×

नेपाली जनताले नेपालको बारेमा निर्णय गर्ने अधिकारमाथि विदेशी प्रतिक्रियावादी र तिनका दलालहरूले चुनौती दिने दुस्साहस गरिरहेका छन

images

रोल्पा । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले राष्ट्र निकै ठुलो अप्ठ्यारो अवस्थामा रहेको बताएका छन्। रोल्पाको लिवाङमा आज (शनिबार) आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

उनले नेपालको राष्ट्रिय स्वाधीनता, नेपाली जनताको आत्मसम्मान, नेपाली जनताले नेपालको बारेमा निर्णय गर्ने अधिकारमाथि विदेशी प्रतिक्रियावादी र तिनका दलालहरूले चुनौती दिने दुस्साहस गरिरहेको बताए। उनले भने, ‘आज राष्ट्रको एकतालाई अक्षुण्ण राख्ने, राष्ट्रिय स्वाधीनतालाई जगेर्ना गर्ने, सुदृढ गर्ने र एउटा नयाँ शक्तिका साथ विदेशी प्रतिक्रियावादी र तिनका दलालहरूका विरुद्ध एउटा नयाँ अभियान चलाउनुपर्ने आवश्यकता यतिबेला पैदा भएको छ।’

भदौ २३ गते जेनजी युवाहरूको निर्ममतापूर्वक हत्या गर्ने निरङ्कुश अहङ्कारी र दम्भी प्रवृत्ति एकातिर र अर्कोतिर २४ गते विध्वंस गर्ने विदेशी प्रतिक्रियावादीसँग मिलेर राष्ट्रलाई नै ठुलो संकटमा धकेल्ने प्रवृत्ति अर्कातिर उभिएको भन्दै ती दुवै प्रवृत्तिका विरुद्ध आफूहरुले राष्ट्रिय एकताको निम्ति नेकपाको गठन गरेको स्मरण गराएका छन् । सो क्रममा उनले स्वच्छ निष्पक्ष निर्वाचन हुँदा नेकपा पहिलो पार्टी बन्ने पूरै सम्भावना रहेको दाबी गरे । 

‘देश अहिले जहाँ छ, हाम्रै संघर्ष, हाम्रै योद्धाहरूको बलिदानका कारण छ,’ प्रचण्डले भने, ‘हामी सुरुदेखि नै प्रत्यक्ष कार्यकारी प्रमुखको आवाज उठाउँदैआएका हौँ त्यो अझै पूरा भएको छैन ।’

यस्तै नेकपा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा नै अडिग रहेको उनले बताए । उनले अगाडि भने, ‘हामीले यस्तो खर्चिलो र महँगो निर्वाचन प्रणाली खोजेकै होइन । हामीले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत आम नेपालीको अभिमतलाई सम्मान गर्न चाहेका हौँ । त्यो गर्न बाँकी छ ।’ 

अब निर्वाचनपछि संविधान परिमार्जन गर्ने प्रचण्डले बताए । ‘हामीले यो निर्वाचनपछि संसद्बाट जेनजी युवाहरूले भनेको जस्तै भ्रष्टाचारविरुद्ध र संविधान परिमार्जन गरेर विकसित गर्ने कुरामा प्रतिबद्ध छौँ,’ उनले भने ।

शनिबार १६ फागुन २०८२ ०७:२३ PM मा प्रकाशित

प्रतिक्रिया