×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- काठमाडौंका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । सडक मर्मत एम्बुलेन्स नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार सडक डिभिजन कार्यालय, काठमाडौंले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स प्रयोगको शुभारम्भ गरेका छन् । सडक डिभिजन कार्यालय, काठमाडौंको कार्यक्षेत्रमा पर्ने काठमाडौं जिल्लाभित्रका सामरिक महत्वका सडक तत्काल मर्मत गर्नका लागि एम्बुलेन्स प्रयोगमा ल्याइनेछ ।  त्यस्तै, सडकमा देखिएका खाल्डाखुल्डीको तत्काल जानकारी दिइ मर्मत अगाडि बढाउन मोवाइल एप्स् पनि सञ्चालनमा ल्याइएको छ । जसमा खाल्डोको अवस्थाको तत्काल फोटो खिची अपलोड गर्न सकिने व्यवस्था र मर्मतपछि त्यसको अद्यावधिक विवरण राख्न सकिनेछ । एम्बुलेन्ससँगै तालिमप्राप्त प्राविधिक टोली खाल्डो देखिएको स्थानमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न गरिनेछ । कामको समयमा ट्राफिक व्यवस्थापनका लागि चेतावनी बत्ती छन् । भीडभाडको समयमा समेत आकस्मिक मर्मत गर्न सकिनेछ ।

२-  प्रधानमन्त्री सुशीला कार्की र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले ठाकुरसँग आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि वातावरण बनाउनका लागि सक्दो भूमिका खेलिदिन आग्रह गरेकी थिइन् । ठाकुरले आफूहरू चुनावको तयारीमा रहेको र सम्भावित गठबन्धनका विषयमा छलफल गरिरहेको जानकारी पनि दिए । उनले भने- 'हामी स्पष्ट छौँ। चुनावमा भाग लिनुपर्छ, लिन्छौँ नै। चुनाव नै अबको एक मात्र निकास हो ।’सो अवसरमा ठाकुरले तराई–मधेसको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने महत्त्वपूर्ण परियोजनाहरूलाई गति दिन सरकारसँग आग्रह पनि गरेका थिए ।

३- अमेरिकाले अफगानी नागरिकहरूको लागि सबै आप्रवासन अनुरोध स्थगित गरेको छ । वाशिंगटन डिसीस्थित ह्वाइट हाउस नजिकै भएको गोलीकाण्डमा दुई राष्ट्रिय गार्ड सदस्य गम्भीर घाइते भएपछि अमेरिकाले यस्तो कदम चालेको हो । घटनामा संलग्न संदिग्धलाई अफगान नागरिकको रूपमा पहिचान गरिएको थियो । अमेरिकी नागरिकता र आप्रवासन सेवाले 'सुरक्षा र जाँच प्रोटोकल' को समीक्षा नभएसम्म यो निर्णय गरिएको बताएको छ । यसअघि, राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणलाई 'आतंकवादी कार्य' बताएका थिए । होमल्याण्ड सेक्युरिटीद्वारा जारी विज्ञप्तिमा संदिग्धलाई रहमानउल्लाह लकनवालको रूपमा पहिचान गरिएको छ र उनलाई अफगानिस्तानबाट आएको एक आपराधिक आप्रवासी भनेर वर्णन गरिएको छ । विज्ञप्ति अनुसार, अमेरिकाले २०२१ मा अफगानिस्तानबाट सैन्य फिर्ता पछि अपरेशन एलाइज वेलकम अन्तर्गत हजारौं अफगानीहरूलाई अमेरिका लागेको थियो । यो कार्यक्रम पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालमा लागू गरिएको थियो । २९ वर्षीय रहमानउल्लाह सेप्टेम्बर २०२१ मा यस कार्यक्रम अन्तर्गत अफगानिस्तानबाट अमेरिका आएका थिए । गोलीबारी पछि, ट्रम्पले अमेरिकाले जो बाइडेनको नेतृत्वमा अफगानिस्तानबाट आउने प्रत्येक आप्रवासीको पुन: जाँच गर्नुपर्ने बताएका छन् ।

