वासिंटन। अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि कतारको मध्यस्थतामा अप्रत्यक्ष शान्ति वार्ता जारी रहेकै समयमा अमेरिकी सेनाले दक्षिणी इरानमा पुनः शक्तिशाली हवाई आक्रमण गरेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गएराति अमेरिकी फौजले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य नजिकै रहेका इरानी सैन्य संरचनाहरूलाई लक्षित गरी रातारात हमला गरेको हो। यो तीन दिनभित्र अमेरिकाले इरानी क्षेत्रमा गरेको दोस्रो ठूलो सैन्य कारबाही हो।
अमेरिकी फौज र व्यावसायिक जल यातायातका जहाजहरूलाई खतरा ठानिएका इरानी सैन्य पूर्वाधारहरूमाथि गरिएको यस आक्रमणका क्रममा चारवटा एकतर्फी आक्रमण गर्ने ड्रोनहरू आकाशमै खसालिएको अमेरिकी दाबी छ।
त्यसलगत्तै पाँचौँ ड्रोन उडाउनु अगावै दक्षिणी इरानको रणनीतिक बन्दरगाह शहर बन्दर अब्बासस्थित ड्रोन नियन्त्रण केन्द्रमा भीषण हवाई आक्रमण गरिएको थियो। अमेरिकी अखबार द न्युयोर्क टाइम्सका अनुसार इरानी सरकारी सञ्चारमाध्यमहरूले पनि बन्दर अब्बासको पूर्वी क्षेत्रमा तीनवटा ठूला विस्फोटको आवाज सुनिएको र वायु प्रतिरक्षा प्रणाली सक्रिय पारिएको पुष्टि गरेका छन्।
यसअघि गत सोमबार पनि अमेरिकाले रक्षात्मक कारबाही भन्दै इरानले बारुदी सुरुङ बिछ्याउन खोजेका डुङ्गा र मिसाइल प्रक्षेपण स्थलमा आक्रमण गरेको थियो, जसलाई इरानले दुई देशबीचको कमजोर युद्धविरामको गम्भीर उल्लङ्घन भनेको छ।
यो सैन्य टकराव त्यस्तो समयमा चर्किएको छ जहाँ गत फेब्रुअरी २८ देखि सुरु भएको युद्ध अन्त्यका लागि दुवै देश अन्तिम सम्झौताको नजिक पुगेका थिए र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका अधिकांश विषयमा सहमति भइसकेको संकेत दिइसकेका थिए।
औपचारिक रूपमा सम्झौता सार्वजनिक नभए पनि अमेरिकी अनलाइन एक्सियसले सार्वजनिक गरेको समझदारी पत्रको मस्यौदा अनुसार दुवै पक्ष प्रारम्भिक रूपमा ६० दिनको समझदारीमा हस्ताक्षर गर्ने तयारीमा छन्।
यस अवधिभर हर्मुज जलमार्ग पूर्ण रूपमा निःशुल्क खुला रहनेछ र इरानले त्यहाँ बिछ्याएका सामुद्रिक बम तथा बारुदी सुरुङहरू हटाउनुपर्नेछ। इरानले हर्मुजबाट बम हटाए लगत्तै अमेरिकाले इरानी बन्दरगाहमा लगाएको नाकाबन्दी हटाउने र इरानलाई अन्तर्राष्ट्रिय बजारमा स्वतन्त्र रूपमा तेल बिक्री गर्न प्रतिबन्धमा छुट दिने सहमति भएको छ।
साथै इरानले कहिल्यै पनि आणविक हतियार नबनाउने, युरेनियम प्रशोधन कार्यक्रम स्थगित गर्ने र अत्यधिक प्रशोधन गरिएको युरेनियमको भण्डार हटाउने विषयमा वार्ता गर्न मौखिक प्रतिबद्धता जनाएको छ। हालैका महिनाहरूमा मध्यपूर्वमा परिचालन गरिएका अमेरिकी सैनिक र सैन्य उपकरणहरू ६० दिनसम्म सोही क्षेत्रमा रहनेछन् र अन्तिम सम्झौता भएपछि मात्र फिर्ता हुनेछन्।
इरानले अमेरिकामा रोक्का रहेको आफ्नो करिब २४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति तुरुन्त फुकुवा र स्थायी रूपमा प्रतिबन्धहरू हट्नुपर्ने माग राखेको भए पनि राष्ट्रपति ट्रम्पको कार्य सम्पादनका आधारमा राहत दिने अडानका कारण इरानले जमिनमा ठोस काम पूरा गरेपछि मात्र अमेरिकी नाकाबन्दी क्रमिक रूपमा हट्ने स्पष्ट पारिएको छ।
यसैबीच इरान र ओमानले संयुक्त रूपमा हर्मुज जलमार्गको व्यवस्थापन गर्ने भन्ने इरानी दाबीलाई ट्रम्पले खारेज गर्दै उक्त अन्तर्राष्ट्रिय जलमार्ग सधैँ खुला रहने दृढता व्यक्त गरेका छन्। प्रस्तावित मस्यौदाले लेबनानमा इजरायल र हिजबुल्लाहबीच जारी युद्धलाई पनि समेटेको बुझिएको छ, जसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ट्रम्पसँगको फोन वार्तामा व्यक्त गरेको चिन्तालाई ट्रम्पले सम्बोधन गरिसकेका छन्।
यद्यपि अमेरिकाले इरानमा हमला गरे लगत्तै इजरायलले लेबनानमा आफ्नो सैन्य आक्रमणलाई थप सशक्त बनाएकाले मध्यपूर्वको समग्र सुरक्षा परिस्थिति अझै जटिल मोडमा रहेको देखिन्छ।
प्रतिक्रिया