×

तास खेलेको समयमा सापटी लिएको पैसा समयमा नदिएको भन्दै साथीको हत्या

images

काठमाडौं- पर्सामा तास खेल्ने विषयमा विवाद हुँदा तीन किशोर मिलेर एक जनाको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । तास खेलेको समयमा रकम सापटी नदिएको भन्दै विवाद भएको र त्यही निहुँमा एक युवकको हत्या भएको प्रहरीको भनाइ छ । हत्या आरोपमा तीन जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार घटनाबारे जानकारी गराएको छ ।

पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–२७ उदयपुर घुर्मीका १९ वर्षीय मुकेशप्रसाद यादव, सोही ठाउँका १९ वर्षकै अरुणकुमार यादव र सोही ठाउँका १९ वर्षकै मुना तिवारी छन् । उनीहरु तीनै जनालाई ११ फागुनमा पक्राउ गरेर आज बिहीबार प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुले सोही ठाउँका १९ वर्षीय इशालप्रसाद कुर्मीको हत्या गरेको आरोप छ ।

७ फागुनमा वीरगञ्ज महानगरपालिका–२७ उदयपुर घुर्मीका १९ वर्षीय इशालप्रसाद कुर्मी वीरगञ्ज बजार जान्छु भनेर निस्केका थिए । तर छोरा घर नफर्केपछि उनका बाबु जोगिन्द्रप्रसादले भोलिपल्ट ८ फागुनमा खोजतलासका लागि भन्दै प्रहरीमा उजुरी दिएका थिए । हुलियासहित उजुरी दिए पनि उनलाई फेला पार्न प्रहरीले सकेको थिएन ।

हराएको भनिएको ४ दिनपछि ११ फागुनमा स्थानीय भेडैया खोलामा एक युवकको शव तैरिरहेको भन्दै प्रहरीलाई सूचना आएको थियो ।

उक्त शव ७ गतेदेखि हराएका उनै इशालप्रसादको रहेको भन्दै उनका बाबुले सनाखत गरेका थिए । बजार जान्छु भनेर निस्केका इशालप्रसादको हत्या भएको आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । घटनास्थलबाट प्रहरीले मृतकको पर्स, साइकल, चप्पल, मोबाइल फोनको टेम्पर ग्लास बरामत गरेको थियो । यीनै बरामद वस्तुहरुलाई केन्द्रमा राखेर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो ।

सो क्रममा उनका तीन जना साथीहरु पक्राउ गरेको पर्साका एसपी गौतम मिश्रले बताए । हत्याको कारण भने तासको विषय जोडिएको उनले बताए । उनीहरु चार जना तास खेल्ने गरेको पाइएको उनले बताए । तास खेल्न बेलामा रकम सापटी माग्दा विवाद भएको थियो । इशालले रकम लगेर नदिने गरेको भन्दै उनीहरुले सापटी नदिएको प्रहरीको भनाइ छ ।

त्यही विषयमा उग्र विवाद भएपछि तीन जना मिलेर साँझ ६:१० बजेतिर इशालको हत्या गरेको एसपी मिश्रले बताए ।

मृतकको मोबाइल प्रहरीले मुकेशको साथबाट बरामद गरेको छ। उनीहरुले सुरुमा रुखमा टाउको ठोक्काएर घाइते बनाएको र पछि सर्टले घाटी कसेर हत्या गरेको उनीहरुले प्रहरी समक्ष बयान दिएका छन् ।

हत्यापछि सर्टले हात पछाडि लगेर बाँधेर खोलामा फालिएको थियो। मृतकको साइकल पनि घटनास्थल खोलामै छाडिएको थियो । पक्राउ परेकाहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

बिहीबार १५ फागुन २०८१ ०८:०२ PM मा प्रकाशित

प्रतिक्रिया