४- बंगलादेश प्रिमियर लिगको अक्सनमा नेपालका पाँच राष्ट्रिय खेलाडी सुचिकृत भएका छन् । नोभेम्बर ३० मा हुने अक्सनका लागि बंगलादेश क्रिकेट बोर्डले सार्बजनिक गरेको २४५ खेलाडीको सूचीमा नेपालका पाँच क्रिकेटर सुचिकृत भएका हुन् । नेपालबाट सन्दीप लामिछाने क्याटोगरी बी मा सुचिकृत भएका छन् भने क्याटोगरी डी मा दिपेन्द्र सिंह ऐरी, क्याटोगरी ई मा आसिफ सेख, गुलशन झा र सोमपाल कामी सुचिकृत भएका छन् । बंगलादेश प्रिमियर लिगमा १२ बर्षपछि अक्सन हुदैछ । यस बर्षको बंगलादेश प्रिमियर लिग डिसेम्बर १९ देखि शुरु हुदैछ । यस सिजनमा ६ फ्रेन्चाइजीले लिगमा खेल्ने बताइएको छ । जसमा रंगपुर राइडर्स, ढाका क्यापिटल्स, सिल्हेट टाइटन्स, चट्टोग्राम रोयल्स, राजशाही वारियर्स र नोआखली एक्सप्रेसले खेल्ने बताइएको छ ।

५- नेपाल एसीसी पुरुष यू-१९ प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । नेपालले समुह ए अन्तर्गतको खेलमा हङकङलाई ११९ रनले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । नेपालले दिएको २७१ रनको लक्ष्य पछाएको हङकङले ४०.५ ओभरमा अल आउट हुदै १५१ रन बनाएको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउदै २७० रन बनाएको थियो । यो जितपछि नेपालले समुह ए मा दुवै खेलमा जित हासिल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । नेपालले अब सेमिफाइनलमा मलेसियाको सामना गर्ने छ । सेमिफाइनल खेल शनिबार हुने तालिका रहेको छ । प्रतियोगिताका शिर्ष तीन देशले डिसेम्बरमा युएईमा हुने यू-१९ एशिया कपमा छनौट हुने छन् । यू-१९ एशिया कपका लागि आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् ।

६- अख्तियार दुरुपयो अनुसन्धान आयोगले धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसमेत १० जना र ईन्फ्रास्ट्रक्चर एस एण्ड बि विल्डर्सविरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले नगरपालिकाको लग्मा बजारस्थित पोखरीको माटो पुर्ने तथा घाट निर्माण गर्ने कार्यमा २९ लाख ४४ हजार १३७ अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ । मुद्धा दायर गरिएकोमा कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइत, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र कुमार सढान, लेखापाल संजिव कुमार महतो र जिन्सी शाखा प्रमुख जुगल किशोर यादव, नगरपालिका धनुषाका तत्कालीन कार्यपालिका सदस्यहरु धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मिया मोमिन रहेका छन् । त्यस्तै ईन्फ्रास्ट्रक्चर एस एण्ड बि विल्डर्स र कम्पनीका अध्यक्ष सन्तोष कुमार यादव समेत रहेको अख्तियारले जानकारी दिएको छ । अख्तियारले सबैविरुद्ध २९ लाख ४४ हजार १३७ बराबरको बिगो दाबि गर्दै कानुन अनुसार सजायको माग गर्दै मुद्धा दायर गरेको छ ।

७- बंगलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोग लगायतका आरोपमा २१ वर्षको जेल सजाय सुनाएको छ । साथै अदालतले उनकी छोरी साइमा वाजेद र छोरा सजीब वाजेदलाई पाँच-पाँच वर्षको जेल सजाय सुनाएको छ । फैसला सुनाउँदा, अदालतले शेख हसिना र उनको परिवारलाई कुनै पनि आवेदन बिना नै आफ्नो क्षेत्राधिकार बाहिर जग्गा बाँडफाँड गरिएको बताएको छ । ढाकाका पाँचौं विशेष न्यायाधीश मोहम्मद अब्दुल्लाह अल मामुनले यो निर्णय सुनाएका हुन् । यसअघि बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

