। प्रतिनिधि सभाको विशेष समयमा उनले नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेटको जग्गा घोटाला सम्बन्धी विषयमा अनुसन्धान गर्नुपर्ने माग गरेका हुन्।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले गिरीबन्धुको जग्गा बेचेर खाएको आरोप लगाएको भन्दै अब त्यसबारे समेत छानबिन गर्न माग गरेका थिए। ‘अरूमाथि छानबिनको माग गर्न सजिलो हुन्छ। आफूमाथि माग गर्न गाह्रो हुन्छ। कांग्रेसको भूमिकाबारे पनि छानबिन होस्’ उनले भने।

उनले भने, ‘आशङ्का गरिएका दुईवटा फाइलहरू छन् । एउटा नक्कली भुटानी शरणार्थी प्रकरण र अर्को गिरिबन्धु जग्गा प्रकरण । गरिमामय संसद्मा उभिएर म कसैलाई दोषी ठहर्‍याउन चाहँदिन र कसैलाई निर्दोष करार गर्न पनि चाहन्न । केवल यति मात्र भन्न चाहन्छु देशको मुहार फेर्न सङ्कल्प लिएर खुलेका दलहरू हुन् कांग्रेस र एमाले । यी दलहरूले सरकारको नेतृत्व गरिरहेको बेला प्रधानमन्त्रीकै शब्दलाई सापट लिएर भन्न चाहन्छु–इमानदार भएर सबैको अनुसन्धान हुनुपर्छ, । अनुसन्धानले हामी आफैँमाथि प्रश्न खडा हुन सक्छ ।


त्यसका लागि अनुसन्धानको दायरामा उभिन तयार छौँ । अरूमाथि अनुसन्धानको माग गर्न सजिलो हुन्छ तर गाह्रो हुन्छ आफूमाथि अनुसन्धान गर्दा । तर आज म यो जिम्मेवार संसद्मा उभिएर गिरिबन्धु जग्गाको ७० प्रतिशत जग्गा कांग्रेसले बेचेर खाएको हो भन्ने आरोप छ । तर यो प्रकरणमा कांग्रेसका को व्यक्ति हुन हो छानबिनको दायरामा ल्याओस् ।’

आइतबार​ १३ साउन २०८१ ०९:१७ PM मा प्रकाशित

प्रतिक्रिया