×

नारायणीको बाढीले बगायो करोडौँको 'क्रुजसिप', पुलमुनि अड्किँदा नारायणगढ नाका ठप्प, पुल उच्च जोखिममा

images

चितवन — लगातारको भारी वर्षापछि नारायणी नदीमा आएको भीषण बाढीले नदी किनारमा बाँधेर राखिएको विशाल 'क्रुजसिप' (Rhino Cruise) बगाएको छ। आइतबार अपरान्ह साढे ५ बजेतिर चितवनको भरतपुर र नवलपुरको गैँडाकोट जोड्ने सडक पुलभन्दा करिब १०० मिटर माथि बाँधिएको उक्त क्रुजसिपको डोरी चुँडिएर बाढीले बगाएको हो। 

बाढीको तीव्र बहावसँगै बगेको घरजत्रो विशाल क्रुजसिप नारायणी नदीको पुलमुनि गैँडाकोटतर्फको पिलरमा पुगेर अड्किएको छ। यो घटना सार्वजनिक भएसँगै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नारायणी पुलमा पैदलयात्री तथा साना-ठूला सबै सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ। जसका कारण पूर्व-पश्चिम राजमार्गको यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। 

पुलमुनि अड्कियो क्रुजसिप, पुलको संरचनामा उच्च खतरा

चितवनका प्रहरी उपरीक्षक (SP) रामेश्वर पौडेलका अनुसार नदीमा पानीको जलसतह लगातार बढिरहेको र बहाव निकै तीव्र भएकाले क्रुजसिपले पुलको पिलरमा निरन्तर दबाब दिइरहेको छ। 

 वर्षौँ पुरानो नारायणी पुलको पिलर र तल्लो संरचनामा करोडौँ लागतको विशाल जहाज ठोक्किँदा र अड्किँदा पुल भत्किन सक्ने वा ठूलो क्षति पुग्न सक्ने उच्च जोखिम सिर्जना भएको छ। 

 प्रशासनले पुल जोखिममा रहेको भन्दै सर्वसाधारणलाई पुल आसपास नआउन र सतर्क रहन आग्रह गरे पनि बाढी र अड्किएको क्रुजसिप हेर्नेहरूको पुलमा ठूलो भीड लागेको छ, जसलाई नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ। 

नवलपुरको गैँडाकोट क्षेत्रलाई केन्द्र बनाएर नारायणी नदीमा सञ्चालन हुँदै आएको Rhino Cruise Service नेपालकै पहिलो जल-पर्यटन क्रुजसिप हो。 जल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटकीय आकर्षणका रूपमा निर्माण गरिएको यो व्यवसायमा मनसुन र बाढीका कारण हाल सञ्चालन स्थगित गरी नदी किनारमा सुरक्षित रूपमा बाँधेर राखिएको थियो। तर, नदीको बहावले विगतका सबै रेकर्ड तोडेपछि सुरक्षाका उपायहरू असफल हुन पुगेका छन्। 

जहाजभित्र कोही मानिस भए-नभएको र भौतिक क्षतिको यकिन विवरण आधिकारिक रूपमा आउन बाँकी छ। यतिबेला नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा तैनाथ छ। नदीको बहाव अत्यधिक भएकाले तत्काल क्रुजसिपलाई पुलमुनिबाट निकाल्न वा तान्न प्राविधिक रूपमा कठिन भइरहेको छ। गृह मन्त्रालय र सडक विभागका इन्जिनियरहरूले पुलको प्राविधिक अवस्था जाँच गरेर मात्रै यातायात सुचारु गर्ने वा नगर्ने निर्णय लिने बताएका छन्। 

आइतबार​ ११ असोज २०८३ ०७:२५ PM मा प्रकाशित

प्रतिक्रिया