८- सरकार र नेकपा एमालेबीच द्विपक्षीय संवाद आज बालुवाटारमा भएको छ । संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीलाका कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागी छन् भने एमालेबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौला सहभागी रहेका छन् । एमालेले सुशिला कार्की नेतृत्वको सरकार असंबैधानिक भएको भन्दै विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने माग गर्दै आएको छ भने सडक प्रदर्शन र सर्वोच्च अदालतमा रिट समेत दायर गरेको छ ।

९- राष्‍ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्‍न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका छन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको सिफारिस तथा नेपाल सरकार, मन्त्रिपरिषद्‍को मङ्सिर ८ गतेको निर्णयमा उल्लेख भए बमोजिम हुने गरी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्‍न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

१०- विश्वको अग्रणी वित्तीय केन्द्रहरू मध्ये एक हङकङ आफ्नो इतिहासकै सबैभन्दा ठूलो आगलागीसँग जुधिरहेको छ । अहिलेसम्म ५५ जनाको मृत्यु भइसकेको छ र २७९ जना बेपत्ता छन् । आगलागीले आवासीय ब्लकका धेरै भवनहरूलाई सखाप पारेको छ । आगलागीमा अठसठ्ठी जना घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर छ । बुधबार दिउँसो स्थानीय समय अनुसार २:५० बजेतिर हङकङका आवासीय भवनहरूमा आगो लागेको थियो । कम्प्लेक्समा आठ टावरहरू छन्, जसमा लगभग २००० अपार्टमेन्टहरू छन् । आगलागी शुरु भएको पाँच मिनेटमै ३२ तालासम्म फैलिएको थियो । केही निर्माण कार्य भइरहेको थियो र भवन वरिपरि बाँसको मचान खडा गरिएको थियो । यसले गर्दा आगो द्रुत गतिमा फैलिएको बताइएको छ । प्रहरी अनुसन्धानले आवासीय भवनहरूमा प्रयोग हुने सुरक्षा जाली, वाटरप्रुफ क्यानभास र प्लास्टिकका पानाहरूले पनि ब्लकभरि आगो द्रुत गतिमा फैलिन योगदान पुर्‍याएको खुलासा गरेको छ । यसका साथै, झ्यालहरू बन्द गर्न प्रयोग गरिने अत्यधिक ज्वलनशील पोलियुरेथेन फोमले पनि आगो फैलिनमा योगदान पुर्‍याएको पाइएको छ । प्रहरीले आगलागीको सम्बन्धमा निर्माण कम्पनीका निर्देशक र परामर्शदाता सहित तीन जनालाई पक्राउ गरेको छ । अधिकारीहरूले ठूलो आगलागीबाट प्रभावित हङकङ परिसर वाङ फुक कोर्टको मर्मतसम्भारसँग सम्बन्धित "सम्भावित भ्रष्टाचार" को अनुसन्धान गरिरहेका छन् । हङकङको वैधानिक भ्रष्टाचार विरोधी निकाय, भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोगले यस विषयमा उल्लेखनीय सार्वजनिक चासोलाई ध्यानमा राख्दै अनुसन्धान गर्न कार्यदल गठन गरेको जानकारी दिएको छ ।

११- पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । इलेक्ट्रिक सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई बिहीबार उच्च अदालतका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । महरालाई यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालतले जिल्ला अदालतको आदेशलाई बदर गर्दै महराको उमेर, स्वास्थ्य अवस्था र मिसिलमा देखिएका प्रमाणहरूका आधारमा थुनामा राखिराख्न नपर्ने ठहर गर्दै धरौटीमा रिहा गर्न आदेश दिएको छ । इ–सिगरेटमार्फत सुन तस्करी प्रकरणमा महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले असोज २६ गते पक्राउ गरेको थियो । त्यसपछि असोज २९ गते जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

