काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै घण्टी बजाएर मात्रै हुनेवाला केही नभएको बताएका छन्। मंगलबार काठमाडौँमा नेपाली कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल एकता पक्षधरबीचको कार्यक्रममा बोल्दै उनले अहिले राजनीतिमा सिद्धान्त र विचारको खडेरी परेको पनि बताए।
‘घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन। अहिले सिद्धान्तको खडेरी, विचारको खडेरी छ। सोसल मिडियामा स्टन्टबाज गरेको भरमा जनताको दिमाग चाट्ने काम जो भइरहेको छ यसलाई हामी सबै एकताबद्ध भएर मात्रै क्रस गर्न सकिन्छ,’ प्रचण्डले भने, ‘बाँकी रहेका र पुराना रहेका कमरेडहरूले पनि सोच्नुहोस्, हामी सबै मिलेर समाजवादी विशाल भवन निर्माण गरौं । त्यसले मात्रै देश र जनताको सेवा गर्छ।’
पूर्वप्रधानमन्त्री प्रचण्डले त्याग, तपस्या र बलिदानको राजनीतिलाई पाखा लगाएर केवल चर्चाका लागि काम गर्नेहरूलाई प्रवर्द्धन गरिनु मुलुकका लागि सुखद नभएको बताए। उनले भने, ‘अहिले विचार र राजनीतिक मूल्यमान्यताभन्दा स्टन्ट गरेको भरमा पपुलर हुने र त्यस्तालाई नै प्रमोट गर्न देशी-विदेशी शक्तिहरूले ठुलो लगानी गरेको हामीले देखिरहेका छौँ।’
यस्ता शक्तिहरूले भ्रष्टाचार विरुद्धको अभियान र सामाजिक न्यायको मुद्दालाई वास्तविक रूपमा भन्दा पनि प्रचारमुखी शैलीमा मात्रै अघि बढाएको उनको जिकिर छ। प्रचण्डले मुलुकमा राष्ट्रिय तागतको निर्माण गरी देश र जनताको पक्षमा काम गर्न कम्युनिस्ट र वामपन्थी शक्तिहरूबिचको एकता अपरिहार्य भएको उल्लेख गरे।
इतिहासको सम्मान गर्ने र राजनीतिक मूल्यमान्यतामा आधारित आन्दोलनलाई संगठित गर्नकै लागि आफूले कम्युनिस्ट पार्टीहरूको ध्रुवीकरण प्रक्रियालाई तीव्रता दिएको उनको भनाइ छ। कम्युनिस्ट र देशभक्त शक्तिहरूको एकताले मात्रै मुलुकलाई वर्तमान सङ्कटबाट जोगाउन सक्ने भन्दै उनले अन्य छरिएर रहेका शक्तिहरूलाई पनि एकता प्रक्रियामा सहभागी हुन आह्वान गरे।
प्रतिक्रिया