×

महाशिवरात्रिको अवसरमा कुम्भ स्नान गर्न भक्तजनको भीड, ६५ करोडले गरे स्नान

images

काठमाडौं । भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा महाशिवरात्रिको अवसरमा पवित्र स्नान गर्न लाखौँ भक्तजन भेला भएका छन् । महाशिवरात्रि स्नानसँगै कुम्भमेलाको समापन हुनेछ । भीडभाडलाई ध्यानमा राख्दै मेला क्षेत्रलाई ‘नो भेहिकल जोन’ घोषणा गरिएको छ ।

“कोही पनि यो अवसर गुमाउन चाहँदैनन् । प्रयागराजका स्थानीय बासिन्दा पनि ठूलो संख्यामा स्नान गर्न आउँदैछन्,” महाकुम्भका एसएसपी राजेश द्विवेदीले भनेका छन्, “त्यसैले हामी रातिदेखि नै भक्तजनहरूको ठूलो भीड देखिरहेका छौँ ।” उनका अनुसार महाकुम्भमा अहिलेसम्म ६५ करोडभन्दा बढी भक्तजनले स्नान गरिसकेका छन् । 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भक्तजनहरूलाई शुभकामना दिएका छन् । “प्रयागराजको महाकुम्भ–२०२५ मा भगवान भोलेनाथको पूजामा समर्पित महाशिवरात्रिको पवित्र स्नान पर्वमा आज त्रिवेणी संगममा आस्थाको स्नान गर्न आएका सबै पूजनीय सन्त, कल्पवासी र भक्तहरूलाई बधाई छ,” उनले भनेका छन् । आस्था, विश्वास, सौहार्द एवं संस्कृतिको मिलनको रूपमा लिइएको महाकुम्भ मेला मानव इतिहासकै सबैभन्दा ठूलो जमघटका साथै भारतको धार्मिक तथा सांस्कृतिक अर्थशास्त्रको अद्भूत उदाहरण प्रस्तुत गर्दै बिदा भएको छ ।

सूर्यको वरिपरि बृहस्पतिको कक्षमा आधारित ज्यातिषीय चक्रको आधारमा भारतको चार फरक नदी किनारका चार सहर हरिद्वार, नासिक, उज्जैन र प्रयागराजमा प्रत्येक १२ वर्षमा आयोजना हुने कुम्भ मेलाको यस वर्ष विशेष रूपमा प्रचार गरिएको थियो ।

१४४ वर्षमा बृहस्पति सूर्य र चन्द्रमासँग मिलेर बनेको दुर्लभ आकाशीय योगले यो महाकुम्भलाई विशेष बनाएको भनेर प्रचार गरिएको यस पटकको महाकुम्भ मेलामा आयोजकहरूका अनुसार झण्डै ६६ करोडभन्दा बढीले स्नान गरेका छन् । ४ हजार हेक्टर क्षेत्रफलमा फैलिएको मेला स्थानमा तीर्थालुहरूको सुविधाका लागि १ लाख ६० हजार अस्थायी आवास (टेन्ट) र १ लाख ४५ हजार अस्थायी शौचालयको निर्माण गरिएको थियो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ स्वयंले पनि गोरखनाथ मन्दिरस्थित नियन्त्रण कक्षबाट महाकुम्भको सुरक्षा व्यवस्थामाथि कडा निगरानी राखेको महाकुम्भ मेला क्षेत्रमा ३७ हजार पुलिसकर्मी र १४ हजार होमगार्ड तैनाथ गरिएको बताउनुभएको थियो । त्यसै गरी २ हजार ७ सय ५० सीसीटीभी, ३ जल प्रहरी स्टेसन, १८ जल प्रहरी नियन्त्रण कक्ष र ५० वाच टावर बनाइएको थियो भने ड्रोनबाट पनि संगमस्थलको निगरानी राखिएको थियो ।

यसपटकको महाकुम्भ मेलाले भारतको उत्तर प्रदेश सरकारको व्यवस्थापकीय क्षमताका साथै सांस्कृतिक अर्थशास्त्रको अद्भूत उदाहरण प्रस्तुत गरेको छभन्दा अन्यथा नहोला ।

दैनिक लाखौंको संख्यामा आवातजावत गर्ने यातायातका साधनका साथै संगमस्थलमा पुग्न २० किलोमिटर परदेखि नै पैदल हिँडिरहेका तीर्थालुहरूको व्यवस्थापन गर्नु पक्कै पनि सजिलो छैन । उत्तर प्रदेश पर्यटन विभाग (यूपी टुरिज्म)को संयोजनमा साँझ ७ बजे प्रयागराज पुग्दा त्यहाँको कडा सुरक्षा व्यवस्थापनका कारण केहीबेर हाम्रो सवारीसाधन झुसीमा सुरक्षाकर्मीद्वारा रोकिएको थियो ।