१२- नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । विहिबार नेप्से १०.४३ अंकले बढेर २६७६.०३ विन्दुमा पुगेर रोकिएको छ । आज ३३३ कम्पनिका एक करोड ४६ लाख ९३ हजार ८०७ कित्ता शेयर ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ मा कारोबार भएको थियो । आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज सागर डिस्टिलरीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी हिमस्टार उर्जाको शेयर ७.७८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४० करोड १७ लाखको कारोबार भएको छ भने एनगाडी ग्रुप पावरको १६ करोड ३६ लाख बराबर कारोबार भएको छ ।

१३- पाल र बंगलादेशको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औं बैठक सम्पन्न भएको छ । बंगलादेशको ढाकामा सम्पन्न बैठक नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत तथा बंगलादेश सरकारको विद्युत, उर्जा तथा खनिज मन्त्रालयका सचिव फर्जाना ममताजको सहअध्यक्षतामा बंगलादेशको ढाकामा विहिबार सम्पन्न भएको हो ।  बैठकले मंसिर १० गते सम्पन्न संयुक्त कार्यदलको बैठकले गरेका सिफारिसहरुमा छलफल गरेको उर्जा मन्त्रालयका प्रवक्ता सन्दीप कुमार देवले जानकारी दिएका छन् ।  उक्त बैठकमा नेपाल-बंगलादेशबीच विद्युत व्यापार, जलविद्युत आयोजनाको निर्माण र विकास गर्ने, अन्तरदेशीय विद्युत प्रसारण लाइनहरुको निर्माण तथा व्यवस्थापन गर्ने लगायतका विषयहरुमा छलफल गर्दै विभिन्न सहमति समेत भएको छ ।

१४- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो । लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछाएको सुदूरपश्चिम रोयल्सले १८.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्बाधिक ६९ रन बनाए भने आरिफ सेखले ३९ रनको योगदान दिएका थिए । त्यस्तै लुम्बिनीका बलर रुबेन ट्रम्पेलम्यान, अभिषेक गौतम र तिलक भण्डारीले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले १९.४ ओभरमा अल आउट हुदै १४३ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३५ रन बनाए भने दिलिप नाथले ३१, डि आर्ची शर्ट र सुमित महर्जनले १८-१८ रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर अविनाश बोहोरा र हरमित सिंहले ३-३ विकेट लिएका थिए भने हेमन्त धामीले २ र स्कट कुगेलाइनले एक विकेट लिएका थिए । यो सुदूरपश्चिम रोयल्सको लगातार चौथो जित हो । सुदूरपश्चिमको ४ खेलमा ८ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै लुम्बिनीको भने यो तेस्रो हार हो । ४ खेलमा लुम्बिनीले केवल एक खेल जितेको छ भने तीन खेलमा हार बेहोरेर केवल २ अंक बटुलेको छ ।

१५- नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी, एकीकरण पक्षधर समूहबीच भएको पार्टी एकताको सहमति भएको छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र जसपाको एकीकरण पक्षधरका नेता राजेन्द्र प्रसाद श्रेष्ठबीच पार्टी एकताको १० बुँदे सहमति भएको हो । नेपाली कम्युनिष्ट पार्टीमा आज जनता समाजवादी पार्टी एकिकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूहबीच एकता घेाषणा भएको छ ।

१६-  नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । मंगलबार विघटित प्रतिनिधि सभाका मुख्य सचेतक महेश बर्तौला र पूर्वसचेतक सुनिता बरालले दायर गरेको रिट सर्वोच्चले बुधबार दर्ता भएको हो । सो रिटको पेसी मंसिर १७ गतेका लागि तोकिएको छ । एमालेले रिटमा राष्ट्रपति कार्यालय, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र संसद् सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेको छ । रिटमा प्रतिनिधिसभाको सदस्य नभएको,सर्वोच्च अदालतको प्रधानन्यायाधीश भइसकेको व्यक्ति, कुनै राजनैतिक दलको संसदीय दलले समर्थन नगरेको, धारा ७६ तथा धारा १३२(२) विपरित गैर संवैधानिक तवरले नियुक्त प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रथम दृष्टिमै असंवैधानिक भएको हुँदा कार्कीको प्रधानमन्त्री पदमा भएको नियुक्तिविरुद्ध अधिकार पृच्छाको आदेश माग गरिएको छ ।

१७- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सुनुवाइ आज पनि स्थगित भएको छ । रवि लामिछानेका कानुन व्यवसायीबाट सुनुवाई स्थगित भएको हो । यो मुद्धाको  पेशी न्यायाधीश मिलन कुमार राई र सानु मैया डंगोलको इजलासमा पेशी तोकिएको थियो । यसअघि मङ्सिर ५ गते पनि निवेदकका कानुन व्यवसायीको अनुरोधमा सुनुवाई स्थगित भएको थियो । यसअघि उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतबाट सक्कल मिसिल झिकाउने आदेश गरेको थियो । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रवि र छविको मुद्दाको एकैसाथ सुनुवाइ भइरहेको हो । लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ । लामिछानेले चार भागमध्ये आफ्नो एक भागको बिगो रकम २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत दाखिला गर्दा जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो । जोशीले पनि बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने आदेश भएको थियो ।

१८- नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ४ सयले घटेर तोलाको २ लाख ४८ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ४८ हजार ८ सयमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर ३२८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ३२२० मा कारोबार भएको थियो ।

१९- हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७२३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेव खिम्तीको संयुक्त उपक्रम (जेभी)सँग ठेक्का सम्झौता ठेक्का अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि पप्पु महादेवखिम्ती उपक्रम (जेभी)सँग ३१ जेठ २०६८मा ठेक्का सम्झौता भएको थियो । पुल निर्माण ३० जेठ २०७२ भित्र सम्पन्न गरी ठेक्का सम्झौता भएकोमा पाँचपल्ट म्याद थप्दा निर्माण प्रगति करिब ५६ प्रतिशत मात्र छ । ठेक्का रकम करसहित ३४ करोड ९ लाख रुपैयाँ थियो । ठेक्का सम्झौता रद्ध गरिएका निर्माण व्यवसायीको १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत पनि जफत हुनेछ । योजना कार्यालय इटहरीबाट गत ३१ असोजमा कात्तिकमा ठेक्का किन नतोड्ने ? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको योजना कार्यालयका प्रमुख युवराज पोखरेलले जानकारी दिए ।  निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारी प्रतिनिधि उपस्थित नभएको, पेश भएको स्पष्टीकरण चित्त बुझ्नो नभएको र कार्य सुचारु गर्नेतर्फसमेत तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लङ्गन गरिएको जनाइएको छ ।

२०- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको पुर्व सन्ध्यामा शुभकामना दिएकी छन् । भण्डारीले एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा शुभकामना दिँदै महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि ऐतिहासिक अवसर भएकाले आम जनताको समेत महत्त्वपूर्ण सरोकारको विषय भएको बताएकी छन् ।  उनले विशेष परिस्थितिका कारण निर्धारित समयावधिभन्दा एक वर्षअघि नै हुन गइरहेको यस महाधिवेशनमा वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता–कार्यकर्ता, उर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पङ्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिने विश्वास व्यक्त गरेकी छन् । साथै भण्डारीले आफुले दुई वर्ष अघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको आफ्नो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेकोप्रति गुनासो गर्दै महाधिवेशनमा भौतिक उपस्थिति नभएपनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले साथमा निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले भनेकी छन्- मैले दुइवर्ष अघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईँहरूका साथ निरन्तर रहनेछु ।' एमालेले सकेसम्म सर्वसम्मत र सर्वसम्मत नभए मंसिर १३ गते देशैभर एकैदिन निर्वाचनमार्फत राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दैछ । मङ्सिर २७ देखि २९ सम्म काठमाडौँमा हुने महाधिवेशनमा झण्डै २२ प्रतिनिधि सहभागी हुने बताइएको छ ।

बिहीबार १२ मंसिर २०८२ ०७:३९ PM मा प्रकाशित

प्रतिक्रिया