केही समयपछि यूपी टुरिज्मको प्रोटोकल अधिकारीले हामीलाई त्यहाँबाट संगमस्थल क्षेत्रभित्रको अस्थायी बास (टेन्ट सिटी) मा लगेका थिए । झुसीमा केहीबेर रोकिँदा हामीले त्यहाँ थुप्रै नेपालीहरू उत्साहका साथ पैदलै संगमस्थलका लागि समूह समूहमा हिडिँरहेका देख्यौं । ती समूहमा ज्येष्ठ नागरिकहरू पनि उत्तिकै उत्साहका साथ युवा सदस्यहरूको तालमा ताल मिलाउँदै हिँडिरहेको दृश्य साँच्चै नै मन छुनेखालको थियो । यसले धार्मिक आस्थाको डोरी कति मजबुत हुँदो रहेछ भन्ने प्रमाण दिइरहेको थियो ।

झुसीबाट करिब २ घण्टा लगाएर राति ११ बजेतिर टेन्ट सिटी पुग्दा पनि बाटोमा उत्तिकै भीड देखिएको थियो । बाटोको दायाँबायाँ मयूरका प्वाँख, डमरू, स्वस्तिकलगायतका आकारले सजिएका झिलिमिील बत्ती, बीचबीचमा विभिन्न मन्दिर र देवस्थलहरुमा सिंगारिएको बत्ती, गंगामा ताराहरु बगेको झै भान दिने अस्थायी आवासमा राखिएका बत्तीहरूलगायतले राति हिँड्ने तीर्थालुहरूको थकान त्यत्तिकै मेटाइरहेको थियो ।

ठाउँठाउँमा अस्थायी शौचालय, फोहरमैला व्यवस्थापनका साथै सवारी साधनका लागि सहज बनाउन बालुवामाथि फलामका पाताहरू बिछ्याएका सडकहरू र सुरक्षा व्यवस्थापनको राम्रो प्रबन्धले गर्न चाहे जे पनि सम्भव रहेछ भन्ने मान्यतालाई थप पुष्टि गरिरहेको थियो । प्रयागराज पुग्नुअघि उत्तर प्रदेशका राजमार्ग आसपास खुलेका अधिकांश होटल र पेटोल पम्पमा साबुनपानीसहितको शौचालय र फोहर फाल्ने डस्टबिनको व्यवस्था गरिएको थियो ।

त्यस्तै, २२ हजारभन्दा बढी सरसफाइ कर्मचारीहरू गंगा नदीको सफाइ व्यवस्थापनमा खटिनु, पानी प्रशोधनका लागि निरन्तर भइरहेको पहल, तीर्थालुहरूले छाडेका भिजेका बस्त्रका साथै अन्य सामानहरू तत्काल हटाउने व्यवस्थालगायतले कुम्भ मेला व्यवस्थापनमा उत्तर प्रदेश राज्य सरकारको व्यवस्थापकीय क्षमताको प्रदर्शन गरेको थियो ।

प्रयाग पुग्नुअघि उत्तर प्रदेशका राजमार्गहरुमा गुड्दै गर्दा उच्च इन्जिनियरिङ क्षमतासहितको ४ लेन, ६ लेन र ८ लेनका सडकहरु र ती सडकहरूमा डिजिटल प्रणालीबाट टोल फि (सडक उपयोग शुल्क) समेत डिजिटल प्रणालीबाट भुक्तानी गर्ने व्यवस्थाका साथै चालकलाई मोबाइल एप्समार्फत सडकको अवस्था र वैकल्पिक सडकबारे जानकारी दिएर सजकताका साथ गन्तव्यमा पु¥याउने, सडक अवरुद्ध भएको खण्डमा पार्किङको विकल्प दिने व्यवस्थाले नागरिकप्रति राज्य सरकारको जवाफदेहितालाई पनि स्पष्ट झल्काएको थियो ।

हुन त यो बीचमा अत्यधिक भीडभाडले गर्दा ब्यारिकेटहरू उल्टिएर ३० जनाको ज्यान जानु, नयाँ दिल्लीको रेलवे स्टेसनमा भागदौड मच्चिँदा १८ जनाले ज्यान गुमाउनुपरेको जस्ता अप्रिय घटनाहरू पनि भएका छन् । तथापि, यस्ता घटनाहरू दोहोरिन नदिन राज्य सरकारले चालेका कदमहरूले महाकुम्भ मेलाको आस्था, परम्परा र आध्यात्मिकतामा कुनै कमी आउन दिएन ।

बीबीसी 

बिहीबार १५ फागुन २०८१ ०७:२१ AM मा प्रकाशित

प्रतिक्रिया